२४ भदौमा भागेका कैदीबन्दीमध्ये ५ सय भारतीय र सयभन्दा बढी तेस्रो मुलुकका
What you should know
काठमाडौँ — २४ भदौको प्रदर्शनको मौका छोपेर विभिन्न कारागार तथा सुधारगृहबाट भागेका ४ हजार ५४२ कैदीबन्दी अझै पक्राउ परेका छैनन् । फरार हुनेमा ६ सयभन्दा बढी विदेशी नागरिक छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार २४ भदौमा कारागार, बन्दी/सुधार गृह तथा अनुसन्धानका क्रममा हिरासतमा रहेका सहित १४ हजार ५५५ कैदीबन्दी र थुनुवा जेल तथा हिरासत कक्ष फोडेर भागेका थिए ।
प्रहरीका अनुसार फरारमध्ये हालसम्म १० हजार १३ जना मात्रै पक्राउ परेका छन् । फरार कैदीबन्दी फिर्ता नभएपछि गत २६ असोजमा कारागार व्यवस्थापन विभागले उनीहरूको विवरण सार्वजनिक गर्दै खोजबिनमा सहयोग गर्न अपिल गरेको थियो ।
विभिन्न अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, अदालतको आदेशमा पुर्पक्षका क्रममा जेलमा रहेका तथा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका हजारौं कैदीबन्दी र थुनुवा पक्राउ नभएपछि १० असोजमा गृह मन्त्रालयले ‘फरार कैदीबन्दी पक्राउ अभियान’ नै चलाएर काम गर्न ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।
गृहले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि रहने गरी सबै जिल्लामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गर्न निर्देशन दिएको थियो ।
त्यसपछि जिल्ला प्रशासनले कार्यदल नै गठन गरेर फरार बन्दी पक्राउ गर्न गोप्य अभियान चलाएका थिए । त्यस क्रममा १ हजार ९७४ जना पक्राउ परेका छन् । फरार साढे ४ हजारमध्ये भारतीय नागरिक कम्तीमा ५ सय र तेस्रो देशका सयभन्दा बढी छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणलाई देशभर अभियानका रूपमा सञ्चालन गरिएको बताए । ‘सुरक्षा निकायहरू यसमा गम्भीर भएर लागिरहेका छन्,’ उनले भने, ‘गृह मन्त्रालय र सुरक्षा निकायअन्तर्गतमा संयन्त्रमा कार्यरत कर्मचारीको मूल्यांकनको एउटा सूचकका रूपमा पनि कैदीबन्दी र हतियार नियन्त्रणको विषयलाई समेटिएको छ ।’
२४ भदौमा प्रदर्शन चर्किंदै गएपछि केन्द्रीय कारागार, नख्खु कारागार, बाँके, रौतहट, सिन्धुली, चितवन, मकवानपुर, कपिलवस्तु, कास्की, तनहुँ, कैलाली, कञ्चनपुर, नवलपरासी, सुनसरी, दाङ, महोत्तरीसहितका २८ कारागार र ९ बालसुधार गृहमा पनि तोडफोड र आगजनी हुनुका साथै १४ हजार ५५५ कैदीबन्दी र थुनुवा भागेका थिए ।
२३ र २४ भदौको आन्दोलनका क्रममा ३ प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाको ज्यान गएको थियो भने प्रहरीका १२ सय बढी हतियार, करिब १ लाख राउन्ड गोली पनि लुटिएका थिए । करिब ३ सय हतियार अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । लुटिएका हतियार र फरार कैदीबन्दीबाट सुरक्षा जोखिम उत्पन्न भएको स्वयं प्रहरीकै आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीका अनुसार फरार हुने नेपाली तथा विदेशी नागरिकहरू जबर्जस्ती करणी, लागूऔषध, सुन तस्करी, मानव तस्करी, अपहरण तथा शरीर बन्धक, डकैती, हत्या (कर्तव्य ज्यान), चोरी, राजस्व चुहावट, विदेशी मुद्रा तस्करीलगायत कसुरसँग सम्बन्धित छन् । फरार भारतीय नागरिक स्थलमार्गबाट भारत पुगिसकेको प्रहरी अधिकारीहरूको दाबी छ ।
त्यस्तै फरार विदेशी कैदीबन्दीको खोजीमा सहयोग गर्न प्रहरीले इन्टरपोलको पनि सहयोग मागेको छ । कैदीबन्दीको राष्ट्रियताअनुसार नेपालस्थित विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई पनि विवरण पठाइएको छ ।
गत २६ कात्तिकमा भारतको राजधानी दिल्लीमा भएको दुई देशका सीमा सुरक्षा प्रमुखहरूको बैठकमा पनि फरार कैदीबन्दीको खोजबिनको विषय उठेको थियो । नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंहाल सम्मिलित द्विपक्षीय सीमा बैठकमा जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी खोजबिनको विषयले प्रवेश पाएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपालका कारागार तथा बन्दीगृहबाट भागेका थुप्रै मानिस भारत छिरेको भन्दै उनीहरूलाई नियन्त्रणमा भारतीय पक्षको सहयोग मागेका थिए ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा औंल्याइएको छ । उनीहरूबाट समाजमा पनि अन्य अपराधका घटना घट्न सक्ने विषय पनि प्रहरीले औंल्याएको छ ।
फरार कैदीबन्दी र लुटिएका हतियार मुख्य चुनौतीका रूपमा किटान गर्दै सुरक्षा अधिकारीहरूले राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति, सुरक्षा निकायका आ–आफ्ना आन्तरिक बैठक, प्रदेश सुरक्षा गोष्ठी, जिल्ला सुरक्षा समितिलगायत संयन्त्रका बैठकमा पनि यो विषय उठान गर्दै आएका छन् । ‘हराएका हतियार/गोलीगट्ठा तथा फरार कैदीबन्दीको आडमा गिरोहले मुलुकमा सशस्त्र समूहको उदय गराउन सक्ने’ भन्दै प्रहरीले गृहमा पनि यो विषय उठाएको छ ।
