भद्रपुर नजिकिँदै गर्दा घरमाथिबाटै जहाज पूर्वतिर लागेपछि सबिनले स्वीच अफ गरेको मोबाइल खोले, घरमा फोन गरे र भने, ‘खाना तताउँदै गर्नु है, म ओर्लिन लागेँ ।’
What you should know
झापा — भद्रपुर नगरपालिका–१० का ४० वर्षीय सबिन जोगी निजी कामले काठमाडौं गएका थिए । काम सकेर अघिल्लो दिन नै घर फर्किने योजनामा थिए । तर, एक जना आफन्तले सँगै फर्किने आग्रह गरेपछि उनी शुक्रबारसम्म काठमाडौंमै रोकिए । यही निर्णयले उनलाई जीवनकै सबैभन्दा डरलाग्दो यात्रातर्फ धकेल्यो ।
शुक्रबार साँझ ७ बजे भद्रपुर फर्किने बुद्ध एयरको टिकट थियो । तर, जहाज डेढ घन्टा ढिलो गरी बल्ल उड्यो । आकाशमा सामान्य ‘टर्बुलेन्स’ त भइरहेकै थियो, त्यसैले खासै चिन्ता थिएन ।
राति करिब ९ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने सूचना एयर होस्टेसले दिँदा सबिनलाई ढुक्क महसुस भयो । भद्रपुर नजिकिँदै गर्दा घरमाथिबाटै जहाज पूर्वतिर लागेपछि उनले स्वीच अफ गरेको मोबाइल खोले, घरमा फोन गरे र भने, ‘खाना तताउँदै गर्नु है, म ओर्लन लागेँ ।’
तर, तलको दृश्य सामान्य थिएन । बाक्लो हुस्सु थियो । रनवे स्पष्ट देखिँदैनथ्यो । पाइलटले अरू बेलाभन्दा अलि परै जहाज अवतरण गर्न खोजे । अचानक जहाज जोरले हल्लियो । ‘बम्लिङ’ जस्तो आवाज आयो । ल्यान्डिङ गियर लागे पनि जहाज रोकिनुको साटो चिप्लिदै अगाडि बढिरह्यो ।
रनवे छेक्न बनाइएको फलामे तारजालीसमेत छिचोल्दै जहाज पूर्वतिर बढेपछि सबिनको मनले सोच्यो, ‘आज त अन्तिम दिन रहेछ ।’
तर, संयोगवश जहाज रनवेबाट करिब दुई–तीन सय मिटर पूर्वतिर रहेको कल्भर्टमा ठोक्किएर रोकियो । एक्कासि सबै बत्ती निभ्यो । अन्धकार छायो । यात्रुहरू कराउन, चिच्याउन थाले ।
‘सौभाग्य नै भन्नुपर्छ, जहाजमा आगो लाग्न पाएन,’ उनले भने । जहाजको इन्धन पोखिएर यात्रुको शरीरभरि लागेको उनले सुनाए । ‘त्यही बेला कसैले ढोका खोलिदियो,’ ४ डी सिटमा बसेका सबिन त्यो क्षण सम्झँदै भन्छन्, ‘ढोका खुलेपछि सबै जना ज्यान जोगाउन हाम फाल्न थाले । म पनि हाम फाल्न गएँ ।’
सबिनले पनि भीडसँगै हाम फाले । तर, दुर्भाग्य ! उनी जमिनमा झरेलगत्तै अरू पाँच–छ जना यात्रु उनीमाथि खसे । उनी भीडमा थिचिए । सास फेर्न गाह्रो भयो । शरीर चलाउन सक्ने अवस्था रहेन ।
‘उठ्नै नसक्ने जस्तो भयो,’ उनी भन्छन्, ‘तर जहाजमा आगो लाग्ला भन्ने डरले जसोतसो उठेर अलि पर भागेँ ।’
त्यसबेला अरू धेरै यात्रु पनि जहाज वरिपरि घाइते अवस्थामा लडिरहेका थिए । अन्धकार, हुस्सु र त्रासले पूरा क्षेत्र भयावह बनेको थियो ।
राति करिब १० बजेतिर सबिनलाई अस्पताल भर्ना गरियो । उनको पिठ्युँमा चोट लागेको छ । चिकित्सकका अनुसार मेरुदण्डमा केही दबाब परेको छ ।
स्थानीय ओम साई पाथिभरा अस्पतालको बेडमा पल्टिएका सबिन भन्छन्, ‘जसोतसो ज्यान बच्यो, त्यही ठूलो कुरा हो । पिठ्युँको दुखाइ त त्यस दुर्घटनाका अगाडि सामान्य लाग्दो रहेछ ।’
त्यो रातको दुर्घटनाले सबिनलाई जीवनको मूल्य बुझाइदियो । आज उनी त्यसलाई ‘दोस्रो जन्म’ जस्तै ठान्छन् ।
