जेन-जी अभियन्ता तथा विज्ञ भन्छन्- 'चुनाव जित्ने मात्र उद्देश्य जोखिमपूर्ण'

कान्तिपुर मिडिया ग्रुपको जेन-जी समूहले सुरु गरेको ‘ह्वाट नेक्स्ट ?’ बहस शृंखलाअन्तर्गत बिहीबार आयोजित कार्यक्रमका वक्ताले वर्तमान परिस्थितिमा निर्वाचन नै प्रमुख आवश्यकता भएकामा जोड दिएका छन् ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Gen-G activist and expert says - 'The sole objective of winning elections is risky'

What you should know

काठमाडौँ — जेन–जी आन्दोलनपछि देशलाई सही दिशातर्फ लैजान निर्वाचन अपरिहार्य भएको जेन–जी अभियन्ता तथा विज्ञले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपको जेन–जी समूहले सुरु गरेको ‘ह्वाट नेक्स्ट ?’ बहस शृंखलाअन्तर्गत बिहीबार आयोजित कार्यक्रमका वक्ताले वर्तमान परिस्थितिमा निर्वाचन नै प्रमुख आवश्यकता भएकामा जोड दिएका हुन् ।

पहिलो सत्र ‘जेन–जी रोडम्याप’ मा बोल्दै जेन–जी अभियन्ता रक्षा बमले जेन–जीका मुद्दा सफल बनाउन विचार मिल्ने नेतृत्वहरू एक भएर निर्वाचनमा अघि बढ्नुपर्ने सुझाइन् । ‘सामाजिक न्यायप्रति विश्वास राख्ने साथीहरू एक हुनुपर्छ,’ उनले भनिन् । अर्का जेन–जी अभियन्ता माजिद अन्सारीले निर्वाचन आवश्यक भए पनि केवल चुनाव जित्ने उद्देश्यले गरिने गठबन्धनले देशलाई कुनै फाइदा नपुर्‍याउने धारणा राखे । ‘संविधानको रक्षा गर्दै जेन–जीका माग पूरा गर्नुपर्छ,’ अन्सारीले भने, ‘आर्थिक र सामाजिक दृष्टिकोणमा नेतृत्व स्पष्ट हुनुपर्छ ।’ 

अभियन्ता विकास रसाइलीले नयाँ दलमा पनि परिवर्तनको इच्छाशक्ति नदेखिएकामा चिन्ता व्यक्त गरे । ‘हाम्रो नेतृत्व संरचनामै समस्या छ,’ उनले भने, ‘यसलाई व्यापक रूपमा शुद्धीकरण गर्न आवश्यक छ । यसका लागि विचार प्रस्ट हुनुपर्छ । नयाँ दलहरू विचारमा प्रस्ट देखिएनन् ।’ नयाँ दलहरूले समानुपातिक सूचीमा आफू निकट तथा पहुँचवालालाई प्राथमिकता दिनु दुःखद् भएको अभियन्ताहरूको टिप्पणी थियो । सामाजिक सञ्जालमा चर्चित भएकै आधारमा पार्टीले टिकट दिनु गलत भएको उनीहरूको भनाइ थियो । जेन–जी रोडम्याप सत्रको सहजीकरण कान्तिपुरका पत्रकार दया दुदराजले गरेका थिए ।

यस्तै, ‘रोड टु इलेक्सन’ सत्रमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्राविधिक कार्य मात्र नभई राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धता भएको बताए । ‘संविधानले प्रदान गरेको दायित्वअनुसार चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्नु नै अहिलेको आवश्यकता हो,’ उप्रेतीले भने, ‘दलहरूले बुझाएको समानुपातिक सूची, निर्वाचन प्रहरी छनोटको प्रक्रियालगायत पछिल्ला गतिविधिले पनि निर्वाचनको माहोल बढेको छ । राजनीतिक दलदेखि नागरिकसम्म समन्वय गरेर अघि बढ्नुपर्छ ।’ यद्यपि, अहिलेको निर्वाचन विगतका निर्वाचन जस्तो सरल र सहज नभएको उनको भनाइ छ । 

पूर्वएआईजी सुरेन्द्रबहादुर शाहले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार बाहिर भएको भन्दै सुरक्षाको विषयमा प्रश्न उठे पनि यसले निर्वाचनलाई प्रभाव नपार्ने बताए । ‘प्रहरीका हातहतियार लुटिएका छन्, हराएका छन्,’ शाहले भने, ‘तर निर्वाचन नै बिथोल्ने गरेर प्रेसर भने हुँदैन ।’ जेन–जी अभियन्ता आकृति घिमिरेले निर्वाचनबाट नै जेन–जीका माग पूरा हुने बताइन् । ‘जेन–जीका सबै माग अन्तरिम सरकारले पूरा गर्न सक्दैन,’ उनले भनिन्, ‘अब निर्वाचनबाट आएकै सरकारले जेन–जीको माग सम्बोधन गर्छ । लोकतन्त्रको रक्षाका लागि पनि यो आवश्यक छ ।’ 

यो सत्रको सहजीकरण कान्तिपुरका पत्रकार किरण पौडेलले गरेका थिए । केएमजी जेन–जी समूहका संयोजक विकेनकुमार दवाडीले जेन–जी प्रदर्शनपछिको यो अवस्थामा ‘अब के ?’ भन्ने प्रश्नसहित आगामी संस्करण पनि नियमित ल्याउने बताए ।

कान्तिपुर

Link copied successfully