गृहमन्त्री अर्यालले सोमबार नै सद्भाव कायम राख्न सम्बन्धित पक्षहरूसँग पनि छलफल गरेका थिए ।
काठमाडौँ — सरकारले धार्मिक सद्भाव कायम राख्ने गरी विशेष योजना लागू गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ ।
गृह मन्त्री ओमप्रकाश अर्याल र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले सोमबार २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट बैठक आयोजना गरी सामाजिक र सांस्कृतिक सद्भावमा खलल गर्ने जो–कसैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
अन्तरधार्मिक तथा सामाजिक सद्भाव कायम राख्न प्रदेश र स्थानीय तहसँग समेत समन्वय गरेर काम गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने जो–कसैलाई पनि कारबाहीको दायरामा ल्याउन र शान्ति–सुरक्षालाई बलियो बनाउन आवश्यक निर्देशन दिइएको बताए ।
गृहमन्त्री अर्यालले सोमबार नै सद्भाव कायम राख्न सम्बन्धित पक्षहरूसँग पनि छलफल गरेका थिए । प्रवक्ता काफ्लेका अनुसार गृहमन्त्री अर्यालले सोमबार मधेसी आयोग, मुस्लिम आयोग, थारु आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी तथा कर्मचारीसँग मन्त्रालयमै छलफल गरेका थिए । काफ्लेका अनुसार गृहमन्त्री अर्यालले मानवअधिकार आयोगका सचिव र अन्य आयोगका पदाधिकारीसँग छलफल गरी धार्मिक सद्भाव कायम राख्ने अभियान सञ्चालनमा सहयोग पुर्याउन अपिल गरेका थिए । सुरक्षा निकाय र प्रशासनलाई पनि सद्भावलाई टेवा पुर्याउने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।
