निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले भने, ‘लोकतन्त्रमा संसद् शून्यताको अवस्था स्वीकार्य हुँदैन, वर्तमान सरकारले अविलम्ब निर्वाचन गराएर जनताका प्रतिनिधिलाई देश जिम्मा लाउनु पर्छ ।’
What you should know
धनकुटा — नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारका सामु निर्वाचनबाहेक विकल्प नरहेको बताएका छन् ।
धनकुटामा पार्टीको एकता सन्देश सभालाई सम्बोधनपश्चात् कान्तिपुरसँगको कुराकानीमा नेता नेपालले सरकारले फागुन २१ का लागि तोकिएको निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर समयमै सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका हुन् ।
नेता नेपालले तोकिएको मितिमा निर्वाचन गर्ने कुरामा तलमाथि नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेता नेपालले भने, ‘सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर मुलुकको प्रणालीगत सुधार तथा विगतका बेथिति सच्याउने कुरामा लाग्नु पर्छ ।’ जनस्तरमा निर्वाचन नहुने हो कि भन्ने द्विविधा छ नि भन्ने प्रश्नमा नेता नेपालले आफूले निर्वाचन हुँदैन भन्दै हिँड्न नहुने तर निर्वाचनका लागि वातावरण बनाउने काम सरकारको भएको जिकिर गरे ।
‘निर्वाचन हुँदैन भन्दै मैले प्रचार गर्न मिल्दैन, निर्वाचनको वातावरण बनाउने काम सरकारको हो,’ उनले भने, ‘लोकतन्त्रमा संसद् शून्यताको अवस्था स्वीकार्य हुँदैन, कुनै पनि किसिमको अधिनायकवाद आफूहरूलाई स्वीकार्य छैन, वर्तमान सरकारले निर्वाचन गराएर जनताका प्रतिनिधिलाई अविलम्ब देश जिम्मा लाउनु पर्छ ।’
लोकतान्त्रिक शासन र परिपाटीका लागि संसद् अनिवार्य भएकाले प्रतिनिधिसभाको निर्वाचन अपरिहार्य रहेको उनको भनाइ थियो । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि कुनै फरक पार्टीसँग सहकार्यको कुरा नभएको र आफूले कसैप्रति पूर्वाग्रह पनि नराखेको स्पष्ट पारे । भने, ‘एक हातले मात्रै ताली बज्दैन, तालि बज्न दुई हात नै चाहिन्छ ।’
एमालेसँगको चुनावी सहकार्यबारे आफ्नो पार्टीले नसोचेको तर कुनै कुरालाई इन्कार पनि नगर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल, नेकपाका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ ‘जुली’ लगायतले एकता सन्देश सभालाई सम्बोधन गरेका थिए ।
नेता हरिबोल गजुरेलले सानाठूला सबै कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने अभियानमा आफूहरू जुटेको बताए । उनले विगतमा पार्टी संचालनका क्रममा कतिपय विषयमा ढंग नपुगेको भन्दै आत्मालोचित भएर अघि बढ्नुपर्ने जनाए । सभाअघि नेकपाले धनकुटा सदरमुकामा र्याली आयोजना गरेको थियो ।
