जिल्ला प्रशासन कार्यालयमै सर्वदलीय तथा सर्वपक्षीय बैठक जारी
पर्सा — वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । सुरुमा सोमबार साँझदेखि मंगलबार बिहान ८ र त्यसपछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।
यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा स्थिति नियन्त्रणमा आउन सकेको थिएन । वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यु लगाइएको हो ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडका विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालयको आह्वानमा हाल जिल्ला प्रशासन कार्यालयमै सर्वदलीय तथा सर्वपक्षीय बैठक जारी रहेको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता तबरेज अहमदले बैठक हाल पनि जारी रहेको बताए । उनले बैठकमा सरोकारवालाहरूले आ-आफ्ना भनाइ राखिरहेको उत्पन्न जटिल परिस्थितिको सहजपूर्ण निकास निकाल्ने प्रयास पनि जारी रहेको बताए ।
