आशिफ शाहले फिर्ता लिए समानुपातिक उम्मेदवारी, काठमाडौं-५ बाट प्रत्यक्ष उठ्ने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरमा अग्रपंक्तिका रहेका शाहले जनभावनाअनुरूप उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Ashif Shah withdraws proportional representation candidacy, announces direct candidacy from Kathmandu-5

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा रहेका आसिफ शाहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउँदै उनले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । 

राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको भन्दै उनले तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मनभित्र जीवित रहेको उल्लेख गरेका छन् । 'जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,' उनले भनेका छन् ।

साथै शाहले प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट रहेको उल्लेख गर्दै काठमाडौं ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको पनि घोषणा गरेका छन् ।

आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।

'म राजनीतिमा यदि आउनैपरे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको  थिएँ। तर साथीहरूको सुझाव थियो— देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो,' उनले भनेका छन् ।

त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रिया र रास्वपाका कार्यकर्ताहरूको भावनाले गहिरो आत्ममन्थन गर्न बाध्य बनाएकाले समानुपातिक उम्मेदवारी फिर्ता लिएको उनले स्पष्ट पारेका छन् ।

अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरकाे १ नम्बरमा थिए । उनी रास्वपा पूर्वसांसद असिम शाहका दाइ हुन् । सहमतिको बिन्दुमा पुग्नुअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उनकै कार्यालयमा छलफल गरेका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully