एक दशकदेखि ट्रेकिङ गाइडका रूपमा सक्रिय डाँगीले सो ‘ट्रेल’बाट एक सातामा एक टनभन्दा धेरै फोहर संकलन गरेर निकुञ्जलाई हस्तान्तरण गरेका थिए ।
डोल्पा — क्षेत्रफलका हिसाबले नेपालकै ठूलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘फोक्सुण्डो ट्रेल’बाट एक्लै फोहर उठाउने अभियान चलाएका डोल्पाली युवा सम्मानित भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–८ का युवा सुवर्ण डाँगी संघीय सरकारको वन तथा वातावरण मन्त्रालयद्वारा आइतबार सम्मानित भएका हुन् ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ‘फोक्सुण्डो ट्रेल’ मा मानवद्वारा सिर्जित फोहर व्यवस्थापन गरी सरसफाइमा योगदान पुर्याएको भन्दै डाँगीलाई वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सम्मान गरेका हुन् ।
सरसफाइ अभियन्ता डाँगीको यस कार्यले पर्यावरण संरक्षणमा नागरिकको कर्तव्यबोध गराएको समेत सम्मान–पत्रमा उल्लेख गरिएको छ ।
डाँगीले सुलिगार्डदेखि फोक्सुण्डो तालसम्म पर्ने ‘फोक्सुण्डो ट्रेल’मा थुप्रिएको फोहोर सरसफाइ गर्न एकल अभियान चलाएका थिए ।
एक दशकदेखि ट्रेकिङ गाइडका रूपमा सक्रिय डाँगीले सो ‘ट्रेल’बाट एक सातामा एक टन भन्दा धेरै फोहर संकलन गरेर निकुञ्जलाई हस्तान्तरण गरेका थिए ।
‘हाम्रो सम्पदा हामी आफैं सफा राखौं’ भन्ने नाराका साथ उनी एक्लै यस अभियानमा जुटेका थिए ।
नेपाल यसै पनि विश्वको सुन्दर मुलुकभित्र पर्ने भएकाले नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने यिनै पर्यटकीय सम्पदा भएकाले यिनलाई स्वच्छ एवं सफासुग्घर राख्न सम्बन्धित पक्ष धेरै जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।
