चीनको न्यालम-खासाको मध्य क्षेत्रमा आगलागी, तातोपानी नाका पूर्ण रूपमा ठप्प

न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा आगलागी भएपछि चिनियाँ प्रशासनले सुरक्षाको कारण देखाउँदै सीमा नाकाबाट हुने स्थानीय तथा पर्यटकको आवतजावतमा रोक लगाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए।

पुस २८, २०८२

अनिश तिवारी

Fire in the central region of Nyalam-Khasa, China, completely blocks Tatopani border crossing

What you should know

सिन्धुपाल्चोक — चीनको न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा गएराति भीषण आगलागी भएपछि सोमबारदेखि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी पूर्ण रूपमा बन्द भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा आइतबार राति आगलागी सुरु भएको हो। आगो फैलँदै गएपछि चिनियाँ प्रशासनले सुरक्षा कारण देखाउँदै सीमा नाकाबाट हुने स्थानीय तथा पर्यटकको आवतजावत पूर्ण रूपमा रोक लगाएको उनले बताए।

‘पारि लागेको आगोले ठूलो वन क्षेत्र जलेर नष्ट भएको छ,’ निरीक्षक राईले भने, ‘लिपिङ र तातोपानी क्षेत्रको आकाश धुवाँ र खरानीले ढाकिएको छ। आगो अझै नियन्त्रणमा आइसकेको छैन।’

आगलागीको प्रभावले नाका पारिको सम्पूर्ण सञ्चार तथा नेटवर्क सेवा समेत प्रभावित भएको चिनियाँ सुरक्षाकर्मीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक राईले जानकारी दिए। आगो नियन्त्रणमा नआएकाले नाकासँग जोडिएको नेपालको माथिल्लो डाँडाक्षेत्र तथा ‘खरानी पोखरी’ आसपासमा समेत फैलिन सक्ने जोखिम रहेको जनाइएको छ।

स्थानीयवासीका अनुसार आगलागी सीमावर्ती वन क्षेत्रमा तीव्र गतिमा फैलिएको छ। चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाकाको माथिल्लो भूभागमा समेत आगो देखिएको जानकारी गराएका छन्। ‘वास्तविक अवस्था बुझ्न चिनियाँ पक्षलाई ड्रोनमार्फत तस्वीर उपलब्ध गराउन आग्रह गरेका छौं,’ राईले भने।

चिनियाँ पक्षले समयमै आगो नियन्त्रणमा लिन नसके आगलागी नेपालको भूभागसम्म फैलिन सक्ने जोखिम रहेको बताएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली पक्षले पनि नाका आसपासको निगरानी बढाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन।

यसअघि रसुवा नाका गत २४ असारदेखि बन्द रहँदा चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत सञ्चालन हुँदै आएको थियो। तर अहिले यही नाका पनि ठप्प भएपछि करोडौं मूल्यका सामान बोकेका कन्टेनर दुवै किनारमा रोकिएका छन्। नाका बन्द हुँदा व्यवसायी र आयातकर्ताहरू चिन्तित बनेका छन्।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully