इन्स्टाग्रामबाट विदेशी बटुलेर ललितपुरमा ‘ट्रान्स पार्टी’

६ विदेशीसहित ९ जना पक्राउ, भारतीय नागरिकले आयोजना गरेका थिए पार्टी ।

पुस २१, २०८२

गौरव पोखरेल

'Trans Party' in Lalitpur, attracting foreigners from Instagram

What you should know

काठमाडौँ — ड्रग्स, युवती अनि संगीतको ककटेल । कम्तीमा ३ दिन ३ रातसम्म निरन्तर मदहोस माहोल । ट्रान्स, रेभ, एसिड, म्युजिकल पार्टी – जे नाम दिए पनि उद्देश्य उही । छिमेकी देश भारतको पर्यटकीय सहर गोवा यस्ता पार्टीका लागि चर्चित छ, यद्यपि त्यहाँका अन्य सहरमा भएका यस्ता पार्टीमा प्रहरीले छापा मारेको खबर बेलाबेला आइरहन्छ ।

गोवाबाट हिप्पी संस्कृतिसँगै यो पार्टी नेपालतिर पनि सरेको छ । पछिल्ला वर्षहरूमा पार्टी भइरहेको हुन सक्ने अनुमान गरिए पनि प्रहरीको र्‍याडरमा पर्न सकेको थिएन । अधिकृतहरूका अनुसार, कहिले पोखरा, कहिले चितवनदेखि सिन्धुपाल्चोकको सुकुटेमा समेत यस्तो पार्टी भएको सूचना प्रहरीले पाउँथ्यो, तर त्यसमा संलग्नहरूलाई पक्राउ गर्न सक्थेन । यद्यपि, विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी), कोटेश्वरबाट बुधबार खटिएको टोलीले ललितपुरको गोदावरी नगरपालिका–२, बिशंखुनारायणमा चलिरहेको एउटा त्यस्तै पार्टीमा छापा मारेको छ ।

‘उनीहरूले त्यो पार्टीलाई म्युजिकल पार्टीको नाम दिएका रहेछन्, महमाया मन्त्र इभेन्टको नाममा ७२ घण्टासम्म चल्ने गरी सुरु भएको अन्डरग्राउन्ड म्युजिकल पार्टीमा छापा मारिएको हो,’ एनसीबी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइराला भन्छन्, ‘स्थानीय प्रहरीसँग समेत समन्वय गरेर गरिएको कारबाहीमा ६ विदेशी र ३ नेपाली पक्राउ परेका छन् ।’

पक्राउ पर्ने विदेशी नागरिकमा भारतको केरला घर भएका २१ वर्षीय केभिन जोसेफ, हैदराबादका २६ वर्षीय अभिराज कुथाडी, ग्रिसका २१ वर्षीय दिमिटोरियोस कटुस, भारतको केरला, कोची घर भएका २८ वर्षीय सादिक, २३ वर्षीय अस्विन अन्टु, २८ वर्षीय ब्यास्नभ के साजु छन् । प्रहरीले चितवनका ३० वर्षीय पुष्पराज परियार, मोरङका २५ वर्षीय मनसुस न्यौपाने र काठमाडौंका ४० वर्षीय आदित्य अर्याललाई समेत पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, यो पार्टीको आयोजना भारतीय नागरिकले गरेका हुन् । ‘उनीहरूले इन्स्टाग्राममार्फत मान्छेहरू जम्मा पारेर पार्टी गर्ने गरेका रहेछन्, यस्तो किसिमको पार्टी एकदमै सीमित व्यक्तिलाई मात्र थाहा हुने गरी गरिन्छ,’ एसएसपी कोइराला थप्छन्, ‘हाम्रो टोलीले त्यहाँबाट लागूऔषधसमेत बरामद गरेको छ ।’ विगतमा यस्ता पार्टीमा व्यक्तिहरूलाई भेला पार्न इन्टरनेटभित्रको छद्म संसार ‘डार्कवेब’ को प्रयोग गरिन्थ्यो । त्यसैले प्रहरीलाई पत्ता लगाउन हम्मेहम्मे पर्थ्यो ।

उनीहरूले प्रहरीबाट बच्न यस्ता कार्यक्रम आयोजना हुने ठाउँ परिवर्तन गरिरहन्थे । ‘नेपालमा यस्ता पार्टी हुन थालेको लगभग दुई दशकभन्दा बढी भइसक्यो, पहिले ‘डार्कवेब’ प्रयोग गर्ने गरिएकैले पत्ता लगाउन गाह्रो हुन्थ्यो,’ एनसीबीमा लामो समय काम गरेका पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, ‘अहिले चाहिँ सामाजिक सञ्जालबाटै पनि समूह बनाएर यस्तो पार्टी आयोजना गर्न थालेका रहेछन् ।’

'Trans Party' in Lalitpur, attracting foreigners from Instagramब्युरोबाट एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोलीले पार्टी भइरहेको रिसोर्टमा पुगेर एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) ६ वटा, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए एउटा र म्याजिक मसरुम ४ ग्राम बरामद गरेको छ । ट्रान्स पार्टीमा छापा मार्दा भएको लागूऔषधको यो बरामद एकदमै कम हो । ‘ठूलो परिमाणमा लागूऔषध हुन सक्ने सूचना पाएका थियौं, तर पुग्दा सोचेजति फेला परेन,’ ब्युरोका एक अधिकृतले भने, ‘सायद मुख्य कारोबारी त्यतिञ्जेल त्यहाँ नपुगेको हुन सक्छ ।’

अपरेसनमा खटिएका अधिकृतहरूका अनुसार, ब्युरोको टोली राति ११ बजेतिर पार्टी भइरहेको रिसोर्टमा पुगेको थियो । त्यतिबेला कोही खाना खाँदै थिए, कोही मधुरो संगीतमा आफ्नै सुरुमा नाचिरहेका थिए । ‘सायद नजिकै बाक्लो गाउँ भएकाले होला, हामी पुग्दा त्यस्तो चर्को आवाज थिएन,’ अपरेसनमा खटिएका एक अधिकृत भन्छन् । अधिकृतहरूका अनुसार, प्रायः यस किसिमको पार्टी जंगल, फार्म हाउस, एकान्तमा भएको घरमा आयोजना गरिन्थ्यो । तर, ललितपुरमा भएको पार्टी अरूभन्दा केही सामान्य प्रकृतिको थियो, प्रवेश अनुमतिको शुल्क पनि अरू पार्टीको भन्दा सस्तो थियो ।

एक्कासि सादा पोसाकमा प्रहरी अधिकृतहरू पुगेपछि पार्टीमा झुमिरहेका २० देखि ३० वर्षसम्मका युवा सतर्क भए । अधिकृतहरूका अनुसार, रिसोर्ट सञ्चालकले त्यहाँ कस्तो खाले पार्टी भइरहेको हो भन्ने भेउ नै पाएका थिएनन् । ‘हाम्रो टोलीले रेड गर्नेबित्तिकै ३०/३५ जना आत्तिए, सबैलाई एकपछि अर्को गर्दै जाँच गर्दा लागूऔषध बरामद भयो,’ ती अधिकृतले सुनाए, ‘ग्रिसका नागरिकको साथबाट म्याजिक मसरुम बरामद भएको थियो ।’

स्रोतका अनुसार, प्रहरी टोली रिसोर्टबाट निस्किने बेला उनी त्यहाँ पुगेका थिए । पाटनमा बस्दै आएका उनी कोही साथीले पार्टी छ भनेपछि त्यहाँ पुगेका थिए । शंका लागेर जाँच गर्दा लागूऔषध बरामद भएको अधिकृतहरू बताउँछन् । ‘उनीहरूले शंका नलागोस् भनेर न्यु एयर पार्टीको नाम दिएका रहेछन्, सहभागी हुने अधिकांश भारतीय नागरिक थिए,’ ती अधिकृतले भने, ‘तर, सहभागीमध्ये धेरैले एकअर्कालाई नचिनेको पाइएको छ ।’

पूर्वडीआईजी मल्लका अनुसार, नेपाली लागूऔषध प्रयोगकर्ताहरूले प्रायः एलएसडी र म्याजिक मसरुम प्रयोग गर्दैनन् । ‘त्यो बरामद भएकाले पनि यो पार्टी विदेशीलाई लक्षित गरेर गरिएको हुन सक्ने देखिन्छ,’ उनले भने, ‘यो दुवै औषधिले मानिसलाई हेलोसिनेट गराउने काम गर्छ, उत्तेजनामा ल्याउँछ ।’ उनका अनुसार, ब्युरोले विगतमा देशका विभिन्न स्थानमा रहेका नदी, खोला किनारमा हुने यस्ता पार्टीमा छापा मारेको थियो । अधिकृतहरूका अनुसार, विगतमा त्यस्ता पार्टीमा विदेशी नागरिकबाहेक नेपाली व्यापारिक घरानाका सदस्यदेखि कलाकारसम्म पुगेको सूचना आउँथ्यो । ‘ठमेलका कतिपय क्लबमा विदेशी डिजेलाई बोलाउने भनेर यस्ता पार्टी गरिएका सूचना पनि पहिले आएका थिए,’ ब्युरोका ती अधिकृत भन्छन्, ‘तर, असाध्यै गोप्य हुने हुँदा आन्तरिक सूचना नआउञ्जेल प्रहरीलाई अपरेसन गर्न सधैं गाह्रो हुन्छ ।’

प्रहरीले यसअघि २०७६ चैतको पहिलो साता पोखरा महानगरपालिका–२३, चापाकोटको एउटा कटेज नजिकको जंगलमा ट्रान्स पार्टीमा मस्त ६ विदेशीसहित एक नेपालीलाई पक्राउ गरेको थियो । उनीहरू मध्यरातिसम्म चर्को आवाजमा गीत बजाएर होहल्ला गर्दै गाँजा सेवन गरिरहेका थिए । त्यसबेला गाउँभरि हल्ला फैलिने गरी रातभरि पार्टी चलेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

२०७५ चैतमा प्रहरीले अर्घाखाँचीको बुङ्ची खोला बगरबाट पनि ४० जना विदेशी नागरिकलाई ट्रान्स पार्टी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । २०७३ मा काठमाडौंको हात्तीवन रिसोर्टमै ट्रान्स पार्टी भएको फेला परेको लागूऔषध ब्युरोको रेकर्ड छ । त्यसबेला प्रहरीले राति २ बजे पार्टी बन्द गराएको थियो भने लागूऔषध कारोबारको आरोपमा म्यानेजर र आयोजकसहित तीन जनालाई पक्राउ गरेको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully