निर्वाचन प्रहरीको लाइनमा पाका र अनुभवी धेरै

पर्सामा निर्वाचन प्रहरी भर्नाको आवेदन खुल्ला भएको पहिलो दिन शुक्रबार आवेदन भर्न आउनेमा बढीजसो म्यादी प्रहरीमा अनुभव बटुलेका र पाकाहरु धेरै छन्।

पुस २५, २०८२

शंकर आचार्य

There are many mature and experienced people in the ranks of the election police.

What you should know

पर्सा — पटेर्वासुगौली गाउँपालिका–२ का ३१ वर्षीय सोनानाथ महतो थारु निर्वाचन प्रहरीको आवेदन खुलेको पहिलो दिन शुक्रबार वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय छेउको खेल मैदानमा निर्वाचन प्रहरीको आवेदन भर्दै थिए।

यसअघि चार पटक म्यादी प्रहरीको रुपमा सेवा गरिसकेका उनलाई यस पटक पनि अवसर पाउने विश्वास छ। ‘यो समेत मेरा पाँचौ पटक हुन्छ,’ उनले भने, ‘अनुभवीलाई विशेष ग्राह्यता पनि दिइन्छ, त्यस कारण यस पटक पनि पक्कै अवसर पाइन्छ होला ।’

उनीसँगै आवेदन भरिरहेका बहुदरमाई नगरपालिका–३६ वर्षीय रमेश प्रसाद कुर्मीले पनि यसअघि तीन पटक म्यादी प्रहरीको अनुभव लिइसकेको बताए।

स्नातक उत्तीर्ण कुर्मीलाई सरकारी जागिर खाने इच्छा छ। पाँच पटक लोकसेवाको परीक्षा दिँदा दुई पटक लिखितमा नाम निकालेका थिए। अन्तवार्तामा सफलता नमिलेपछि उनले निर्वाचन प्रहरीको रुपमा भए पनि सरकारी जागिरको छोटो अनुभव लिने गरेको बताए। ‘एकातिर छोटो अवधिकै लागि भए पनि सरकारी जागिर खाएको अनुभव हुने,’ उनले भने, ‘अर्कोतिर देशको सेवा गर्दा गर्वको अनुभुति पनि हुने ।’

आवेदन दिएर प्रवेश पत्रको प्रतिक्षामा थिइन् पोखरिया नगरपालिका–६ की ५२ वर्षीया सालमति देवी । तेस्रो पटक चुनावका बेला निर्वाचन प्रहरीमा सेवाको अवसरका लागि आएकी उनी चार छोराछोरीकी आमा हुन् । ‘छोराछोरी हुर्किसके खाली समयको सदुपयोग हुन्छ,’ उनले भनिन्, ‘राम्रै कमाई पनि हुन्छ ।’

वीरगन्ज आदर्शनगरी ३८ वर्षीया रुपा कुमारी रौनियार पनि आवेदन दिनेहरुको लाममै थिइन् । यसअघि तीन पटक म्यादी प्रहरीको रुपमा सेवा गरिसकेकी उनले यस पटक पनि अवसर पाउने आशा व्यक्त गरिन् । सानो व्यापार र अरुको घरमा खाना पकाएर रोजगारी गरिरहेकी उनले ४० दिन निर्वाचन प्रहरीको रुपमा सेवा गरेर आकर्षक रकम पाइने र देशको सेवा पनि हुने भएकाले यस पटक पनि निर्वाचन प्रहरी बन्न चाहेको बताइन् । ‘मलाई तीन पटकको अनुभव पनि छ,’ उनले भनिन्, ‘थोरै दिन सेवा गरेर आकर्षक कमाई र देशको सेवा पनि गर्न पाइन्छ ।’

There are many mature and experienced people in the ranks of the election police.

पोखरिया–८ जगतपुरकी ४० वर्षीया सविना खातुनले ५ कक्षासम्म पढेकी छिन् । पाँच छोराछोरीकी आमा उनले पनि फुर्सदको समय सदुपयोग र सरकारी जागिरको अनुभव बटुल्न आएको बताइन् । ‘म पहिलो पटक निर्वाचन प्रहरी बन्ने प्रयास गर्दै छु, हेरौं अवसर पाइन्छ कि ?,’ उनले भनिन्, ‘अवसर पाए राम्रैसँग गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

पर्सामा निर्वाचन प्रहरी भर्नाको आवेदन खुल्ला भएको पहिलो दिन शुक्रबार आवेदन भर्न आउनेमा बढीजसो म्यादी प्रहरीमा अनुभव बटुलेका र पाकाहरु देखिन्थे। पहिलाे दिन युवा उमेरका आवेदकहरु तुलनात्मक रुपमा कम देखिन्थे ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जिल्लामा २ हजार आठ सय ५२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको बताए । तीमध्ये २ हजार ५ सय भर्ना नेपाल प्रहरीले र बाँकी सशस्त्र प्रहरीले लिने छ ।

पहिलो दिनको उपस्थिति हेर्दा पाँच हजार बढी आवेदन पर्ने सम्भावना रहेको उनले बताए । निर्वाचन प्रहरीले ४० दिनको दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसाको दरले ३४ हजार ७ सय ७६ रुपैयाँ, ४० दिनकै रासन, यातायात खर्च दैनिक ३ सय रुपैयाँको दरले ४ दिनको १ हजार २ सय रुपैयाँ, पोशाक खर्चलगायत सुविधा पाउने छन् । घाइते भएमा उपचार खर्च र मृत्यु भएका परिवारले क्षतिपूर्ती समेत पाउने व्यवस्था रहेको उनले बताए।

अनुभवीलाई विशेष ग्राहता दिइने भएकाले पहिलो दिन विगतमा म्यादी प्रहरीको रुपमा सेवा गरेकाहरु बढी आएको हुन सक्ने उनले बताए । नेपाली नागरिक, लेखपढ गर्न जान्ने जस्ता न्यूनतम प्रावधान राखिनुका साथै सेना, प्रहरी र सशस्त्र प्रहरीको सेवाबाट निवृत्त भएकालाई पनि प्राथमिकता दिइने नीति रहेकाले कतिपय त्यस्ता सेवा निवृत्तहरु पनि आवेदन दिन आएको उनले बताए ।  

शंकर

Link copied successfully