कुरिलोको मूल्य किलोकै ५ हजार रुपैयाँ

उपत्यकाका मुख्य तरकारी बजारकै थोक पसलेले कुरिलो बिक्री नगरेपछि प्रायः स–साना पसलेले पनि राखेका छैनन् ।

पुस २५, २०८२

सीमा तामाङ

The price of kurilo is 5 thousand rupees per kilogram.

What you should know

काठमाडौँ — बेमौसमी तरकारी कुरिलो किलोकै ५ हजार रुपैयाँसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य भने फरकफरक छ- कतै किलोको १ हजार, कतै २ हजार त कतै ५ हजार रुपैयाँसम्म ।

सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्ट स्टोर र ई–कमर्स प्लेटफर्ममार्फत फलफूल तथा तरकारी बिक्री गर्दै आएका वेबसाइटमा पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीँ पाइँदैन । बेमौसमकै बेला माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सञ्चालन गरेको खुद्रा बजारमा गत मंगलबारदेखि कुरिलो आएको छैन । त्यसकारण यहाँ कुरिलोको थोक मूल्यसमेत अद्यावधिक गरिएको छैन । उपत्यकाका मुख्य तरकारी बजारकै थोक पसलेले कुरिलो बिक्री नगरेपछि प्रायः ससाना पसलेले पनि बेचेका छैनन् । 

शंखमूलको भैरवी तरकारी पसलमा कुरिलो बिक्री नगरेको महिना पुग्न लाग्यो । पसल सञ्चालक सुनिता खतिवडाले थोकमै महँगो पर्ने भएकाले कुरिलो बेचेकी छैनन् । ‘पाउकै ५ सय रुपैयाँ पर्छ, जोकोहीले किन्दैनन्,’ उनले भनिन्, ‘आवश्यक नै परेकाले मात्र किन्ने हो ।’ सिजनमा ५ सय रुपैयाँमा दुई किलो पाइने कुरिलो एक महिनाअघि किलोकै एक हजार रुपैयाँ पुगेको उनको भनाइ छ । 

डिजिटल प्लेटफार्ममार्फत फलफूल तथा तरकारी बिक्री गर्दै आएको वेबसाइट ‘बाइतरकारी’, ‘काठमान्डु अर्गानिक्स’, ‘मेरो किराना’, ‘अनलाइन तरकारी पसल’ मा समेत कुरिलो मूल्य फरकफरक छ । ‘बाइतरकारी’ मा ५ सय ग्राम कुरिलोको मूल्य ६ सय रुपैयाँ राखिएको छ । अझै कुरिलो रहेको भन्दै ‘स्टक’ राखिएको छ । ‘काठमान्डु अर्गानिक्स’ मा कुरिलोको मूल्य राखिए पनि ‘आउट अफ स्टक’ रहेको देखाइएको छ । ‘काठमान्डु अर्गानिक्स’ मा प्रतिकिलो २ हजार रुपैयाँ र २ सय ५० ग्रामको ३ सय २५ रुपैयाँ तोकिएको छ । 

यसैगरी ‘मेरो किराना’ ईकमर्स प्लेटफर्ममा ५ सय ग्राम कुरिलोको मूल्य ४ सय ६० रुपैयाँ राखिएको छ । अर्को ईकमर्स प्लेटफर्म ‘अनलाइन तरकारी पसल’ मा प्रतिकिलो कुरिलोको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ । नेपालमा कोरोना महामारीपछि कुरिलोको माग बढेको हो । कोरोनाका बिरामीलाई खुवाउन चिकित्सकले सल्लाह दिएयता तागतिला झोलमा कुरिलोको प्रयोग उत्तम मानिएको छ । अहिले पनि चिसो मौसममा कुरिलोको सुप खानकै लागि उपभोक्ता रुचाउँछन् । 

हरेक दिन तरकारीको मूल्य परिवर्तन भइरहने अनलाइन तरकारी पसलका संस्थापक नारायण अधिकारीले बताए । ‘हरेक दिन तरकारीको मूल्य घटबढ भइरहन्छ,’ उनले भने, ‘कुरिलोको पनि त्यस्तै हो ।’ स्थानीय कुरिलो पाइने बेला भने यसको मूल्य सस्तो हुने उनको भनाइ छ । ‘हामीले अरू भेन्डरसँग किन्ने हो, माग बढी र उत्पादन कम हुँदा मूल्य बढ्छ,’ उनले भने, ‘अहिले अफसिजन पनि हो । माग बढी छ । त्यसैले मूल्य बढेको हुन सक्छ । हामीले भेन्डरलाई तिर्ने मूल्य नै बढेको छ ।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गर्ने मूल्यसूचीमा २१ पुसमा कुरिलो प्रतिकिलो मूल्य न्यूनतम २ हजार २ सयदेखि २ हजार ४ सय रुपैयाँ थियो ।

औसतमा कुरिलो कालीमाटी थोक बजारमा प्रतिकिलो २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि मूल्य अद्यावधिक गरिएको छैन । कुरिलो २१ पुससम्म मात्रै आएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जनाए । त्यसपछि थोक बजारमा आएको छैन । 

कालीमाटी बजारको दैनिक तथ्यांक हेर्दा पुस महिनामा मात्रै थोक बजारमा कुरिलोको मूल्य प्रतिकिलोमा १०९‍.०९ प्रतिशतले वृद्धि भएको देखिएको छ । यही १ पुसमा थोक बजारमा कुरिलोको औसत मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ थियो, २१ पुसमा प्रतिकिलो २ हजार ३ सय रुपैयाँ पुगेको समितिको तथ्यांक छ । कालीमाटी थोक बजारमा कुरिलोको औसत मूल्य हेर्ने हो भने १ देखि १३ पुससम्म औसत मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ देखिन्छ । १४ पुसमा १ हजार ३ सय ५० पुगेकामा १९ पुसमा २ हजार २ सय र २० र २१ पुसमा २ हजार ३ सय पुगेको थियो । त्यसयता मूल्य अद्यावधिक गरिएको छैन । 

‘थोक बजारमा कारोबार नभएपछि मूल्यसूची राखिँदैन, यो सिजन पनि होइन, अफसिजन हो,’ श्रेष्ठले भने, ‘कुरिलोका उपभोक्ता पनि सीमित हुन्छन् । बजारमा पाइरह्यो भने मूल्यवृद्धि हुँदैन ।’ स्थानीय कुरिलो नपाइएको र आयात पनि नहुँदा कुरिलोको मूल्य निरन्तर बढ्दै गएको हुन सक्ने श्रेष्ठको अनुमान छ । उनका अनुसार कुरिलो विशेषगरी वैशाख, जेठदेखि असारसम्म बजारमा आउँछ , कालीमाटीभित्र स्थानीय किसानले मात्र ल्याउँछन् । चालु आर्थिक वर्षको पाँच महिनामा ९४ लाख ५९ हजारको ६९ हजार ७ सय ७१ किलो कुरिलो निर्यात गरिएको छ । नेपालबाट यूएई, कतार, कुवेत र नर्वेमा निर्यात गरिएको भन्सार विभागले जनाएको छ । सबैभन्दा बढी ५९ लाख रुपैयाँको कुरिलो यूएई निर्यात गरिएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षमा कुरिलो आयात भने गरिएको छैन । 

गत आर्थिक वर्ष पाँच महिनामा २९ लाख २० हजारको १८ हजार ७ सय ९ किलो कुरिलो निर्यात गरिएको थियो । कतार, यूएई, हङकङ, डेनमार्क, चीन र नर्वेमा निर्यात गरिएको विभागको तथ्यांक छ । उक्त वर्ष सबैभन्दा बढी कतारमा २५ लाख ३१ हजारको ११ हजार ९ सय २१ किलो निर्यात गरिएको छ । विभागका अनुसार गत आर्थिक वर्षभर नेपालले कुरिलो आयात गरेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा ५२ हजार रुपैयाँको ६ सय किलो कुरिलो आयात भएको थियो । उक्त वर्ष नेपालले १ करोड ११ लाख ७८ हजार रपैयाँको ७६ हजार ७९५ किलो कुरिलो निर्यात गरेको थियो ।

मोरङ, खोटाङ, झापा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, कास्की, पर्वत, नवलपुर, चितवन, दाङ, प्यूठान, जाजरकोटलगायत जिल्लामा कुरिलो उत्पादन हुन्छ । आर्थिक वर्ष २०७९/८० मा २ सय ७० हेक्टर क्षेत्रफलमा कुरिलो खेती गरिएको थियो । उक्त वर्ष १ हजार ३ सय १८ टन कुरिलो उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा २ सय ८८ हेक्टर क्षेत्रफलमा कुरिलो खेती गरिएको थियो । उक्त वर्ष १ हजार ४ सय ८९ टन कुरिलो उत्पादन भएको थियो ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully