बयानको पत्र बुझाउन गएको आयोगको टोली ओलीको लिखित बयान नै लिएर फर्कियो 

जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगमा ओलीको स्टेटमेन्ट आएको र अब स्थानहदबारे निर्णय लिइने बताए ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

The commission team that went to submit the statement letter returned with Oli's written statement.

काठमाडौँ — २३ र २४ भदौको घटनामा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् ।

जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगमा ओलीको स्टेटमेन्ट आएको र अब स्थानहदबारे निर्णय लिइने बताए । 

‘आयोगको टोलीले उहाँलाई बयान दिन उपस्थित हुनु होला भनी पत्र काटेको थियो । पत्र बुझेलगत्तै उहाँले आफ्नो भनाइ लिखित रुपमै दिएर पठाउनुभएको छ,’ आयोगका एक सदस्यले भने, ‘२३ र २४ गतेको घटनाबारे उहाँले भनाइ हामी अध्ययनकै क्रममा छौं ।’

प्रवक्ता शर्माले पनि आयोगको टोली ओलीको स्टेटमेन्ट लिएर फर्किएको स्वीकार गरे । आजै राष्ट्रिय मानवअधिकार आयोगले ओलीलाई बोलाएर सोधपुछ गरेको छ । 

यसअघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान नदिने भन्दै आएका थिए । आयोग भने जसरी पनि बयान लिने अडानमा थियो । 

दुवै पक्षको अडानका बीचमा मध्यमार्गी बाटोमा आयोगले लिखित पेस गरे पनि स्वीकार गर्ने संकेत पठाएको थियो । ओलीले पनि आफू लिखित रुपमा पेस गर्न भने तयार रहेको जवाफ पठाएका थिए । त्यसपछि आयोगको टोली आइतबार पत्र लिएर पुगेको थियो ।

जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई २३ र २४ भदौका घटना (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ । यस्ता घटना नदोहोरियोस् भनेर उपाय–सुझाव पनि दिन आयोगलाई भनिएको छ । जाँचबुझका क्रममा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिने, प्रमाण बुझ्ने, कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट प्रमाण आवश्यक भए बुझ्ने र कुनै व्यक्तिलाईलिखत वा विवरण पेस गर्न पनि आदेश दिन सक्ने अधिकार ऐनले दिएको छ । मागेको विवरण उपलब्ध नगराउने वा अटेर गर्नेलाई आयोगले कारबाही पनि सिफारिस गर्न सक्छ । अवहेलना गरे पाँच सय रुपैयाँ जरिवाना गर्न सक्ने अधिकार पनि आयोगलाईछ ।

 सम्बन्धित समाचार

सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान

जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी

कान्तिपुर

Link copied successfully