सिक्किमका मुख्यमन्त्री गोले किन सुटुक्क नेपाल आएर फर्किए ?

मुख्यमन्त्री तामाङको सचिवालयले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम नभएको दाबी गरेको छ । तर, राजनीतिक नेतृत्वको कुनै पनि ‘गोप्य’ भ्रमण व्यक्तिगत आस्थासँग मात्र जोडेर हेर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्नु स्वभाविक छ ।

पुस २६, २०८२

पर्वत पोर्तेल

Why did Sikkim Chief Minister Gole secretly come to Nepal and return?

What you should know

विराटनगर — भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) हालै कुनै औपचारिक घोषणा, राजनीतिक भेटघाट वा कूटनीतिक कार्यक्रम बिना सुटुक्क नेपाल आएर फर्किएका छन्। सामान्यतया मुख्यमन्त्रीस्तरका भ्रमणहरू प्रचार, सुरक्षा र भेटघाटले भरिपूर्ण हुने गर्छन् । तर, गोलेको यो यात्रा त्यसको ठीक उल्टो रह्यो, जसले स्वाभाविक रूपमा धेरै जिज्ञासा जन्माएको छ ।

मुख्यमन्त्री गोले गत बुधबार दिल्ली–काठमाडौं हवाई उडानमार्फत नेपाल आइपुगेका थिए । उनको भ्रमणलाई सुरुदेखि नै ‘गोप्य’ राखिएको थियो। बिहीबार उनी सिधै गोरखा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिर पुगे। त्यहाँ पूजा–अर्चना गरेपछि पुनः काठमाडौं फर्किए । काठमाडौको एक तारे होटलमा बसेका उनी शुक्रबार बिहानै पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे र मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपे । सोही दिन उनी दिल्ली फर्किएका थिए ।

उनका राजनीतिक सल्लाहकार वीरेन्द्र ताम्लिङका अनुसार मुख्यमन्त्री गोलेको भ्रमण पूर्णतः निजी तथा धार्मिक उद्देश्यमा केन्द्रित थियो । ‘उहाँको नेपाल भ्रमणको खास उद्देश्य मनकामना र पशुपतिनाथ मन्दिरमा दर्शन गर्नु नै थियो,’ ताम्लिङले बताए,‘राजनीतिक लगायतका अरु कुनै उद्देश्य थिएन ।’ सचिवालयले पनि भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम नभएको दाबी गरेको छ । तर, राजनीतिक नेतृत्वको कुनै पनि ‘गोप्य’ भ्रमण व्यक्तिगत आस्थासँग मात्र जोडेर हेर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्नु स्वभाविक छ ।

विशेषगरी नेपाल–भारत सम्बन्ध, नेपालीभाषी वहुल राज्यका नेपालीभाषी मुख्यमन्त्री, सीमावर्ती क्षेत्रको संवेदनशीलता र क्षेत्रीय राजनीतिक गतिशीलताको सन्दर्भमा हेर्दा गोलेको सुटुक्क आएको–गएको यात्राले अर्थ बोकेको देखिन्छ । यद्यपि सार्वजनिक रूपमा उपलब्ध विवरणले उनको भ्रमणमा कुनै राजनीतिक एजेन्डा नदेखाए पनि, यस्तो धार्मिक यात्राले नेताको व्यक्तिगत छवि, जनभावनासंगको सम्बन्ध र सांस्कृतिक कूटनीतिलाई बलियो बनाउने विश्लेषकहरू बताउँछन् । 

पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा रोप्नु पनि प्रतीकात्मक रूपमा अर्थपूर्ण मानिएको छ । धार्मिक आस्थासंगै वातावरण संरक्षण र आध्यात्मिक धरोहरको सन्तुलन आवश्यक छ भन्ने सन्देश त्यसबाट प्रवाह भएको देखिन्छ । स्वदेश फर्किएपछि मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमा लेखे,‘आध्यात्मिक धरोहरको संरक्षण र प्रकृतिसंगको सन्तुलन आवश्यक छ ।’

राजनीतिक व्यस्तता र सार्वजनिक जीवनको चापबीच केही समय निजी आस्थाका लागि छुट्याउनु नेताहरूका लागि असामान्य होइन । तर, विदेशी मुलुकको भ्रमण अनि त्यसलाई पूर्ण रूपमा गोप्य राख्नु र छोटो समयमै सम्पन्न गर्नुले गोलेको यो यात्रालाई सामान्य धार्मिक भ्रमणभन्दा फरक बनाएको छ ।

सुटुक्क आएको र फर्किएको यो यात्रा सत्ता, आस्था र सन्देशको सन्तुलन खोजिएको एक क्षणिक तर अर्थपूर्ण अध्यायका रूपमा हेरिएको छ । यो भ्रमण वास्तवमै व्यक्तिगत आस्थाको अभ्यास थियो वा त्यसमा सांस्कृतिक र राजनीतिक संकेत पनि अर्न्तघुलित थियो ? यो प्रश्न भने अनुत्तरित नै रह्यो । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully