वीरगन्जमा मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु

मुस्लिम र हिन्दु समुदायबीचको प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा सोमबार साँझदेखि मंगलबार बिहानसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।

पुस २१, २०८२

शंकर आचार्य

Curfew in Birgunj until 8 am on Tuesday

What you should know

पर्सा — वीरगन्जमा स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । यसअघि सोमबार दिउँसो १ बजेदेखि जारी गरिएको निषेधाज्ञाका बीच दुवै पक्षले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेपछि स्थिति नियन्त्रण बाहिर जान थालेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यु लगाइएको हो ।

यस अवधिमा आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने र सुरक्षाकर्मीले त्यसो गरेको देख्नासाथ गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन पनि स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको हो ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शन गर्ने २६ जनालाई महानगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बताए । उनले हाल स्थिति नियन्त्रणमा रहेको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले दुवै समुदायका प्रदर्शनकारीलाई मुठभेड हुन नदिन कम्तीमा पाँच सय मिटरको दूरीमा राखिएको दाबी गरे । उनले निषेधाज्ञाबाट पनि स्थिति नियन्त्रणमा आउन नसकी सुरक्षा चुनौती बढेपछि कर्फ्यु लगाइएको बताएका छन् ।

मंगलबार बिहान साढे ८ बजे जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनकारी दुवै पक्ष र सरोकारवालासमेतको सहभागितामा सर्वपक्षीय बैठक राखिएको उनले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully