विद्यालय बिदा गरेर शिक्षकजति सातदिने तालिममा

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको आयोजनामा हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोग तथा गाउँपालिकाको संयोजनमा सातदिने तालिम सञ्चालन गरिएको हो ।

पुस २४, २०८२

आनन्द गौतम

After school, they went on a seven-day training as teachers.

What you should know

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका १, २ र ३ नम्बर वडाका सबै विद्यालयका शिक्षक विद्यालय बन्द गरेर तालिममा सहभागी भएका छन् । आधारभूत र माध्यमिक तहका गरी १ सय ५४ जना शिक्षकलाई वडा नं ३ सिंवा माध्यमिक विद्यालयमा कक्षाकोठामा प्रयोग हुने शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिमका लागि भेला पारिएको हो ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको आयोजनामा हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोग तथा गाउँपालिकाको संयोजनमा यसरी तालिम सञ्चालन गरिएको हो । ‘एउटा विद्यालयको एक-दुई जना शिक्षक भेला पारेर दिएको तालिमको खासै प्रभावकारिता देखिएन,’ रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले भने, ‘पालिकाभरि अर्थात् वडाभरिका सबै शिक्षकलाई एकै थलोमा भेला पारेर एकैपटक दिएको तालिम सबै शिक्षकमार्फत सिधै कक्षाकोठामा पुगेको पाइयो ।’ 

गाउँपालिका अध्यक्ष राजन लिम्बू एक जनाले सिकेर गएको ज्ञान अरुमा सर्कुलर भएको नपाइएकाले सबैलाई भेला पार्दा प्रभावकारी होला भनेर प्रयास गरिएको बताउँछन् । तालिमका लागि रिड नेपालले राजधानी काठमाडौं लगायतका स्थानबाट दक्ष जनशक्ति ल्याएको जनाएको छ ।

खासगरी कक्षा कोठामा प्रयोग हुने शैक्षिक सामग्री बनाउन र त्यसलाई प्रयोग गर्न शिक्षकहरूलाई सिकाइन्छ । बिहीबार सुरु भएको तालिम पुस ३० मा समापन हुनेछ । कक्षा कोठामा प्रवेश गर्दा बालकालिका त्रसित नभएर उत्साही हुनुपर्ने, शिक्षक नभएको दिनमा पनि बालबालिका कक्षाकोठामै रमाउनु पर्ने जस्ता शैक्षिक सामग्री तयार गर्ने विधि यो तालिममा प्रदान गरिने पन्तले बताए । पायक पर्ने तीनवटा वडाका सबै शिक्षक भेला भएको तालिम उद्घाटनका लागि गाउँपालिका अध्यक्ष लिम्बू, उपाध्यक्ष विकास साम्रा, सम्बन्धित वडाका वडाध्यक्षको उपस्थिति थियो ।

आफ्नो र छिमेकी वडाका पनि सबै शिक्षक समावेश भएको पहिलो तालिम भएकाले कस्तो होला भन्ने उत्सुकता सबै सहभागीमा रहेको सिवा माविका प्रधानाध्यापक ओमप्रकाश गौतमले बताए । ‘आधारभूत तहका बाल शिक्षकदेखि माध्यमिक तहका प्रधानाध्यापकसम्म सबै सँगसँगै बसेर सुरु भएको यो पहिलो तालिम हो,’  उनले भने, ‘गाउँपालिकाले विद्यार्थीलाई बिदा दिएर शिक्षकलाई कस्तो तालिम गराउँदैछ भन्ने उत्सुकता अभिभावक र विद्यार्थी सबैमा छ ।’

विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमालका पहिलो आरोही बेलायती नागरिक जर्ज बेण्डका नाममा स्थापित संस्थाले यस क्षेत्रको शैक्षिक सुधारका लागि सहयोग गरेको छ । सोही संस्थाको सहयोगमा शिक्षकका लागि खाने र बस्ने व्यवस्था गरिएको हो । बिहानदेखि बेलुकासम्मै तालिम-कक्षा सञ्चालन गरिने रिड नेपालले जनाएको छ ।

शैक्षिक सामग्री निर्माणका लागि कच्चा पदार्थ रिड नेपालले उपलब्ध गराएको छ । ‘अहिले यहाँ सहभागी शिक्षकले पढाउने सबै विद्यालयका कक्षाकोठा खाली छन्,’ पन्तले भने, ‘तालिम सकिँदा सबै भरिभराउ हुनेछन्, तालिमबाट फर्केको एक महिनामा हरेक विद्यालयका कक्षाकोठा यसरी नै शैक्षिक सामग्रीले भरिएको हुनेछन् ।’ सामग्री निर्माणमा विद्यार्थी स्वयं पनि सहभागी हुने रिड नेपाका फिल्ड अधिकृत अंक बुढाले बताए । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully