इराकी जेलमा परेका खड्काको एक वर्षपछि उद्धार

इराक बस्ने भिसाको म्याद सकिएपछि गुल्मीका प्रेमबहादुर खड्का पानी बेच्दाबेच्दै पक्राउ परेका थिए

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Khadka rescued after a year in Iraqi prison

काठमाडौँ — इराकको स्वशासित राज्य कुर्दिस्तानमा जेलमा परेका गुल्मीका प्रेमबहादुर खड्काको उद्धार भएको छ । गैरकागजात हैसियतमा कार्यरत खड्कालाई स्थानीय प्रहरीले अर्विलको निष्टिमान बजारमा पानी बेचिरहेको अवस्थामा पक्राउ गरेको थियो । 

‘म पानी बेच्दै थिएँ । मसँग इराकमा बस्ने भिसाको अवधि समाप्त भइसकेको थियो । प्रहरीले पक्राउ गरेपछि मेरो जिम्मा लिने कोही भएन । मसँगै पक्राउ परेका अरु देशका नागरिक पनि थिएँ,’ उनले भने,‘मसँग पक्राउ परेका अरु देशका नागरिक तुरुन्तै निस्कन पाए । म भित्रको भित्रै भएँ ।’

गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार खड्का जेलमा परेको सूचना गत अक्टोबर ३० मा मात्रै जानकारीमा आएको हो । ‘खड्का जेलमा परेपछि हामीले वकिल राख्यौँ । जेलबाट बाहिर निकाल्न वकिलले सबै भूमिका निर्वाह गरेको हो,’ उनले भने ।

प्रवासी नेपाली एकता समाज, इराक गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाज, नेपाल मगर संघ, वदरगामी क्याम्प, भीम तामाङ युनिटीलगायतको पहलमा वकिलको खर्च ५ सय डलर, कागजातविहीन अवस्थामा वसेको जरिवाना ५५० डलर जुटेको थियो । उनलाई स्वदेश फिर्ता गर्न लागेको हवाई टिकट र ट्राभल डकुमेन्टको खर्च भने गैरआवासीय नेपाली संघ इराकले बेहोरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully