भद्रपुरमा धसिएको बुद्धको एटीआर ३६ घन्टापछि सुरक्षित स्थानमा सारियो

विमानलाई सुरक्षित स्थानमा सारेसँगै धावनमार्गमा रहेको अवरोध हटेको छ ।

पुस २०, २०८२

सुरज कुँवर

Buddha's ATR that collapsed in Bhadrapur moved to a safe place after 36 hours

काठमाडौँ — भद्रपुर विमानस्थलको धावनमार्गबाट बाहिरिँदै खोल्सामा धसिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई अन्ततः ३६ घन्टापछि घटनास्थलबाट सुरक्षित स्थान (विमानस्थल भित्रै) सारिएको छ ।

शनिबार बिहान ११ बजेदेखि सुरु भएको विमानको उद्धार तथा स्थानान्तरण कार्य आइतबार बेलुकी साढे ९ बजे सम्पन्न भएको घटनास्थलबाट उद्धारमा खटिएका एक अधिकारीले जानकारी दिए ।

करिब १४ टन तौलको खाली जहाजलाई खोल्साबाट सार्न आइतबार बिहान ५२ टन क्षमताको मुख्य क्रेनसहित तीनवटा क्रेन परिचालन गरिएको थियो । उद्धार कार्यमा बुद्ध एयरका १८ जना प्राविधिक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसहित करिब ५०–६० जना जनशक्ति परिचालित थिए ।

Buddha's ATR that collapsed in Bhadrapur moved to a safe place after 36 hours

विमानलाई सुरक्षित स्थानमा सारेसँगै धावनमार्गमा रहेको अवरोध हटेको छ । प्राधिकरण स्रोतका अनुसार, अब भद्रपुर विमानस्थलबाट उडान तथा छोटो धावनमार्ग प्रयोग गरी भइरहेको अस्थायी सञ्चालनसमेत सहज हुने अपेक्षा गरिएको छ ।

विमान स्थानान्तरण कार्य सकिएपछि बीमा मूल्यांकन र औपचारिक रुपमा यो दुर्घटना छानबिन प्रक्रियाको कामकालागि बाटो खुला भएको छ ।

शनिबार राति काठमाडौं–भद्रपुर उडान पूरा गरी अवतरण गरेको बुद्ध एयरको एटीआर–७२ (माइक फोक्सट्रट) विमान धावनमार्गको छेउबाट बाहिरिँदै चौर पार गरेर खोल्सामा धसिएको थियो । प्राविधिक भाषामा यस घटनालाई रनवे एक्सकर्सन भनिन्छ । घटनापछि भद्रपुरमै रहेका साना क्रेनले विमान निकाल्न नसकेपछि आइतबार विराटनगरबाट ५२ टन भार उठाउने क्षमताको ठूलो क्रेन मगाइएको थियो । बुद्ध एयरले काठमाडौंबाट १८ जना प्राविधिकसहित उद्धार टोली अर्को एटीआर विमानमार्फत आइतबार भद्रपुर पठाएको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully