सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन् । त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न रहेका छन् ।
काठमाडौँ — सन् २०२५ मा नेपालको अध्यागमनले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ ।
प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक रहेको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए ।
भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक अभिलेख भएका, सुरक्षा खतराको कारण वा विगतमा पटक पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई अध्यागमनले नेपालमा प्रवेश दिँदैन ।
यसैगरी विश्वका विभिन्न ७७ मुलुकबाट २,७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन् । विभागका प्रवक्ता ढकालका अनुसार सबैभन्दा बढी मलेसियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, युनाइटेड अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन् । सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भइ कैद भुक्तान गरेको, भिसा नलिइ गैरकानुनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानुन विपरीतको कार्य गरेको लगायतका कसुरमा डिपोर्ट गरिएको उनले बताए ।
सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन् । त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न रहेको विभागका प्रवक्ता ढकालले बताए । भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोबार, मानव बेचविखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसुरजस्ता अपराधमा सजाय भुक्तान गरी डिपोर्ट भएका हुन् ।
