अझै पक्राउ परेका छैनन्, जेन–जी प्रदर्शनमा भागेका ४ हजार ५ सय ३० कैदीबन्दी

कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दीलाई २० असोजभित्र फिर्ता भइसकेको सार्वजनिक अपिल गरेकामा करीब १ हजार विदेशी नागरिक र ३ हजार ५ सय बढी नेपाली अझै पक्राउ परेका छैनन्।

पुस २१, २०८२

मातृका दाहाल

4,530 prisoners who escaped during Gen-G protests still not arrested

What you should know

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा २४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्। २४ भदौमा केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार ललितपुर, झुम्का कारागार सुनसरीसहित २८ कारागार र बालसुधारगृहबाट भागेकामध्ये एक तिहाई कैदीबन्दी अझै फरार छन्।

प्रहरीका हिरासत कक्षहरुबाट १४ हजार ५ सय ५५ कैदीबन्दी र थुनुवा भागेका थिए। त्यसमध्ये १० हजार १३ जना मात्रै पक्राउ परेका छन्। फरारमध्ये १ हजार बढी कैदीबन्दी विदेशी नागरिक हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न कारागार, बन्दी/सुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरीका हिरासत कक्षहरुबाट १४ हजार ५ सय ५५ कैदीबन्दी र थुनुवा भागेका थिए। त्यसमध्ये १० हजार १३ जना मात्रै पक्राउ परेका छन्। भागेकामध्ये केहीबाहेक अधिकांश विदेशी कैदीबन्दी फरार छन्। यसमध्ये केही आफैं कारागार फर्किएका हुन्। भागेका कैदीबन्दी फिर्ता हुन कारागार व्यवस्थापन विभागले १० असोजमा देशभरका जिल्ला प्रशासनलाई सर्कुलर गर्दै ‘अल्टिमेटम’ नै दिएको थियो। भागेका कैदीबन्दी २० असोजभित्र फिर्ता नआए थप सजायको भागिदार हुने चेतावनी दिएको थियो।

विभागले जिल्ला–जिल्लामा जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी खोजी तथा पक्राउ गर्न कारागार व्यवस्थापन विभागले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले पनि आ–आफ्ना संयन्त्रलाई फरार कैदीबन्दीको खोजीमा परिचालन गरेको थियो।

२४ भदौभन्दा अघिको अभिलेखअनुसार फर्की आएका र आउन बाँकी कैदीबन्दीहरुको अभिलेख अद्यावधिक गर्दै लैजाने, कारागार फर्किन कैदीबन्दीहरुलाई २० असोजभित्र कारागार फिर्ता हुन अपिल गर्ने र नभए कानुन अनुसार कारबाही हुने, त्यसका लागि शिघ्र सूचना प्रकाशन/प्रसारण गर्ने, फिर्ता हुन बाकी कैदीबन्दीहरुको विवरण अद्यावधिक गर्दै अरु जिल्ला–जिल्लामा गठित कार्यदललाई पनि पठाउने, खोजतलासका लागि सहज बनाउन विद्यालय/विश्वविद्यालय, टोल, क्लब, सार्वजनिक सवारी साधन, बसपार्क, मनोरञ्जनस्थल, सीमा नाका तथा आवश्यक देखिएका अन्य स्थानमा भागेका कैदीबन्दीको नामावली पठाउनुपर्ने गरी कार्यदेश तोकेको थियो। त्यसपछि चलाइएको अपरेसनका क्रममा करीब ४ हजार पक्राउ परेका हुन्। अपरेसन चलाउनु अघि करीब ६ हजार कैदीबन्दी नियन्त्रणमा लिइएकोमा कोही पक्राउ परेका र कोही आफैं कारागार फर्किएका थिए। हालसम्म २ तिहाई कैदीबन्दीलाई मात्रै कारागार फिर्ता गराइएको गृह मन्त्रालयले जनाएको छ।

फरार भएकामध्ये करिब १ हजार कैदीबन्दी विदेशी नागरिक हुन्। हत्या, बलात्कार, लुटपाट, बैंकिङ कसुर, सहकारी ठगी, वन्यजन्तु तस्करी, ठगी, भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर, अदालतको आदेशमा पुर्पक्षका क्रममा भएका र अनुसन्धानका क्रममा रहेका छन्। भागेका कैदीबन्दी भारततर्फ भाग्नसक्ने जोखिम औंल्याउँदै सुरक्षा निकायहरुले सीमा नाकामा पनि कडाई गरेपनि साढे ५ हजार अझै जेल बाहिरै छन्। २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि फरार कैदीबन्दी सुरक्षा चुनौतीका रूपमा रहने जोखिम सुरक्षा निकायहरुले आ–आफ्ना सुरक्षा प्रतिवेदनमा उल्लेख गरेका छन्। राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति, सुरक्षा निकायका आ–आफ्ना आन्तरिक बैठक, प्रदेश सुरक्षा गोष्ठि, जिल्ला सुरक्षा समितिलगायत संयन्त्रका बैठकमा पनि फरार कैदीबन्दीलाई ‘सुरक्षा चुनौती’का रूपमा राखिएको र अझै पनि यो जोखिमकै रूपमा रहेको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ।

२३ भदौको जेन–जी आन्दोलनमा भएको दमनको विरोधमा २४ भदौमा देशभर सरकारविरोधी प्रदर्शन भएको थियो। त्यस क्रममा प्रदर्शन भड्किएर हिंसाको रूप लिदा प्रहरी ब्यारेक/कार्यालय नै जलाइएका थिए। प्रहरीका इन्सास, एसएलआर र पेस्तोलसहितका १२ सयभन्दा बढी हतियार लुटिएका थिए। ती हतियारका करिब १ लाख राउन्ड गोली पनि प्रहरी अभिलेखबाट हराएका थिए। हराएका हतियार र गोलीगठ्ठा तथा कैदीबन्दीको आडमा गिरोहले मुलुकमा सशस्त्र समूहको उदय गराउन सक्ने जोखिम पनि प्रहरीले औंल्याएको थियो। आसन्न निर्वाचनमा पनि जेन–जी आन्दोलनमा भागेका कैदीबन्दी र लुटिएका हतियारको आडमा आपराधिक गतिविधि हुनसक्ने जोखिम छ।

सम्बन्धित समाचार

१४ हजार कैदीबन्दी फरार भएकामा ३ हजार पक्राउ

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully