पुससँगै सुरु भएको बाक्लो हुस्सु र शीतलहरले तराईको जनजीवन प्रभावित भएको छ। दिनभरि काम गरेर छाक टार्ने परिवार भोकै बस्नुपर्ने बाध्यताले कठोर चिसोमा पनि मजदुरी गर्न बाध्य छन्।
What you should know
झापा, रौतहट, पश्चिम नवलपरासी, कपिलवस्तु, बर्दिया, वीरगन्ज, कञ्चनपुर — तीन सातादेखि बाक्लो हुस्सु र शीतलहरका कारण जाडोले तराईको जनजीवन प्रभावित भएको छ। पुसलागेयता घाम नलाग्दा विपन्न बस्तीका बासिन्दा बढी प्रभावित भएका छन्।
ज्यालामजदुरी गरेर परिवार धान्नेहरूले भोकै बस्नुपर्ने अवस्था आएकाे गुनासाे गर्न थालेका छन् भने अरुलाई पनि नियमित कामकाज गर्न सास्ती भइरहेको छ।
भारतको बिहारका अजवीन कुमार दुई वर्षदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापा खण्ड बिस्तारमा खटिएका छन्। दुई महिना अघिसम्म गर्मीमा मजदुरी गर्दा खलखली पसिना बग्थ्यो। अहिले चिसोले लगलग हुन थालेपछि फेरि गर्मी यामको प्रतीक्षामा बसेका छन्। उनका अनुसार पुस लागेपछि घाम दुर्लभ बनेकाे छ। बिहानै काममा निस्किँदा हात कठ्यांग्रिएर काम गर्नै मुस्किल हुने गरेको उनले बताए। सोमबार पनि राजमार्गमै काममा व्यस्त थिए । ‘घामको किरण जमिनमा परेको छैन,’ उनले भने, ‘झन्झन् चिसो बढिरहेको छ।’
राजमार्गमा अरु बेला जस्तो गाडीको चाप पनि छैन । चिसोका कारण बिहानैबाट काम गर्न गार्हो पर्ने उनले बताए । ‘आज त साढे ८ बजे काम गर्ने ठाउँमा आए,’ उनले भने, ‘काम नगरी नि हुँदैन । काम गर्दा पनि चिसोले हात–खुट्टा चल्दैनन् ।’ जाडो खप्न नसक्दा एक घण्टा ढिला काममा उनले बताए।
जाडोले खुलेर काम गर्न नसक्दा मेचीनगर–७ आयाबारीका गणेश राजवंशी पनि मर्कामा छन् । ई–रिक्सा चलाएर गुजारा गर्ने उनले कमाई घटेको बताए । हुस्सुसँगै चल्ने शीतलहरले रोजीरोटी खोसिने अवस्थामा पुगेको उनले दुखेसो गरे । ‘जाडोमा मान्छे पाउँदैन, प्रायः खाली नै कुद्नुपर्छ, सोचेजस्तो कमाई नि हुँदैन,’ उनले भने, ‘घाम लागेका बेला दिनमै आठ सयदेखि एक हजार रुपैयाँसम्म कमाई हुन्थ्यो । अहिले त आधा रकम पनि हुँदैन।’
हुस्सु लागेका बेला राजमार्ग अन्धकार जस्तै हुन्छ। टाढासम्म देखिँदैन। जसले गर्दा पछाडिबाट आउने ठूला गाडीले ठक्कर दिने पिर छ। ‘हुस्सु लागेका बेला हामी त बाटो राम्ररी देख्दैनौं ठूला गाडीले झन् के देख्थें,’ उनले भने, ‘ई–रिक्सा ढिलो कुद्ने हुँदा ठोक्काइदिन्छन् कि भन्ने पिर लाग्छ ।’
दिनभरि काम गरेर साँझ छाक टार्ने परिवारलाई जाडो छ भनेर आराम गर्न फुर्सद मिल्दैन। काम नगरेका दिन भोकै बस्नुपर्ने बाध्यताले कठोर चिसोमा पनि उनीहरू मजदुरी गर्न बाध्य छन्। कठ्यांग्रिने जाडोका बेला पनि मजदुरी गर्नुपर्ने बाध्यता रहेको बर्दियाको गुलरिया–१२ का ४५ वर्षीय लक्ष्मण थारुले बताए । ‘यस वर्ष अत्यधिक जाडो छ, कठ्यांग्रिने जाडोले हातखुट्टा नै चलाउन धौ हुन्छ, जाडोमा काम गर्न मुस्किल हुन्छ, तर के गर्ने ? नगरी उपाय पनि केही छैन,’ उनले भने, ‘चार जनाको परिवार पाल्ने जिम्मेवारी काँधमा छ, परिवारसँगै बसेर खान हैसियतले पुग्दैन, जति धेरै ठिही बढे पनि सखारै मजदुरी गर्न दौड्नैपर्छ ।’
यसअघि मजदुरी गर्न कहिले भारतको हिमाचल त कहिले बुटवल र चितवन जाने उनी यस वर्ष धेरै जाडो भएकोले जिल्लामा ज्याला मजदुरी गरेर गुजारा चलाइरहेको सुनाउँछन् ।
पुससँगै सुरु भएको जाडोले बर्दियाको जनजीवन प्रभावित छ । घाम लागेकाले मंसिरमा त्यति जाडो महशुस भएको थिएन। तर, पुससँगै बाक्लो हुस्सु र शीतलहरले अत्यधिक जनजीवन प्रभावित बनेको छ।
जाडोका कारण बजारमा चहलपहल न्यून भएको गुलरियास्थित न्यू बागेश्वरी सुनचाँदी पसलका सञ्चालक जय यादवले बताए । ‘पसलमा दिनभरि कुर्दासमेत कोही ग्राहक आउँदैनन्,’ उनले भने,‘पसल अगाडि दिनभरि आगो तापेर साँझ खाली हात घर फर्किन्छु।’
जाडोले रोजीरोटी नै खोसेको महसुस भइरहेको गुलरिया नगरपालिका–९ का अटोरिक्सा चालक राधे लोधले बताए । ‘चिसोमा बजारभरि अटो घुमाउँदा पनि पेसेन्जर पाइदैनन्,’ उनले भने, ‘पेसेन्जर नपाउँदा कमाई नभएर रोजीरोटी गुमेको जस्तै महसुस भइरहेको छ।’ जाडो बढेसँगै स्थानीय पालिकाले दाउरा, न्यानो कपडा वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। ‘अझैसम्म जाडोले समस्या परेको भनेर जनगुनासो प्राप्त भएको छैन,’ उनले भने।
पश्चिम नवलपरासीको बर्दघाट–६ का ५० वर्षीय महेन्द्र थारुको जग्गाजमिन छैन् । साहुले दिएको छुट कित्तामा झुपडी बनाएर बसेका छन्। मजदुरी र साहुको घरमा काम गरेर जीविका चलाउँछन् । एउटा सन्तान अपांग छन्। मजदुरी नगरी बिहान–बेलुका खान नपुग्ने महेन्द्रले बताए। २१ दिनदेखि शीतलहर चलेको छ। ‘घरबाहिर निस्कन सक्ने अवस्था छैन्,’ उनले भने, ‘लगाउने न्यानो कपडा पनि छैन् । तै पनि जाडो सहेर काम गर्नुपरेको छ।’
ज्याला मजदुरीकै भरमा घर चलाउने रौतहटको यमुनामाई गाउँपालिका–३ का राजु सहनीको अवस्था पनि कहाली लाग्दो छ। भौतिक निर्माणका काम भइरहेका क्षेत्रमा ज्यालादारी गर्ने उनलाई यसपटक शीतलहरले सताएको छ। लगलग काँपेर भए पनि काम गर्नुपर्ने बाध्यता छ । ‘बरु गर्मीमा काम गर्न सकिन्छ, पानी परेजस्तै शीतलहर चल्दा हात कठ्याङ्ग्रिएर काम गर्न सकिदैन,’ उनले भने, ‘काम नगरी बसेर के खाने, के कमाउने, काम गरौं गार्हो छ । घाम देख्न मुस्किल छ ।’
‘जाडोमा फेर्नेसम्म कपडा छैन’
कपिलवस्तु नगरपालिका–३ चोक बजारका ४३ वर्षीय पिन्टु गुप्ताले कपडा नफेरेको एक महिना भन्दा बढी भयो। उनले पहिरिएको कालो पाइन्ट र ज्याकेटमा मयलका पत्र बसेका छन्। फेर्ने कपडा नभएकाले धुन नपाएको उनले बताए । छिमेकी कान्छा श्रेष्ठले जाडोमा लगाउन एउटा पुरानो ज्याकेट दिएका थिए । बजारका एक जनाले कालो रंगको जिन्सको पाइन्ट दिएको उनले बताए । ‘धोएर फेर्न अर्को जोर कपडा छैन् । नयाँ लुगा किन्न पैसा छैन,’ उनले भने, ‘त्यही भएर जसोतसो दिन कटाइरहेको छु ।’
पछिल्लो २१ दिनदेखि खुला ठाउँमा कठ्याङ्ग्रिदै बसिरहेको उनले बताए। श्रीमती र छोराछोरीले छाडेर गएको पनि ७/८ वर्ष भयो । तौलिहवाको हाट बजार चोकमा घडी मर्मतको काम गर्ने उनले लगानी गर्ने पैसा नभएकाले सामान थप्न नसकेको बताए। उनले भने, ‘पुराना घडीहरू छन् । त्यसैका समान साटफेर गरेर मर्मत गर्छु । कहिलेकाँही त दिनमा ६०/७० रुपैयाँ कमाउन पनि मुस्किल पर्छ ।’
कमाएको दुई/चार पैसाले छाक टार्न ठिक्क हुन्छ। ओढ्ने–ओछ्याउने कपडा नहुँदा समस्या छ । ‘एउटा बाउ–आमाले दिएको खाट छ । त्यसैमाथि एक सरो च्यादर ओछयाएर पातलो बल्याङ्केट ओढेर रात बिताउने गरेको छु,’ उनले भने । बल्याङ्केट पनि गत वर्ष नगरपालिकाले दिएको हो । ‘दिन र रात कठ्याङ्ग्रिदै बिताउनु परिरहेको छ,’ उनले भने, ‘सोधखोज गर्न धेरै आउँछन् । तर, सहयोगी हात भेटाउन सकेको छैन् ।’ बुवा–आमाको मृत्यु भइसकेको उनले बताए । दुई दाजुभाइ छुट्टिएर बसेका छन् । ज्याला मजदुरी गर्न सक्दैनन्। अभावले पीडादायी जीवन बिताउनु परिरहेको उनले बताए।
तीन सातादेखि चलिरहेको शीतलहर र बाक्लो हुस्सुले रौतहटमा बालबालिका र बृद्धबृद्धा बिरामी पर्न थालेका छन्। मौसमका कारण बिरामी परेर चन्द्रपुर सरकारी अस्पतालमा दैनिक एक सय हाराहारी बालबालिका र बृद्धबद्धा उपचारका लागि आउने गरेका छन्। चन्द्रपुर अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले दैनिक एक सय हाराहारी बालबालिका र बृद्धबद्धा जचाउन आइरहेको बताए । ‘छाती, फोक्सोमा समस्या भएका दम रोगी र निमोनिया देखिएर बालबालिका आउने गरेका छन्,’ उनले भने,‘यस्तो बेला चिसोबाट बच्न उपयुक्त हुन्छ।’
जिल्लाका गौर, चन्द्रनिगाहपुर, गरुडालगायतका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप छ। चन्द्रपुर–८ स्थित डुमरिया, चन्द्रपुर– ९ स्थित चेतनगरको मुसहर, बृन्दावन नगरपालिकाको हरसाहास्थित डोम बस्ती, ईशनाथ र गौर नगरपालिकामा रहेका दलित समुदायका बस्ती चिसोले प्रभावित छन्।
जिल्लाभरिका बालबालिका विद्यालय आउन छाडेका छन। पठनपाठन प्रभावित हुन थालेपछि स्थानीय तहले तीन दिन विद्यालय बन्द गरेका छन्। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला विपद् व्यवस्थापन समितिले शीतलहरबाट मानवीय क्षति हुन नदिन चोक/चोकमा दाउरा वितरण र कम्बल वितरण गरिरहेको बताए। त्यस्तै जिल्लास्थित १८ वटै पालिका गाउँका चोक र बजार क्षेत्रमा दाउरा बाल्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।
सोमबार मध्यान्हपछि मधुरो घाम देखिँदा वीरगन्ज महानगरपालिका–१७ अलौंकी ७० वर्षीया नैना देवी घाम ताप्न भनी घरबाट बाहिर निस्किन् । ‘तीन दिनपछि लागेको घाममा शरीर तताउने तेज छैन,’ उनले भनिन्, ‘हामी जस्ता बृद्धबृद्धालाई त यस वर्ष शीतलहरले सार्है कष्ट दियो ।’
गत वर्ष यति लामो शीतलहर नभएको उनले बताइन् । ‘पोहोर त एक हप्ता बढी शीतलहर भएको थिएन, दिन बिराएर घाम लाग्थ्यो,’ उनले भनिन्, ‘यस वर्ष त अति नै भयो, दुई हप्तादेखि हड्डी नै कमाउने जाडो छ, आज घाम देखिए पनि भोलिदखि के हुने हो ?’
उनकी छिमेकी ५५ वर्षीया पानादेवी राम सोमबार घाममा पराल सुकाइरहेकी थिइन् । ‘हामी जस्ता गरिबका लागि पराल नै सबै थोक हो,’ उनले भनिन्, ‘भूइँमा ओछ्याएर सुत्न, राति ओढ्न र घुर ताप्न पनि परालले नै साथ दिने हो ।’ छोराबुहारी, नातिनातिना समेत गरी २५ जनाको संयुक्त परिवार रहेको पानादेवीको घरमा हरेक वर्ष हिउँदमा शीतलहर कटाउन सास्ती हुने गरेको छ।
अलौंको यो बस्तीमा दुई दर्जन बढी घर सबैको अवस्था उस्तै छ । जाडो छल्न बिपन्न बस्तीका बासिन्दा सरकारबाट आगो ताप्ने दाउरा, आङ छोप्ने कम्बल, न्यायो कपडाको आशा गर्छन्। तर अधिकांश बिपन्न बस्तीहरूमा यति बेला सरकारको उपस्थिति देखिँदैन ।
स्थानीय प्रशासनको पहलमा वीरगन्जका चोकहरूमा आगो ताप्न दाउरा वितरण गरिए पनि पर्याप्त छैन। पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट सशस्त्र प्रहरीले यस वर्ष शीतलहर सुरु भएदेखि वीरगन्जका चोकहरूमा क्षमताले भ्याएसम्म दाउराको व्यवस्था गरेको बताउँछन् ।
पश्चिम तराइमा दिनप्रतिदिन बढिरहेको चिसोका कारण सुकुम्बासी र विपन्न समुदाय बढी प्रभावित छन् । कञ्चनपुरमा पनि पुस पहिलो सातादेखि शीतलहर चलिरहेको छ । यस बीचमा एक/दुई दिनमात्र घाम लागे पनि आकाश खुलेको छैन । ‘गत वर्ष भन्दा यसपाली लामो अवधि शीतलहर चलेकाले समस्या भयो,’ महेन्द्रनगरका हरेन्द्र कोलीले भने, ‘घाम लागेन भने कसरी काम गर्ने भन्ने चिन्ता छ ।’
यस वर्ष लगातार तीन सातासम्म शीतलहर नराेकिएका कारण सर्वसाधारण बढी मारमा परेका हुन् । तराईमा पुस १ गतेदेखि सोमबारसम्म तीन/चार दिनमात्र घाम लागेको छ। जसले गर्दा कामकाजी मर्कामा परेका हुन् ।
रौतहटका नागरिक अगुवा केदार थापाले ५ वर्षपछि यति लामो शीतलहर चलेको बताए । ‘मधेशमा एक साता भन्दा लामो समय शीतलहर चलेको सम्झना छैन,’ उनले भने, ‘यसपटक हुस्सु र शीतलहर चल्यो, चिसो पनि अत्यधिक भयो ।’ धेरै वर्षपछि लामो अवधि शीत लहर चलेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोदसिंह रावतले बताए । ‘यसपटक हवाई यातायात ठप्प पनि भएको छैन,’ उनले भने, ‘तर, जनजीवन लामो समय प्रभावित बन्यो ।’ दिउँसो उडान नभएका दिन रातिसम्म एउटा जहाज भए पनि उडान/अवतरण भइरहेको उनले बताए ।
