बाटो हेर्दै बिते तीन महिना

‘आज बुबा आउनु होला ?’ भन्ने प्रश्न छोरीहरूले आमालाई सोध्न छाडेका छैनन् । छोरीका यस्तै प्रश्नले हरेक पटक सुम्निमा अवाक् बन्छिन् । 

पुस २५, २०८२

पर्वत पोर्तेल

Three months passed by, looking at the road.

What you should know

विराटनगर — हिउँदको घाम एकछिन पुलुक्क देखिएर क्षितिजतिर ढल्किँदै छ । घर अघिल्तिरको बाटोबाट सवारी साधन बेतोडले हुइँकिरहेका छन् ।  विराटनगर–४ की सुम्निमा श्रेष्ठका आँखा भने तीन महिनादेखि साँझ–बिहान त्यही बाटोतिर सोझिरहन्छन्, घर नफर्किएका श्रीमान‍्को प्रतीक्षामा ।

सुम्निमाका श्रीमान् ५३ वर्षका सुनिलकुमार ताम्राकार ‘पसल जान्छु’ भनेर निस्किएको दिनदेखि अहिलेसम्म फर्किएका छैनन् । उनी गत असोज ५ गते बिहान साढे ९ बजेदेखि सम्पर्कविहीन छन् । सुम्निमा मात्र होइन, उनका दुई छोरी पनि बुवाको पर्खाइमा बसेका छन् । ‘कहिलेकाहीँ त टुप्लुक्क आइपुग्नु होला जस्तो लाग्छ,’ सुम्निमाले सुनाइन्, ‘सास हुन्जेल आश हुने रैछ ।’ 

पारिवारिक स्रोतका अनुसार घरका माइला छोरा सुनिल पछिल्लो समय अलि बढी निराश थिए । खासगरी कोभिडका समयमा व्यापारमा घाटा व्यहोरेपछि उनको काँधमा ऋणको गह्रंगो भारी थपिएको थियो । विराटनगरमा उनको भाँडा पसल थियो । 

त्यो पसलबाट घाटा भएपछि उनले व्यापारै छाडेर बसेका थिए । केही समयदेखि बेरोजगार थिए । सँगै ढाडमा नसा च्यापिने रोग थपिएपछि थप आजित थिए । काम छुट्यो, आम्दानी रोकियो । शरीरभन्दा पनि मन थाकेको थियो । परिवारका अनुसार त्यही निरन्तर तनावले उनी डिप्रेसनमा गएका रहेछन् । 

घरबाट निस्किएको त्यो साँझ उनी फर्किएनन् । रात पर्न लागेपछि सुम्निमामा  चिन्ता गहिरिँदै गयो ।  नजिकका आफन्तकहाँ सोधियो । चोक, बजार र गल्लीहरु चहारियो । तर, उनी कतै थिएनन् । त्यो रात सुम्निमा निदाउन सकिनन् । भोलिपल्टै प्रहरीमा हुलियासहित निवेदन दिइन् । 

प्रहरी भन्छ–‘खोजी जारी छ ।’ परिवारले सम्भावित सबै ठाउँ बुझिसके । नेपालका सहरहरूदेखि भारतसम्म पुगे । ‘सुनिल पहिले सिलिगुडी नजिकै तालिममा गएको सम्झना आयो, त्यहाँ पनि सोधपुछ गरियो । तर, भेट्न सकिएन,’ सुम्निमाले हैरानी मोडमा भनिन्,‘अब त बाटो हेर्दा हेर्दै थाकी सक्यौं ।’ 

सुनिलको नागरिकतालगायत सबै कागजात घरमै छन् । फोन पनि नलिइ गएका थिए । सुनिल घर छाडेर कतै हराउने मान्छे थिएनन् । परिवार नै उनको संसार थियो । दुई छोरीलाई असाध्यै माया गर्थे । ‘छोरीहरू बिरामी पर्दा रातभर नसुतेको सम्झिन्छु,’ सुम्निमा भन्छिन्, ‘तर किन उनीहरूलाई माया मारेर हिँड्नु भो, आजसम्म बुझ्न सकेकी छैन ।’

घरभित्र सुनिलका सामानहरू अझै त्यहीँ छन् । उनका लुगा, जुत्ता, पुराना कागजपत्र, सबै मौन छन् । ती सामानले कहिलेकाहीँ सुम्निमालाई ढाडस दिन्छन्, कहिलेकाहीँ झन् पीडा । 

बुवाको अनुपस्थितिले सबैभन्दा धेरै असर परेको छ, दुई छोरीलाई । बिहान स्कुल जान ढोका खोल्दा उनीहरू एकछिन रोकिएर बाहिर हेर्छन् ।  साँझ परेपछि आँगनमा खेल्दा पनि बाटोतिर आँखा सोझ्याउँछन् ।  ‘आज बुबा आउनु होला ?’ भन्ने प्रश्न उनीहरूले आमालाई सोध्न छाडेका छैनन् । छोरीका प्रश्नले हरेक पटक सुम्निमा अवाक् बन्छिन् ।  

दिनहरू बित्दै छन् । आशा पातलिँदै गएको छ । तर, त्यो आशा मरिसकेको भने छैन । हरेक साँझ–बिहान सुम्निमा फेरि त्यही बाटोतिर हेरिरहन्छिन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully