रिलायन्सविरुद्ध प्रचार बन्द गर्न अदालतको आदेश

रिलायन्स स्पिनिङ मिल्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Court orders to stop campaign against Reliance

What you should know

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध प्रकाशन तथा प्रसारण भएका झूटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न आदेश दिएको छ ।

खगेन्द्रराज कँडेल (रविन) समेतविरुद्ध दायर निवेदनमा बिहीबार यस्तो आदेश जारी भएको हो ।

रिलायन्सले कँडेलका साथै नेपाल सेयर बजार लगानीकर्ता संघलगायत कम्पनी र तिनका संस्थापकलाई बेइज्जती गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रसारण गरिएको भन्दै बुधबार निषेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो । न्यायाधीश रामचन्द्र खड्काको इजलासले बिहीबार सुनुवाइ गर्दै प्रथम दृष्टिमै ती लेख र समाचारलाई झूटो, भ्रमपूर्ण र अनर्गल भनेको छ ।

‘अर्थसञ्चार, बिजशाला, अर्थसञ्चार युट्युब च्यानल, टंक दाहाल नामक युट्युब च्यानल जस्ता विभिन्न सामाजिक सञ्जालमार्फत झूटो, भ्रमपूर्ण लेख तथा समाचार प्रसारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लिखित विषयबारे अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानिपूर्ण आरोप लगाई कम्पनी र कम्पनीको संस्थापकलाई बेइज्जती गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रसारण गरिएको कार्य प्रथमदृष्टिमै त्रृटिपूर्ण देखिएको हुँदा,’ आदेशमा भनिएको छ, ‘उल्लिखित शीर्षकका सम्बन्धित सामग्री सञ्चारमाध्यम तथा अनलाइनसमेतमा प्रकाशन, प्रसारण नगर्न, नगराउन र प्रकाशन, प्रसारण गरिसकेका उक्त सामग्री थप सम्प्रेषण हुन नदिनू भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

रिलायन्स स्पिनिङ मिल्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको थियो । बुक बिल्डिङ विधिमार्फत निष्कासित कुल सेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६ सय ४० कित्ता) सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ । संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँको दरले सेयर बिक्री गरिएको थियो ।

बुक बिल्डिङ निर्देशिकाबमोजिम ६० प्रतिशत सेयर आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, म्युचुअल फन्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ । निर्देशिकाअनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो ।

ग्लोबल आईएमई क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा भएको आईपीओमा गोलाप्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले सेयर बाँडफाँट गर्दा २१ हजार ८ सय ७ जनाले सेयर पाएका छन् । आमसर्वसाधारणतर्फ १८ हजार ४ सय ९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३ सय ११ जनालाई सेयर बाँडफाँट गरिएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । तीनवटै समूहमा गरेर ५ लाख ७४ हजार ६ सय ९२ आवेदक थिए, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५ सय ३२ रुपैयाँ जम्मा भएको थियो ।

कान्तिपुर

Link copied successfully