ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

तत्कालीन प्रधानमन्त्री ओलीको पालो आएपछि आयोग पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका छन्।

पुस १८, २०८२

दुर्गा दुलाल

Commission of Inquiry prepares to call Oli for statement

What you should know

काठमाडौँ — २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ । 

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो । अब तत्कालीन प्रधानमन्त्रीको पालो आएकाले कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरिएको आयोगका पदाधिकारीले बताए ।

‘ओलीले आयोगलाई नै अस्वीकार गर्ने र बयान दिन नजाने अभिव्यक्ति पटक–पटक दिँदै आएकाले उनी आयोगमा उपस्थित नै नभए वा बयान दिन इन्कार गरे के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल भयो,’ उनले भने । ती पदाधिकारीका अनुसार प्रधानमन्त्री कार्कीले संविधान र कानुनअनुसार गठन भएको आयोगमा कसैले बयान दिन्नँ भन्न नमिल्ने उल्लेख गर्दै कानुनअनुसार अघि बढ्न सुझाव दिएकी छन् ।

यस सन्दर्भमा आयोगलाई सरकारको सहयोग चाहिए गृहमन्त्री ओमप्रकाश अर्यालसँग समन्वय गर्न र आफूलाई जानकारी गराउन पनि प्रधानमन्त्री कार्कीले बताएकी छन् । 

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बयानमा उपस्थितिका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई छिट्टै पत्र काटिने बताए । ‘तत्कालीन प्रधानमन्त्री ओलीजीलाई बोलाउने क्रममा छौं । आयोगले अहिलेसम्म बोलाएका सबै आउनुभएको छ, उहाँ पनि आउनुहुन्छ भन्ने आयोगको विश्वास छ,’ उनले भने । ओली नआए के गर्ने तयारी छ भन्ने प्रश्नमा कार्कीले भने, ‘भोलिको कुरा भोलि नै हुन्छ ।’ 

आयोगका अनुसार बयानमा ओलीलाई सोधिने प्रश्न तयार भइसकेको छ । २३ भदौमा गरिएको दमन, सुरक्षाको तयारीलगायत विषयमा प्रश्न गरिने आयोगले जनाएको छ । आयोगले सामाजिक सञ्जाल बन्द गर्नुको कारण, प्रदर्शनका लागि जेन–जी युवाले अनुमति लिएकामा सरकार जानकार थियो कि थिएन जस्ता प्रश्न ओलीलाई सोधिने आयोगका एक सदस्यले बताए । 

२४ भदौको घटना कसरी भयो, यसको जिम्मेवार को हो, संसद् भवनदेखि राष्ट्रपति कार्यालयसम्म आगजनी हुँदा किन सुरक्षा दिन सकिएन जस्ता प्रश्न पनि ओलीलाई सोध्ने तयारी छ । फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि तत्कालीन गृहमन्त्रीसम्मको बयानका क्रममा उठेका प्रश्नहरूलाई ध्यानमा राखेर ओलीका लागि प्रश्नावली बनाइएको आयोगका ती सदस्यले बताए । 

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगमा विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी सदस्य छन् । तीन महिना समय पाएको आयोगले काम पूरा नगरेपछि एक महिना म्याद थपिएको छ । आयोगले अब तीन साताभित्र बयानसमेत सकेर प्रतिवेदन तयार गर्नुपर्नेछ । आयोगका अध्यक्ष कार्कीले थपिएको एक महिनाभित्रै सरकारलाई प्रतिवेदन बुझाइने बताए ।

 आयोगले सुरुमा क्षतिको विवरण संकलन गरेको थियो । त्यसपछि फिल्डमा खटिएका सुरक्षाकर्मीको बयान लिइएको थियो । आयोगले दोस्रो चरणमा सम्बन्धित अधिकृत हुँदै कार्यालय प्रमुखसम्मको बयान लिएको थियो । तेस्रो चरणमा प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान लिएको थियो । 

चौथो चरणमा प्रशासनिक नेतृत्वमा रहेका तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, संसद्का महासचिव पदमप्रसाद पाण्डेय र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो । पाँचौं चरणमा आयोग राजनीतिक तहमा प्रवेश गरेको थियो । 

के ओलीले बयान दिन्छन् ?

आयोगका अध्यक्ष कार्कीले पहिले नै आफ्नो धारणा सार्वजनिक गरेकाले पूर्वाग्रही हुने तर्क तत्कालीन प्रधानमन्त्री ओलीले गर्दै आएका छन् । जेन–जीले नभई अराजक समूहले घुसपैठ गरेर विध्वंस मच्चाएको उनको टिप्पणी छ । आयोगमा आफूले बयान दिन आवश्यक नै नभएको अभिव्यक्ति पनि उनले दिएका छन् । 

 राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग भएको बैठकमा सहभागी भएका कारण ओलीले आयोगलाई सहयोग गर्ने सरकारको विश्वास छ । सरकारका प्रवक्ता जगदीश खरेलले एक साताअघि गुन्डु पुगेरै ओलीलाई भेटेका थिए । ओली पत्रलाई आधार मानेर बयान दिन नआए कानुनसम्मत रूपमा अघि बढ्ने आयोगका पदाधिकारीले बताउँदै आएका छन् । 

ओली बयान दिन उपस्थित नभए सुरक्षाकर्मी लगाएर पक्राउ गर्नेभन्दा आपसी सहमतिमै बयान गराउने आयोगको तयारी छ । सरकार पनि यसलाई थप विवादित बनाउनेभन्दा पनि समन्वयमा काम गर्ने पक्षमा देखिन्छ । आयोगका पदाधिकारी नै ओली निवास गुन्डु जाने वा लिखित बयान लिने विकल्प छन् । ओली बयान दिन नआए के गर्ने भन्नेमा सरकारसँग छलफल र समन्वय गरिने आयोगका एक सदस्यले बताए । 

आयोगले छानबिनमा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिन सक्छ । छानबिनका लागि कुनै व्यक्तिलाई लिखत पेस गर्ने आदेश दिन, प्रमाण बुझ्न र सरकारी अड्डा तथा अदालतबाट कागजात र नक्कल मगाउन सक्छ । जाँचबुझ ऐनको दफा ४ ले जाँचबुझसँग सम्बन्धित लिखत वा प्रमाण छ भन्ने लागे खानतलासी लिन र फेला परेको वस्तु कब्जा गर्न सक्ने अधिकार पनि आयोगलाई दिइएको छ ।

कार्की नेतृत्वको जाँचबुझ आयोगलाई सरकारले पाँच वटा कार्यादेश दिएको छ । मुख्य कार्यादेश ‘भौतिक तथा मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय दिने’ छ । प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारण पत्ता लगाउने, यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय सुझाउने र प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने पनि आयोगलाई जिम्मेवारी छ ।

बयानपछि लेखकको स्थानहद फुकुवा 

जाँचबुझ आयोगले पत्र लेखेपछि तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि गत सोमबार गएका थिए । त्यो दिन करिब तीन घण्टा बयान दिने क्रममा लेखकले लिखित र आयोगले सोधेका केही प्रश्नमा मौखिक जवाफ दिएका थिए । २३ भदौमा आफूले गोली हान्ने आदेश नदिएको जिकिर गरेका थिए । जेन–जी आन्दोलनमा भएको घटनाप्रति आफू दुखित भएको र नैतिकता देखाउँदै पदबाट राजीनामा दिएको बताएका थिए । 

पहिलो दिन बयानका लागि समय नपुगेपछि आयोगले लेखकलाई बुधबार पुनः बोलाएको थियो । बयान सकिएपछि आयोगले लेखकमाथि यसअघि लगाइएको स्थानहद बिहीबार फुकुवा गरेको छ । 

 आयोगले १२ असोजमा गरेको सिफारिसअनुसार लेखक, ओलीसहित पाँच जनालाई १२ असोजदेखि अनुमतिबिना उपत्यका बाहिर जान रोक लगाइएको थियो । उनीहरूलाई विदेश यात्रामा जान पनि निषेध गरिएको थियो । यस्तै स्थानहद पछि तत्कालीन आईजीपी खापुङलाई तोकिएको थियो । बयान सकिएका सबैको स्थानहद फुकुवा भइसकेको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully