ट्रक बेचेर युरोप पुगेका मनोज रुस-युक्रेन युद्धमा अस्ताए

४८ जना नेपालीसहित १० हजार सैनिक सीमाको मुख्य लडाइँ क्षेत्रमा खटिएका थिए । त्यसपछि मनोज फर्किएनन् ।

पुस २६, २०८२

मोहन चन्द

Manoj, who reached Europe by selling a truck, was killed in the Russia-Ukraine war.

What you should know

बैतडी — युरोप जानुअगाडि मेलौली नगरपालिका–७ काँडाका ३० वर्षीय मनोजसिंह भाटले ट्रक चलाएर गुजारा चलाइरहेका थिए ।

पहिले अरूको गाडी चलाउने उनले ऋण खोजेर आफ्नै ट्रक किनेको दुई वर्षमात्र भएको थियो । ट्रकधनी बनेका उनको मनमा एक्कासि वैदेशिक रोगजारीका लागि युरोप जाने सोच पलायो । युरोप जाने र टन्न धन कमाएर परिवारलाई खुसीसाथ लालनपालन गरेको सपना देख्न थाले । अनि ट्रक बेचेर साथीसँगै युरोप यात्रामा हान्निए ।

आफन्तका अनुसार उनीसँगै मेलौलीकै अर्का एक जना पनि विदेश गएका थिए । युरोप जान लागेको बताए पनि आफू कुन मुलुक जाँदै हो भनेर मनोजले परिवारलाई बताएका थिएनन् । घर छाडेको तीन महिनासम्म उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएको मनोजका भाइ अशोकले बताए । लामो समयपछि परिवारले मनोज रुसी सेनामा भर्ति भएको जानकारी पायो । विदेश गएको दुई वर्षपछि परिवारमाथि बज्रपात पर्‍यो । 

गत वैशाखमा रुसी सेनामा भर्ती भएका मेलौली–९, असुरका अर्जुनदत्त भट्टको मृत्युको खबर आएपछि मनोजका परिवारलाई पनि चिन्ता लाग्न थाल्यो । यसै क्रममा नेपालस्थित रुसी दूतावासले गत असारमा फोन गरेर ‘डीएनए’ परीक्षणका लागि मनोजकी आमालाई बोलायो । असारमा आमाले दिएको ‘डीएनए’ को नमुना मिलेपछि गत वर्ष पुस १७ गते लडाइँको क्रममा मनोजको मृत्यु भइसकेको दूतावासले पुष्टि गरेको भाइ अशोकले बताए ।

मृत्युको पुष्टि भएपछि परिवारका सदस्य र आफन्त शोकमा डुबेका छन् । मनोजको शव नपाएपछि पुस २० गते कुश–पुतलो बनाएर गाउँकै महारुद्र आर्यघाटमा दाहसंस्कार गरिएको वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । चार भाइ–बहिनीमध्ये मनोज साइला हुन् । अहिले उनको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । दीदीको बिहे भइसकेको छ । परिवारका अनुसार ट्रक खरिद गर्दा लागेको ऋण पनि बाँकी छ । त्यसैमाथि विदेश जाँदा पनि मनोजले ऋण खोजेका थिए । शोकमा डुबेको परिवारलाई आर्थिक भारले थिचेको छ । ढाडस दिने मुख्य व्यक्ति गुमाएपछि परिवार सम्हालिन सकेको छैन । 

‘दलाल’को फन्दामा परेर रुस

दुई वर्षअघि मनोज र मेलौली–८ कै गोपी विष्टसँगै यात्रामा निस्किएका थिए । यसै क्रममा काठमाडौंमा वैदेशिक रोजगारीमा पठाउने व्यक्तिसित भेट भयो । दुवै जनाबाट ८/८ लाख रुपैयाँ लिएर ती व्यक्तिले दुबई हुँदै मस्को पुर्‍याएर रसियन सेनामा भर्ना गरिदिने जिम्मा लिएका थिए । दुवैले पैसा बुझाएपछि आवश्यक कागजात बनाएर मस्को पठाउने तयारी गरियो । आफन्तका अनुसार त्यही व्यक्तिले भाट र विष्टलाई पठाउनुभन्दा ७ दिन अगाडि मेलौली–९, असुरका भट्टलाई दुबई हुँदै मस्को पठाएका थिए । मनोजले परिवारलाई युरोप र अर्जुनले पोल्यान्ड जान लागेको जानकारी दिएका थिए । 

तीन जनामध्ये मनोज र अर्जुनको युद्धका क्रममा मृत्यु भइसकेको र गोपी सकुशल घर फर्किएका छन् । ‘दलाल’ले दुबई हुँदै मस्को पुर्‍याएर रुसी सेनामा भर्ती गरिदिएको विष्टले बताए । भर्ना गरेपछि एक वर्षको सम्झौता अनुसार मनोज र आफूलाई रुस्तव भन्ने ठाउँमा तालिममा पठाएको विष्टले बताए । ‘तालिमपछि ४८ जना नेपालीको छुट्टै टोली बनायो,’ उनले भने, ‘रुस्तवबाट मोबाइल र पासपोर्ट थुतेर लड्न जानुपर्छ भन्दै युक्रेनको सीमातिर पठायो ।’ ४८ जना नेपालीसहित १० हजार सैनिक सीमाको मुख्य लडाइँ क्षेत्रमा खटिएको विष्टले बताए । ‘मस्कोबाट छुट्टिएदेखि अर्जुनसँग हाम्रो भेट भएन,’ उनले भने । 

बेलारुसबाट आएको ग्यास पाइपभित्र छिरेर युक्रेन प्रवेश गर्ने योजना अनुसार विष्टसहित ६ जनालाई पाइपबाट गएर युक्रेनमा खुला ठाउँ बनाउन पठाइयो । ‘यहीबाट मनोज र मेरो साथ छुट्टियो,’ उनले भने, ‘मेरो टोलीले अर्‍हाएर अनुसारको काम पूरा गरेर फर्किने क्रममा मनोजसित पाइपभित्र अन्तिम भेट भयो ।’ एक वर्षजति त्यही क्षेत्रमा भोकभोकै लडाइँमा बिताएको विष्टले बताए । लडाइँका क्रममा मनोजको खोजीका लागि धेरैपटक कमान्डरसित आग्रह गरेको उनले बताए ।

एकपटक मनोजसहित धेरै जनाको अवस्था बुझ्न टोली गठन गरिएको उनले बताए । लडाइँमा खटिएको एक वर्षपछि आँखामा समस्या देखिएपछि जँचाउन मेडिकल पठाएका बेला एक जना रसियन सेनाकै सहयोगमा आफू ट्याक्सीको सम्पर्कमा पुगेको विष्टले बताए । ट्याक्सी चढेर मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा आएपछि सकुशल घर फर्किन सफल भएको उनले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully