उपरदाङगढी उक्लियो ‘चण्डी तोप’ [तस्बिरहरू]

तोप र गोलालाई कोतघरको पिँढीमै राखिएको छ भने अन्य हातहतियार शिशाको फ्रेमभित्र राखेर कोतघरको तल्लो तलामा सार्वजनिक प्रदर्शनीका लागि राखिएको छ।

पुस २४, २०८२

रमेशकुमार पौडेल

'Chandi Cannon' rises above Danggarhi [Photos]

What you should know

चितवन — सेन वंशको पालामा चितवनको पहाडी भेग उपरदाङगढीमा निर्माण गरिएको किल्लामा फेरि तोप, गोला र केही पुराना हातहतियार पुगेका छन्। सो स्थानमा २०१८ सालसम्म चितवनभरिको मालपोत संकलन हुने गर्दथ्यो।

सदरमुकाम भरतपुर सरेसँगै सुनसान बन्दै गएको गढी क्षेत्र हाल इच्छाकामना गाउँपालिकाको वडा नम्बर ७ मा पर्दछ। गाउँपालिकाले गढीमा कोतघर निर्माण गरी संग्रहालयसमेत तयार गरेको छ।

सोही संग्रहालयमा राख्न बुधबार हालको सदरमुकाम भरतपुरस्थित नेपाली सेनाको ब्यारेकबाट ६ पाउन्ड तौलको एउटा तोप र त्यसका ५० वटा गोला उपरदाङगढी पुर्‍याइएको हो। भरतपुर ब्यारेकबाट ‘चण्डी तोप’ निकाल्दा पण्डितहरूले पूजापाठ गरेका थिए। पञ्चेबाजाको टोलीलाई अगाडि पारेर तोप बोकेको गाडी गन्तव्यतर्फ लागेको थियो। शक्तिखोरबाट उकालो चढेर टोली गढी नजिक पुग्दा स्थानीयले फूलमालाले स्वागत गरे।

'Chandi Cannon' rises above Danggarhi [Photos]गाडी गुड्ने सडकबाट करिब पाँच सय मिटर पर पहाडी थुम्कामा रहेको गढीसम्म तोप पुर्‍याउन नेपाली सेना र स्थानीयवासी खटिएका थिए। तोपलाई डोरीले बाँधेर दुवैतर्फ फलामका पाइप राखी आठ–नौ जनाले काँध दिएर गढीसम्म पुर्‍याइएको थियो। गढीसम्म पुग्ने बाटो कतिपय स्थानमा ठाडो उकालो भएकाले पित्तलको तोप बोक्नु निकै कष्टकर देखिन्थ्यो। केही पाइला हिँडेपछि बिसाउनुपर्ने अवस्थाले नै त्यो कठिनाइ झल्काउँथ्यो।

‘यहाँ पुरानो गढी र त्यसभित्र कोतघर पनि थियो। कोतघर धेरै पहिले खण्डहर बनेको थियो। उत्खननपछि पुनः नयाँ बनाउने योजना बन्यो,’ इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने। पुरातत्व विभागको अनुगमन र स्वीकृतिमा पुरानै स्वरूप झल्किने गरी कोतघर निर्माण गरिएको उनले बताए।

'Chandi Cannon' rises above Danggarhi [Photos]कोतघर निर्माणपछि त्यसमा राख्ने हातहतियारका लागि नेपाली सेनासँग समन्वय गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। भरतपुर ब्यारेकबाट तोप, तोपमा प्रयोग हुने किटका ५० वटा गोलासहित विभिन्न नौ प्रकारका हातहतियार प्राप्त भएका छन्। तीमध्ये दुई थान भरुवा बन्दुक, एक थान खुँडा, दुई थान तरबार, १२, १३ र १४ इन्चका खुकुरी दुई–दुई थान र युद्धका बेला लडाकुहरूले प्रहार रोक्न प्रयोग गर्ने एक थान ढाल रहेका छन्।

तोप र गोलालाई कोतघरको पिँढीमै राखिएको छ भने अन्य हातहतियार शिशाको फ्रेमभित्र राखेर कोतघरको तल्लो तलामा सार्वजनिक प्रदर्शनीका लागि राखिएको छ। माथिल्लो तलामा विभिन्न जातजाति र त्यस क्षेत्रमा पाइने जीवजनावरका तस्बिरहरू राखिएका छन्। ‘हाम्रा पुर्खाले देश कसरी निर्माण गरेका रहेछन् भन्ने कथा नयाँ पुस्ता र आउँदो पिँढीले यहाँ आएर जान्न पाउनेछन्,’ अध्यक्ष गुरुङले भने।

नेपाली सेनाको मध्य पृतना मुख्यालय, हेटौंडा सुपरेटर ब्यारेकका पृतनापति उपरथी विष्णुकुमार खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कोतघर उद्घाटन तथा हातहतियार हस्तान्तरण गरिएको हो। गाउँपालिकाले कोतघरमा राखेको विवरणअनुसार यो गढी तनहुँका सेन वंशका राजाहरूले निर्माण गरेका थिए। सेनकालीन गढीलाई विसं १८८५ मा अझ ठूलो र बलियो बनाइएको इतिहास छ।

'Chandi Cannon' rises above Danggarhi [Photos]भैरुङ पल्टनका रणवीर महतको नेतृत्वमा विसं १८८४ कात्तिकमा सुरु गरिएको निर्माण कार्य एक वर्ष पाँच महिनामा सम्पन्न भएको थियो। त्यसभन्दा अघि विसं १८७१ देखि १८७३ सम्म नेपाल–अंग्रेज युद्धका समयमा सो गढीमा फौज राखी युद्धको तयारी गरिएको थियो, तर त्यहाँ प्रत्यक्ष युद्ध भने भएको थिएन। सदरमुकाम भरतपुर सरेपछि गढी क्षेत्र उपेक्षित बन्दै गएको थियो।

त्यहाँ पहिले तोप रहेको बुझिए पनि पछि अन्यत्र लगिएको भन्ने सुनिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए। कोतघर रहेको स्थानमा विसं २०२३ देखि २०५२ सम्म प्राथमिक तहको विद्यालय सञ्चालन हुँदै आएको थियो। समयक्रममा गढी क्षेत्रमा कसैको ध्यान नपुगेपछि संरचना भत्कँदै गयो र झाडीले ढाक्न थाल्यो।

‘२०७४ सालमा वडामा निर्वाचित भएर यहाँ आउँदा तलैदेखि झाडी पन्छ्याउँदै आएका थियौँ,’ इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापा मगरले भने। उनका अनुसार तत्कालीन चितवन जिल्ला विकास समितिले पनि २०६० को दशकमा केही प्रयास गरेको थियो। स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएपछि गढी संरक्षण र पर्यटन विस्तारले गति लिएको उनले बताए।

'Chandi Cannon' rises above Danggarhi [Photos]पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले देशभर ६ हजारभन्दा बढी सम्पदा सूचीकृत रहेको र किल्ला तथा गढी करिब तीन सयको हाराहारीमा रहेको जानकारी दिइन्। ‘उपरदाङगढीको किल्लामा रहेको पर्खाल, दुश्मन रोक्न बनाइएको खाडल र भित्र प्रवेश गर्न बनाइएको सुरुङले यसलाई बलियो गढी भएको प्रमाणित गर्छ,’ उनले भनिन्।

पुरातत्व विभागले २०६९ सालदेखि गढी क्षेत्रमा पुनर्निर्माण र उत्खननका विभिन्न काम गर्दै आएको छ। कोतघर निर्माणसँगै एक चरणको पुनर्निर्माण सम्पन्न भएको छ। कोतघर निर्माणलगायत कार्यका लागि गाउँपालिकाले १ करोड ८३ लाख रुपैयाँ बजेट खर्च गरेको अध्यक्ष गुरुङले जानकारी दिए। इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि यो क्षेत्र प्रयोग गरिने उनले बताए।

'Chandi Cannon' rises above Danggarhi [Photos]गढी क्षेत्रको सुरक्षाका लागि तत्काल पालिका प्रहरीले जिम्मेवारी सम्हालेको छ। घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरिएको छ। सुरक्षा र पर्यटन प्रवर्द्धनका लागि थप कार्यक्रम अघि बढाइने अध्यक्ष गुरुङले बताए। गढी आसपास होमस्टे तथा साना होटल–लजहरू खुल्न थालेका छन् भने भरतपुरलगायत स्थानबाट घुम्न जानेहरूको संख्या बढ्दै गएको छ।

'Chandi Cannon' rises above Danggarhi [Photos]ऐतिहासिक दस्तावेज र सामग्रीका कारण इतिहास अध्ययन गर्न चाहने व्यक्तिहरू पनि गढी उक्लने विश्वास गाउँपालिकाले लिएको छ। सदरमुकाम भरतपुरबाट पूर्व–उत्तर पदमपुर, शक्तिखोर हुँदै वा रत्ननगरबाट उत्तर जुटपानी–शक्तिखोर हुँदै करिब एक घण्टामा गढी पुग्न सकिन्छ। यहाँको हावापानी गर्मीमा शीतल र जाडोमा न्यानो हुने खालको छ।

'Chandi Cannon' rises above Danggarhi [Photos]आदिवासी चेपाङ तथा मगर र गुरुङ समुदायको बसोबास रहेको गढी वरपरका गाउँमा अन्य धेरै पर्यटकीय आकर्षण रहेको अध्यक्ष गुरुङले बताए। गढी क्षेत्रका वनमा नेपालमै मात्र पाइने काँडे भ्याकुर चरा भेटिन्छ। सूर्य उदय र सूर्यास्तको मनोरम दृश्य देखिने यो स्थानबाट मौसम खुलेको बेला उत्तरतर्फ हिमालसमेत प्रस्ट देखिने भएकाले गढी क्षेत्र आकर्षक रहेको उनी बताउँछन्।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully