नेपाल नागरिक उड्डयन प्राधिकरणले भर्खरै सार्वजनिक गरेको ‘एभीएसन सेफ्टी रिपोर्ट २०२५’ नवौं वार्षिक प्रतिवेदनले हवाई दुर्घटनाहरूको स्वरूप फरक भए पनि तिनका मूल कारण भने प्रायः उस्तै देखिने उल्लेख गरेको छ– उडान क्रममा नियन्त्रण गुम्नु र विमान नियन्त्रित अवस्थामा भू–भाग (सिफिट) सँग ठोक्किनु ।
What you should know
काठमाडौँ — नेपालको उड्डयन क्षेत्र विश्वमै सबैभन्दा जोखिमपूर्णमध्ये पर्छ । अग्ला हिमाल, छोटा धावनमार्ग, अचानक बदलिने मौसम र सीमित पूर्वाधारका कारण यहाँको आकाशमा उडान आफैंमा चुनौतीपूर्ण छ । यही कारणले विगत दशकभर नेपालले पटक–पटक विमान तथा हेलिकोप्टर दुर्घटनाको पीडा भोग्दै आएको छ ।
दुर्घटनाहरूको स्वरूप फरक भए पनि तिनका मूल कारण भने प्रायः उस्तै देखिन्छन्– उडान क्रममा नियन्त्रण गुम्नु र विमान नियन्त्रित अवस्थामा भू–भाग (सिफिट) सँग ठोक्किनु । सन् २०२४ लाई समेटेर नेपाल नागरिक उड्डयन प्राधिकरणले भर्खरै सार्वजनिक गरेको ‘एभीएसन सेफ्टी रिपोर्ट २०२५’ नवौं वार्षिक प्रतिवेदनले यिनै विषयलाई उठान गरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एक दशकमा भएका अधिकांश घातक दुर्घटनाको कारण ‘लस अफ कन्ट्रोल इन–फ्लाइट’ (उडान क्रममा नियन्त्रण गुम्नु) र ‘कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन-सीफिट’ (नियन्त्रित अवस्थामा पहाड वा जमिनसँग ठोक्किनु) रहेका छन् । फिक्स्ड–विङ विमान दुर्घटनामा मृत्यु दरको ६४ प्रतिशत उडान नियन्त्रण गुम्दा र ३४ प्रतिशत भू–भागसँग ठोक्किँदा भएको देखिन्छ । हेलिकोप्टर दुर्घटनामा भने ७२ प्रतिशत मृत्युदर कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेनका कारण भएको छ । यी तथ्यांकले नेपालको उड्डयन जोखिम केवल प्राविधिक नभई भौगोलिक र सञ्चालन प्रणालीसँग गहिरो रूपमा जोडिएको देखाउँछन् ।
सन् २०२४ मा मात्र ३४९ वटा उड्डयनसम्बन्धी घटना प्राोधिकरणमा दर्ता भए । यद्यपि यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो, तर यसले दुर्घटना जोखिमपूर्ण रूपमा घटेको संकेत गर्दैन । बरु सुरक्षा रिपोर्टिङ प्रणाली बलियो बन्दै जाँदा घटनाको सूचना बाहिर आउन थालेको प्राधिकरणको व्याख्या छ ।
२०२४ मा दर्ता भएका घटनामध्ये दुईवटा दुर्घटना, १६ वटा गम्भीर घटना र बाँकी सामान्य सुरक्षा घटना रहेका छन् । फिक्स्ड–विङ विमानमा दुर्घटना दर सामान्य रूपमा बढेको देखिए पनि हेलिकोप्टर उडानमा भने मृत्युदर घट्नु सकारात्मक संकेतका रूपमा लिइएको छ ।
दुर्घटनाको विश्लेषण गर्दा केवल पाइलटको गल्ती वा मौसमलाई दोष दिनु पर्याप्त हुँदैन । प्रणालीगत कमजोरी, विमानको प्राविधिक अवस्था, हवाई मार्गको व्यवस्थापन, विमानस्थलको क्षमता, प्रशिक्षण स्तर र नियामक निगरानी सबै यससँग जोडिएका विषय हुन् । यही कारण प्राधिकरणले दुर्घटनापछि कारबाहीभन्दा अघि जोखिम पहिचान र रोकथामलाई प्राथमिकता दिन थालेको छ ।
यसै सन्दर्भमा ‘सुरक्षा व्यवस्थापन प्रणाली’ (सेफ्टी म्यानेजमेन्ट सिस्टम-असएमएस) लाई उड्डयन सुरक्षाको मेरुदण्ड मानिन्छ । एसएमएस भनेको दुर्घटना भएपछि खोज्ने होइन, दुर्घटना हुनुअघि नै सम्भावित जोखिम पहिचान गरी नियन्त्रण गर्ने प्रणाली हो । प्राधिकरणले सन् २०१८/१९ यता एयरलाइन्सहरूमा एसएमएसको कार्यान्वयन स्तर निरन्तर मूल्यांकन गर्दै आएको छ । पछिल्ला अडिटले एयरलाइन्सहरूमा सुरक्षा चेतना र व्यवस्थापन क्रमशः सुधारोन्मुख देखिएको जनाएका छन् ।
नेपालको उड्डयन क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेकै भूगोल हो । दुर्गम विमानस्थलहरूमा विमानको प्रकार सीमित हुनु, धावनमार्गको लम्बाइ छोटो हुनु र पहाडी भेगमा उडान मार्ग जटिल हुनु जोखिम बढाउने प्रमुख कारण रहेको प्रतिवेदनमा भनिएको छ ।
सन् २०१८ मा कालिकोटमा भएको एक घातक दुर्घटनापछि प्राधिकरणले एकल इन्जिन भएका विमानको उडानमा प्रतिबन्ध लगाउनु यसै चुनौतीको प्रतिफल थियो ।
अर्कोतर्फ, दुर्गम भेगमा सडक पहुँच कमजोर भएकाले उद्धार, राहत र मेडिकल इभ्याकुएसनका लागि हेलिकोप्टर उडान अपरिहार्य बनेको छ, जसले जोखिमलाई अझ जटिल बनाएको छ ।
यिनै जोखिम र सुधार प्रयासलाई सार्वजनिक रूपमा मूल्यांकन गर्न प्राधिकरणले प्रत्येक वर्ष ‘एभिएसन सेफ्टी रिपोर्ट’ प्रकाशित गर्दै आएको छ ।
उड्डयनकर्मीले यो प्रतिवेदनलाई केवल तथ्यांकको संग्रह नमानेर, नेपालको उड्डयन सुरक्षाको ऐनाका रुपमा हेर्दछन् । सन् २०२४ लाई समेटेर सार्वजनिक गरिएको ‘एभिएसन सेफ्टी रिपोर्ट २०२५’ क्यानको नवौं वार्षिक प्रतिवेदन हो । यसअघि ८ वटा प्रतिवेदन सार्वजनिक भइसकेका छन् । जसले दुर्घटनाको अवस्था, कारण, जोखिम विश्लेषण, सुरक्षा कार्यक्रम र सुधारका प्रयासलाई समेट्दै आएको छ ।
यो प्रतिवेदन अनिवार्य तथा स्वेच्छिक रिपोर्टिङ प्रणालीबाट संकलित तथ्यांक, अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को युनिभर्सल सेफ्टी ओभरसाइट अडिट, तथा विमान दुर्घटना अनुसन्धान आयोगका प्रतिवेदनमा आधारित हुन्छ । प्राधिकरणका सेफ्टी इन्सपेक्टरहरुका अनुसार प्रतिवेदन सार्वजनिक गर्नुको उद्देश्य कुनै एक व्यक्तिलाई दोष देखाउनु नभई, उड्डयन क्षेत्रमा पारदर्शिता बढाउनु र सबै सरोकारवालामा साझा सुरक्षा संस्कृतिको विकास गर्नु रहेको छ ।
नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका १९२ सदस्य राष्ट्रमध्ये एक हो । सन् २०३० सम्म उड्डयन क्षेत्रमा शून्य मृत्युदर हासिल गर्ने विश्वव्यापी लक्ष्यमा नेपालले पनि प्रतिबद्ध जनाएको छ । यही लक्ष्यअनुसार राष्ट्रिय उड्डयन सुरक्षा योजना २०२३–२०२५ कार्यान्वयनमा छ । जसले धावनमार्ग अतिक्रमण, मध्य आकाशीय विमान टक्राब, धावनमार्गमा वन्यजन्तु-चरा ठोक्किनु जस्ता जोखिमलाई प्राथमिकतामा राखेको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालको आकाश सुरक्षित बनाउने यात्रा सजिलो छैन । ‘दुर्घटनाबाट पाठ सिक्ने, जोखिम पहिचान गर्ने र तथ्यांक सार्वजनिक गर्ने अभ्यासले उड्डयन सुरक्षामा नयाँ संस्कृतिको संकेत दिएको छ । चुनौती ठूलो भए पनि सुधारको बाटो खुलेको छ– अब प्रश्न, त्यो बाटोमा कति दृढतापूर्वक हिँडिन्छ भन्ने हो,’ उपप्रबन्धक भुलले भने ।
