विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस धनकुटा सभापतिको आग्रह

सभापति राईले विशेष महाधिवेशनबाट पार्टीको भविष्य र देशको दिशा निर्धारण हुने भन्दै अनिवार्य उपस्थित हुन भनेका छन् ।

पुस २४, २०८२

विनोद घिमिरे

Congress Dhankuta President urges people to participate in special general convention

धनकुटा — नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले पुस २७ र २८ मा काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा अनिवार्य सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

धनकुटाका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । विज्ञप्ति जारी गरेर राईले पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र तथा देशको समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिने महत्त्वपूर्ण समय आएको भन्दै विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका  हुन् । 

सभापति राईले विशेष महाधिवेशनबाट पार्टीको भविष्य र देशको दिशा निर्धारण हुने भन्दै अनिवार्य उपस्थित हुन भनेका छन् । राई कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् ।

जिल्ला सभापति राईले यसअघि पार्टीले बुझाएको समानुपातिक बन्द सूचीमा धनकुटाबाट कसैको पनि नाम नपरेको भन्दै सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेका थिए ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully