आयोगमा अन्तिम बयान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए ।
What you should know
काठमाडौँ — २३ र २४ भदौमा भएको आन्दोलनका विषयमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगबाहेक राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।
आयोगले भदौ २४ मै आयोगकी सदस्य लिलि थापाको नेतृत्वमा अनुसन्धान टोली नै बनाएर छानबिन थालेको थियो । आयोगले चार विषय विभाजन गरेर छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा भएको मानवअधिकार हनन, २३ भदौको आन्दोलनमा प्रहरीको बल प्रयोग (दमन), पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन गरिरहेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।
आयोगले बयान र सोधपुछ भने सम्पन्न गरेको छ । आयोगमा अन्तिम बयान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए । ओलीले सरकारको जाँचबुझ आयोगमा लिखित बयान पेस गरेकै दिन पुस २० गते मानव अधिकार आयोगमा पनि पुगेर बयान दिएका थिए ।
उक्त टोलीले २३ र २४ भदौको घटनाको फिल्ड अनुगमनदेखि मानवअधिकार हननको अवस्थाबारे सोधपुछ गरिरहेको आयोग अब प्रतिवेदन लेखनमा सक्रिय रहेको थापाले बताइन् । उनले आयोग बयान सकेर प्रतिवेदन लेखन गर्ने तथा तथ्यहरुको विश्लेषणमा लागेको छ केही दिनमा प्रतिवेदन नै बुझाउने उनले बताइन् ।
आयोगका अनुसार २३ भदौको घटनामा दमन र मानवअधिकार हननका विषयमा अनुसन्धान केन्द्रित छ भने २४ भदौको घटनामा जवाफदेहीता र दण्डहीनतालगायतका विषयमा अनुसन्धान केन्द्रित छ । आयोगले काठमाडौं र विभिन्न जिल्लामा रहेका आफ्नो संयन्त्रमार्फत अध्ययन गरेको छ ।
आयोगले जिल्ला सुरक्षा परिषद् हुँदै २३ र २४ भदौमा फिल्डमा खटिएका सुरक्षाकर्मीसम्मलाई सोधपुछ गरेको छ । आयोगले नेपाली सेनासँग पनि विवरण माग गरेको थियो । सेनाले एउटा प्रतिवेदन आयोगलाई बुझाएको छ ।
आयोगले जेन–जी आन्दोलनका क्रममा गरेको अनुगमनको संक्षिप्त प्रतिवेदन १० असोजमा सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको कमजोरी भएको ठहर थियो । ‘प्रदर्शनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको थियो ।’
आयोगले यस प्रकारका हिंसात्मक घटना हुनाका कारणको पहिचान गर्दै भविष्यमा दोहोरिन नदिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको थियो । आयोगले २४ भदौमा विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चाल्न अनुरोध गरेको थियो । यस्तै, २३ भदौमा पनि विज्ञप्ति जारी गर्दै आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको उल्लेख गरेको थियो ।
मानव अधिकार आयोगले सोधपुछ गरेका अधिकारीहरू
केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री
रमेश लेखक, तत्कालीन गृहमन्त्री
आरजु राणा देउवा, मन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद सदस्य
पृथ्वीसुब्बा गुरुङ, तत्कालीन सञ्चारमन्त्री
मानवीर राई, तत्कालीन रक्षामन्त्री
बालेन शाह, काठमाडौं महानगरका मेयर
प्रशासनिक नेतृत्व
एकनारायण अर्याल, तत्कालीन मुख्यसचिव
गोकर्णमणि दुवाडी, तत्कालीन गृह सचिव
छवि रिजाल, काठमाडौंका तत्कालीन सीडीओ
सुरक्षा निकायतर्फ
नेपाली सेनाका तर्फबाट प्रतिनिधि
चन्द्रकुबेर खापुङ, पूर्वप्रहरी महानिरीक्षक
दानबहादुर कार्की, प्रहरी महानिरीक्षक
राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक
हुतराज थापा, राष्ट्रिय अनुसन्धान विभाग पूर्वप्रमुख
जेनजी आन्दोलनकारी
पुरुषोत्तम यादव
सुदन गुरुङ लगायत र घाइतेहरु
