भेनेजुएलामा अमेरिकी हमलाविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका हुन् ।

पुस २०, २०८२

दीपेन श्रेष्ठ

Protest in Kathmandu against US attack on Venezuela

What you should know

काठमाडौँ — भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौं प्रहरीका एसपी, प्रवक्ता पवन भट्टराईका अनुसार संयुक्त विद्यार्थी समूहबाट भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा बहुमत र अखिल क्रान्तिकारीका विद्यार्थीहरु रहेका छन् । प्रदर्शनमा आएकामध्ये केही विद्यार्थीहरु पक्राउ परेको समेत उनले बताए ।

Protest in Kathmandu against US attack on Venezuela 

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् । 

Protest in Kathmandu against US attack on Venezuela

अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्‍यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।

Protest in Kathmandu against US attack on Venezuela

अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्युयोर्कमा उनीमाथि मुद्दा चलाउने बताएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । करिब १० घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

दीपेन

Link copied successfully