जापान जाने प्रशिक्षार्थी श्रमिकले भाषा परीक्षा दिनैपर्ने व्यवस्था खारेज

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबारसम्म जिट्को निर्देशिका खारेज भएको पत्र प्राप्त नभएको श्रम मन्त्रालयको स्पष्टोक्ति

पुस २३, २०८२

होम कार्की

The requirement for trainee workers going to Japan to take a language test has been abolished.

What you should know

काठमाडौँ — जापानमा प्राविधिक अभ्यासार्थीको हैसियतमा नेपाली श्रमिक पठाउन लागू गरिएको ‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका–२०६६ (जिट्को) खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयलाई मुख्यसचिव सुमनराज अर्यालले प्रमाणीकरण गरेका छन् । यससँगै अब नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान) ले जापान जाने प्रशिक्षार्थी श्रमिकको भाषा परीक्षा लिन पाउने व्यवस्थासमेत खारेज भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘सुशासन–व्यवस्थापन तथा सञ्चानलन ऐन, २०६४’ लाई टेकेर बनाएको जिट्को निर्देशिका आवश्यक नभएको भन्दै खारेज गर्न मन्त्रिपरिषद्मा पेस गरिएको थियो । ११ पुसमा मन्त्रिपरिषद् बैठ्कले जिट्को खारेज गर्ने निर्णय गरेको थियो । तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले सेवा प्रवाहमा ढिलासुस्ती, झन्झटिलो र महँगो भएको सुशासन–व्यवस्थापन तथा सञ्चालन ऐनमा टेकेर बनाइएको निर्देशिका, कार्यविधि र मापदण्ड पुनरावलोकन गर्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद्ले खारेज गरेको जापानको जिट्को निर्देशका प्रमाणीकरण भइसकेको छ : हेमराज अर्याल– प्रवक्ता, प्रधानमन्त्री कार्यालयमुख्यसचिवबाट जिट्को निर्देशिका खारेजको प्रमाणीकरण भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताए । ‘मुख्यसचिवबाट जिट्को निर्देशिका खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण भइसकेको छ,’ उनले भने, ‘यसको पत्र श्रम मन्त्रालयमा पठाउने तयारी छ ।’

श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबारसम्म जिट्को निर्देशिका खारेज भएको पत्र प्राप्त नभएको जनाए । जापान जाने प्रशिक्षार्थी श्रमिकको भाषा परीक्षा लिन पाउने व्यवस्थासमेत खारेज हुने भएपछि मुख्यसचिवलाई प्रमाणीकरण नगर्न जानले दबाब बढाएको थियो । जापान सहयोग नियोग (जाइका) को कार्यक्रमअन्तर्गत जापानमा अध्ययन गरेर फर्केका सरकारी उच्च कर्मचारीको समेत आबद्धता जानमा छ । जानका पदाधिकारीसहितका केही सरकारी उच्च पदाधिकारीले मन्त्रिपरिषद्कै निर्णय उल्ट्याउन मुख्यसचिवलाई दबाब दिइरहेका थिए ।

जिट्को निर्देशिकाअनुसार म्यानपावर कम्पनीबाट छानिएका श्रमिकको सूची वैदेशिक रोजगार विभागको सिफारिसमा भाषा परीक्षा दिन जानमा जानुपर्ने व्यवस्था छ । त्यसबापत जानले प्रतिश्रमिक तीन हजार रुपैयाँ शुल्क लिने गरेको छ । यसको शुल्क जान आफैंले निर्धारण गरेको हो । जानबाट परीक्षा पास गरेपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने व्यवस्था छ ।

जापान सरकारले भने जानबाट लिइएको भाषा परीक्षाको प्रमाणपत्र अनिवार्य खोज्ने गरेको छैन । रोजगारदाताको मापदण्ड पूरा गर्ने श्रमिक छनोट भएपछि जापानले प्रशिक्षार्थी श्रमिकको भिसा जारी गरिरहेको छ । तर, जापानको भिसा पाइसकेको अवस्थामा पनि भाषा परीक्षामा पास भएको जानको प्रमाणपत्र जारी नहुँदा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने गरेको छैन ।

यसको उदाहरण हुन्, स्याङ्जाका २५ वर्षीय रमेश गुरुङ । उनी जापानी भाषा तथा संस्कृतिसम्बन्धी परीक्षामा पटकपटक अनुत्तीर्ण भएका छन् । ‘मैले चार पटकसम्म परीक्षा दिएँ । गत ३० साउनमा परीक्षा दिएँ । फेल भएँ । त्यसपछि १९ भदौमा अर्को परीक्षा दिएँ । फेरि फेल भएँ । ५ र ३० असोजमा परीक्षा दिँदा पनि फेल भएँ । यो त अति नै भयो । हामी के विज्ञ बन्न पढ्न जाने हो ? सामान्य काम सिक्न जाने पो हो,’ उनले भने, ‘यहीबीचमा मेरो भिसाको म्याद नै सकियो । म भिसा भएर पनि जापान उड्न पाइनँ ।’

जापानमा अभ्यासार्थी श्रमिक पठाउन अब जिट्को निर्देशिका आवश्यक पर्दैन : पीताम्बर घिमिरे– प्रवक्ता, श्रम मन्त्रालयश्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा नेपाल र जापानबीच समझदारी भई सञ्चालित कार्यक्रम जिट्को सन् २०१७ देखि नै ‘टेक्निकल इन्टर्न ट्रेनी प्रोग्राम’ मा रूपान्तरण भइसकेको छ । ‘सोही कार्यक्रममार्फत हाल अभ्यासार्थी श्रमिक गइरहेको र त्यसमा उल्लिखित निर्देशका आवश्यक नहुने/नपर्ने हुँदा श्रमिक पठाउन कुनै बाधा नगरेको विषय जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

श्रम मन्त्रालयका अनुसार जिट्को निर्देशिका खारेज भएपछि जापान जान चाहने नेपाली श्रमिकका लागि थप सहजीकरण हुनेछ । यो निर्देशिकाअनुसार अभ्यासार्थी श्रमिकको उमेर १८ देखि ४० वर्ष हुनुपर्छ । उनीहरूसँग उद्योग मन्त्रालयअन्तर्गत निकायमा दर्ता भएका औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी, सामुदायिक संघसंस्था, होटल, पर्यटन व्यवसाय, सेवा तथा वस्तु उत्पादन व्यवसायमा काम गरेको अनुभव हुनुपर्छ । अभ्यासार्थी श्रमिक पठाउने अनुमति पाएका सूचीकृत म्यानपावर कम्पनीलाई प्रत्येक वर्षको जनवरीभित्र वैदेशिक रोजगार विभागमा नवीकरण गराइसक्नुपर्ने व्यवस्था थियो । इजाजत पाइसकेका सबै म्यानपावर कम्पनी सूचीकृत नभएसम्म जापानको अभ्यासार्थी श्रमिक पठाउन पाउन्नन् ।

गत आर्थिक वर्षमा जापानमा वैदेशिक रोजगारीका लागि १८ हजार ७ सय ४४ जना नेपाली गएका थिए । यसमा म्यानपावर कम्पनीमार्फत भने १५ सय ८१ जना गएका थिए । जापानले निर्दिष्ट दक्ष श्रमिक (एसएसडब्लू) मा नेपाली श्रमिक लैजान थालेपछि नेपाली श्रमिक बढ्न थालेका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully