कोशीमा सत्ता फेरबदलको गोलचक्करबीच कांग्रेसका प्रभावशाली नेता प्रदीपकुमार सुनुवार भने पटक–पटक गरी चारपटक मन्त्री बनिसकेका छन् ।
What you should know
विराटनगर — कोशी प्रदेशमा मंगलबार सरकार फेरबदल हुँदा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीपकुमार सुनुवार पुनः मन्त्री बनेका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा छैटौं पटक मुख्यमन्त्री फेरिएको कोशीमा सत्ता समीकरण जति पटक बदलिए पनि सुनुवार भने सधैं सत्ताकै वरिपरि देखिने गरेका छन् ।
मंगलबार गठन भएको मन्त्रिपरिषद्मा उनी भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् ।
प्रदेश सभाको दोस्रो कार्यकालमा हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की तीनपटक, कांग्रेसका उद्धव थापा दुईपटक र कांग्रेसकै केदार कार्की एकपटक मुख्यमन्त्री बनेका छन् । सत्ता फेरबदलको यही गोलचक्करबीच सुनुवार भने पटक–पटक गरी चारपटक मन्त्री बनिसकेका छन् ।
सुनुवार पहिलोपटक २०८० असार २२ मा उद्धव थापा मुख्यमन्त्री रहँदा मन्त्री बनेका थिए । त्यो कार्यकाल असार २२ देखि साउन १७ सम्म मात्रै सीमित रह्यो । त्यतिबेला एकीकृत समाजवादीका कमलप्रसाद जवेगु र सुनुवारलाई मन्त्रालय पछि तोक्ने सर्तमा मन्त्री बनाइएको थियो । तर, मन्त्रालय टुंगो नलाग्दै सरकार ढल्यो ।
सर्वोच्च अदालतको आदेशपछि २२ दिनमै पदमुक्त भएका थापा ६ दिनपछि पुनः मुख्यमन्त्री बनेपछि सुनुवारको मुहारमा पुनः उज्यालो पोतियो । थापा एकै महिनामा दुईपटक मुख्यमन्त्री बन्ने दुर्लभ कीर्तिमान बनाउने नेता पनि हुन् । थापाको पहिलो कार्यकाल विश्वासको मत लिने ३० दिने संवैधानिक समयसमेत पूरा हुन पाएन ।
सभामुख बाबुराम गौतमको छुट्टै समर्थनको हस्ताक्षरका आधारमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अन्तिम आदेश दिँदै सर्वोच्चले थापाको मुख्यमन्त्री नियुक्ति खारेज गरिदिएको थियो ।
दोस्रो पटक भने थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका थिए । कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थनमा उनी पुनः मुख्यमन्त्री बने । २०८० साउन १७ देखि भदौ २२ सम्म छोटो समय टिके पनि सुनुवारको जिम्मेवारी फेरिएन । दोस्रोपटक उनी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री बने ।
तेस्रोपटक कांग्रेसकै केदार कार्की मुख्यमन्त्री बनेपछि सुनुवार २०८० माघ २६ मा पुनः मन्त्री बने । त्यसबेला उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए । सत्ता साझेदारी, गुटगत सन्तुलन र अनुभवको नाममा उनलाई निरन्तरता दिइएको कांग्रेस नेताहरू बताउँछन् ।
अहिले चौथोपटक मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सुनुवार फेरि भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । कांग्रेसका एक नेताले भने, ‘अघिल्लोपटक सरकार केही दिन–महिनामै ढलेपछि सुनुवारले काम गर्न पाएनन्, त्यसैले फेरि अवसर दिइएको हो ।’
को हुन् प्रदीप सुनुवार ?
प्रदीपकुमार सुनुवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका प्रभावशाली नेता हुन् । उनी कांग्रेसको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिन्छन् । संगठन र सत्ता दुवै तहमा सन्तुलन मिलाउन सक्ने छवि भएका नेताका रूपमा उनी कोशीको राजनीतिमा स्थापित छन् ।
सुनुवार ओखलढुंगा क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । पार्टीभित्र अनुभव, केन्द्रसँगको पहुँच र सत्ता सहकार्यमा ‘सुरक्षित विकल्प’ मानिने भएकाले सरकार जति पटक फेरिए पनि उनी सत्ताकै घेराभित्र रहने गरेको कांग्रेस नेताहरू स्वीकार्छन् ।
तर, यही निरन्तरताले कोशी प्रदेशको सत्ता संरचना केही सीमित अनुहार र गुटवरिपरि मात्रै घुमिरहेको छ भन्ने प्रश्न पनि सँगसँगै उठ्न थालेको बारे भने कांग्रेस नेतृत्व बेखबरझैं देखिएको छ ।
