विमानलाई क्रेनमार्फत उचालेर खोल्सोपारि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।
What you should know
भद्रपुर, झापा — भद्रपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको एटीआर–७२ विमान हटाउन ५० टनको क्रेन प्रयोग गरिएको छ। शनिबार साना क्रेनबाट जहाज निकाल्ने प्रयास असफल भएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन झिकाएर विमान उठाउने काम भइरहेको छ।
उद्धारकर्मीका अनुसार, विमानलाई क्रेनमार्फत उचालेर खोल्सोपारि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।
भद्रपुर विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार, पूर्वी धावनमार्गको कुल लम्बाइ १,५०० मिटर भए पनि हाल २८ नम्बर विन्दुबाट करिब १ सय मिटर घटाएर मात्रै उडान सञ्चालन भइरहेको छ ।
'टेकअफ गर्दा अन्तिम बिन्दुसम्म जहाज पुग्छ, तर अवतरणमा भने १ सय मिटर छाडेर अवतरण गर्न अनुमति दिएका छौं,'उनले भने ।
दुर्घटनाग्रस्त विमान धावनमार्गको अन्तिम बिन्दुभन्दा करिब डेढ सय मिटर अगाडि खोल्सोमा धसिएको थियो । जोखिम न्यूनीकरणका लागि विमानभित्रका सबै ७२ सिट निकालेर चौरमा राखिएको छ भने करिब १ हजार २ सय किलो इन्धन सुरक्षित रूपमा डम्प गरिएको छ।
बुद्ध एयरले शनिबार काठमाडौंबाट १८ जना प्राविधिकसहितको उद्धार टोली अर्को एटीआर विमानमार्फत भद्रपुर पठाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसहितको टोली पनि घटनास्थल पुगेर प्रारम्भिक अवलोकन गरिसकेको छ।
शुक्रबार राति ९ बजेर ६ मिनेटमा काठमाडौं–भद्रपुर उडान पूरा गरी अवतरण गरेको उक्त विमान धावनमार्गबाट चिप्लिँदै चौर पार गरेर खोल्सोमा पुगेको थियो। प्राविधिक भाषामा यसलाई ‘रनवे एक्सकर्सन’ भनिन्छ, जुन नेपालको उड्डयन सुरक्षामा पहिचान गरिएको प्रमुख जोखिममध्ये एक हो।
घटनाका कारण धावनमार्ग अवरुद्ध हुँदा यति एयरलाइन्सको एटीआर विमान १८ यात्रुसहित भद्रपुरमै रोकिएको थियो। विमानस्थल केही समय पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू प्रभावित भएका थिए।
उक्त उडानका क्याप्टेन शैलेष लिम्बू र को–पाइलट सुसान्त श्रेष्ठलाई नियमानुसार ग्राउन्डेड गरिएको छ। बुद्ध एयरका अनुसार, दुवैको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ र आगामी छानबिन समितिले बयान लिनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका निमित्त प्रमुख विक्रमराज गौतमका अनुसार, घटनाको छानबिन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुवै तहबाट हुनेछ।
'पहिलो प्राथमिकता उद्धार र विमानस्थल सञ्चालन थियो, अब अनुसन्धानले कारण र कमजोरी पत्ता लगाउनेछ,'उनले भने।
