अटोरिक्सा चालक विजय साहको मृत्यु भएको घटना के हो ?

साहको शव सडकमा राखेर प्रदर्शन मात्रै गरेनन्, पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड केही घण्टा अवरुद्ध नै पारे ।

पुस १७, २०८२

पर्वत पोर्तेल

What happened to autorickshaw driver Vijay Sah?

What you should know

विराटनगर — सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरी बलको गोली प्रहारबाट अटोरिक्सा चालक विजय साहको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बिहीबार केही समय तनाव चर्कियो ।

तस्करी नियन्त्रणका क्रममा भएको भनिएको यो घटनाले सुरक्षाकर्मीको बल प्रयोग, सीमा क्षेत्रमा हुने अवैध कारोबार र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । यो घटनालाई लिएर सशस्त्र प्रहरी, पीडित पक्ष र स्थानीयबीच फरक–फरक दाबी आएपछि सत्य तथ्य के हो भन्ने कुरा छानबिन समितिले चाँडै सार्वजनिक गर्ने नैछ । तर घटना के हो सात प्रश्नमा यसरी बुझौँ:

सशस्त्र प्रहरीको दाबीअनुसार भारतीय सीमानाकाबाट अवैध सामान बोकेर नेपाल प्रवेश गरिरहेका तीन वटा रिक्सा रोक्न खोज्दा ती भाग्न थाले । पिछा गर्ने क्रममा तस्कर समूहबाट पहिले गोली चलेको दाबी सशस्त्र प्रहरीको छ । सुरक्षाकर्मीले आफूलाई असुरक्षित महसुस गरेपछि आत्मरक्षाका लागि जवाफी फायर गरिएको सशस्त्र प्रहरीका डीआईजी कुमार न्यौपानेको दाबी छ ।

तर, तस्करको समूहबाट गोली चलेको पुष्टि गर्ने कुनै आधार भने देखिँदैन । किनकि तस्कर समूहबाट हतियार बरामद नभएकाले उनीहरूले गोली चलाएको पुष्टि हुँदैन । तसर्थ गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने कुरा अनुसन्धानको विषय बनेको छ । स्थानीयवासीले सामान्य वारिपारिको सामान नियन्त्रणको बहानामा आवेगमा आएर सशस्त्रले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

मृत्युपछि के भयो ?

सशस्त्रको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भयो । साह अटो रिक्सा चालक थिए । उनको रिक्सा सामान बोक्न भाडामा प्रयोग गरिएको स्थानीयको भनाइ छ । तसर्थ उनी पेसेवर तस्कर भएको देखिँदैन । उनी भरिया मात्रै थिए । साहको मृत्युको खबर फैलिएपछि स्थानीय आक्रोशित बनेका थिए । शव सडकमा राखेर प्रदर्शन मात्रै गरेनन्, पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड केही घण्टा अवरुद्ध नै पारे ।

स्थानीयको प्रदर्शनपछि के–के भयो ?

प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको बिट तोडफोड गरे र बोर्डर आउट पोस्ट (बीओपी) मा समेत आक्रमण गरे । स्थिति नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपर्‍यो ।

स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर पाँच बुँदे सहमति गरियो । त्यसपछि शव पोस्टमार्टमका लागि हस्तान्तरण गरियो र क्रमशः अवस्था सामान्यतर्फ उन्मुख भयो ।

यो घटनाबारे सशस्त्र प्रहरीको भनाइ के छ ?

सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले तस्कर समूहबाट पहिले गोली चलेको र त्यसपछि आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भएको दाबी गरेका छन् । डीआईजी न्यौपानेका अनुसार मध्यराति भारतबाट रिक्सा र अटोमा चिनी लगायतका सामान ल्याइएको थियो । ‘नाकामा तैनाथ जवानले रोक्न खोज्दा दुवै भागेछन् अनि पर पुगेपछि अटोवालाले फायरिङ गरेछ,’ डीआईजी न्यौपानेले भने, ‘त्यसपछि हाम्रो जवानले पनि जवाफी फायरिङ गरेको हो ।’

घटनाबारे पीडित पक्षको भनाइ के छ ?

मृतकका आफन्त र स्थानीयले सशस्त्र प्रहरीको दाबी अस्वीकार गरेका छन् । उनीहरूले लेनदेन नमिल्दा साहको हत्या गरिएको आरोप लगाउँछन् ।

तस्करी सुरक्षा निकायको संरक्षणमै चल्ने गरेको र रकम नदिएपछि गोली प्रहार गरिएको हुनसक्ने स्थानीयको गम्भीर आरोप छ । यही कारण निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ ।

के स्थिति नियन्त्रणमा आइसकेको हो ?

जिल्ला प्रशासनको पहलमा बसेको बैठकपछि अवस्था क्रमशः नियन्त्रणमा आएको छ । छानबिन समिति गठन, राहत–क्षतिपूर्तिको प्रक्रिया, मृतक परिवारलाई रोजगारी तथा सहजीकरणको विषयमा सहमति भएपछि प्रदर्शन रोकिएको छ ।

स्थिति कसरी नियन्त्रणमा आयो ?

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गर्ने, सात दिनभित्र प्रतिवेदन पेस गर्ने, दोषी ठहर भए राहत र क्षतिपूर्तिका लागि सिफारिस गर्ने सहमति भयो ।

मृतककी श्रीमतीलाई रोजगारीमा सहजीकरण गर्ने र छोरालाई सशस्त्र प्रहरीमा भर्ना गर्न सहयोग गर्ने प्रतिबद्धताले पनि तनाव कम गर्न भूमिका खेलेको छ । सहमतिपछि लौकही क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनको भनाइ छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully