सुरुमा आफू एक्लै विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आए पनि हालसम्म डडेलधुराबाट तीन जना प्रतिनिधि सहभागी भइसकेको र अझै ३–४ जना सहभागी हुने तयारीमा रहेको उनले बताए।
What you should know
डडेलधुरा — कांग्रेसको विशेष महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट काठमाडौं पुगेका महाधिवेशन प्रतिनिधि जनकराज चटौतले पार्टीभित्र आन्तरिक रूपान्तरणको आवश्यकता तीव्र रूपमा महशुस भइरहेको बताएका छन्।
सुरुमा आफू एक्लै विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आएको भए पनि हालसम्म डडेलधुराबाट तीन जना प्रतिनिधि सहभागी भइसकेको र अझै ३–४ जना प्रतिनिधि सहभागी हुने तयारीमा रहेको उनले बताए। ‘अहिलेसम्म तीन जना सहभागी भइसकेका छौं । अझै ३–४ जना आउनुहुन्छ । तर उहाँहरूको नाम अहिले नै नखुलाऔं, एक किसिमको दबाब छ,’ चटौतले भने।
उनका अनुसार विशेष महाधिवेशनमा सहभागिता बढ्नुले डडेलधुरामा कांग्रेसभित्र रहेका विभिन्न धारका नेताहरूको आन्तरिक समर्थन रहेको बुझ्न सकिन्छ। चटौतले डडेल्धुराका बौद्धिक व्यक्तिहरूसँग विमर्श गर्दा पार्टीभित्र फरक खालको राजनीतिक वातावरण निर्माण भएको बताए। उनले आन्तरिक रूपमा पार्टी रूपान्तरण हुनैपर्छ भन्ने कांग्रेस कार्यकर्ताहरुको भावना भएको बताए।
उनका अनुसार डडेलधुरामा देउवाप्रति समर्थन मात्र होइन, आक्रोश पनि देखिन थालेको छ। ‘कतिपय कांग्रेस नेताहरू देउवाप्रति आक्रोशित पनि हुनुहुन्छ,’ उनले भने, ‘नेताबाट कृपा प्राप्त गर्ने केही व्यक्ति हुने राजनीतिक संस्कारले समस्या सिर्जना गरेको छ। राजनीतिक चेतनाको स्तर नपुग्दा यस्तो अवस्था जहाँ देखिएको हो।’
डडेलधुराको सन्दर्भमा देउवा ‘कृपादाता’को भूमिकामा देखिएको चटौतको टिप्पणी छ। ‘उहाँको कृपाबाट राजनीतिमा रनभुल्ल भएका धेरै व्यक्ति अहिले विशेष महाधिवेशनमा सहभागी भएका छैनन्,’ उनले भने। विशेष महाधिवेशनमा सहभागी नभएकाहरूले पनि कांग्रेस बदलिएको हेर्न चाहेको र उनीहरूको भावना मूलतः विशेष महाधिवेशनकै पक्षमा रहेको आफूले पाएको चटौतको भनाइ छ।
देउवाले दुई कार्यकाल पार्टी सभापतिको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै चटौतले अब नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए। ‘देउवाले सिंगापुर जानुअघि आफू कार्यकारी भूमिकाबाट अलग भएको भन्नुभएको थियो,’ उनले भने, ‘तर फेरि त्यो कार्यभारलाई डमी जस्तै बनाएर पुनः कार्यकारी भूमिकामा फर्कनुभयो।’
उनले यस प्रक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य रूपमा हाबी भएको पनि आरोप लगाए। दोहोरिएर अध्यक्ष भइसकेपछि एमाले अध्यक्ष ओलीको प्रभाव रहेको बुझ्न सकिने उनको भनाई छ।
यसमा देउवालाई पनि फेरि कांग्रेस सभापति भइराख्ने र प्रधानमन्त्री हुने इच्छा जागेको जस्तो देखिन्छ।
चटौतले विशेष महाधिवेशनलाई पार्टी एकताको माध्यमका रूपमा चित्रित गरे। कांग्रेसका तल्लो तहका सदस्यहरूले विशेष महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध गर्ने प्रयास गरेको उनले बताए। ‘कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ र चुनावमा जान्छ,’ उनले भने ।
विशेष महाधिवेशन बहुमतमा गएपछि पार्टी नफुट्नेमा आफू विश्वस्त रहेको चटौतको दाबी छ। उनले यो महाधिवेशन कांग्रेसलाई विभाजन गर्ने नभई एकतामा लैजाने प्रक्रिया रहेको बताए।
