विदेशी नागरिक नेपाल प्रवेशदेखि प्रस्थानसम्मका गतिविधि अब सूचना प्रणालीमा
What you should know
काठमाडौँ — –पर्यटक भिसामा भित्रिएर काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घर भाडामा लिएर साइबर अपराधलगायत कसुरमा संलग्न १२२ चिनियाँ नागरिक ७ पुस २०७६ मा पक्राउ परे ।
–पर्यटक भिसामा भित्रिएर काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घर भाडामा लिएर साइबर अपराधलगायत कसुरमा संलग्न १२२ चिनियाँ नागरिक ७ पुस २०७६ मा पक्राउ परे । पक्राउ परेका धेरैजसोको भिसाको अवधि सकिए पनि गैरकानुनी रुपमा बसेर अपराधमा संलग्न रहेको खुल्यो । पछि जिल्ला प्रशासनले ‘अभद्र व्यवहार’को कसुरमा दोषी ठहर गरी पक्राउ परेका सबै चिनियाँलाई जरिवाना तिराएर डिपोर्ट गरिएको थियो ।
– संगठित गिरोहले अन्तर्राष्ट्रिय विमानस्थल र उत्तरतर्फका स्थल नाका हुँदै तस्करीबाट सुन भित्र्याएर काठमाडौंको टोखामा लामो समयदेखि सुन गाल्ने कारखाना चलाउँदासमेत सरकारी संयन्त्र बेखबर थियो । ब्रेकशुमा लुकाएर हङकङबाट भित्र्याई त्रिभुवन विमानस्थल भन्सार जाँचपास गराइसकेको अवस्थामा ३ साउन २०८० मा तस्करीको करिब ६१ केजी सुनको अनुसन्धान गर्दा मात्रै टोखामा चिनियाँ गिरोहले सुन गाल्ने कारखाना बनाएर त्यहीबाट ‘अर्डर’ अनुसारका बिस्कुट आकारमा सुन गन्तव्यसम्म पुर्याउने गरेको तथ्य बाहिरियो ।
– पर्यटक भिसामै भित्रिएका कतिपय विदेशी नागरिक आर्थिक प्रलोभनमा पारेर जबर्जस्ती धर्म परिवर्तन, बालयौन शोषणजस्ता अपराधमा पनि मुछिएका तथ्यहरु भेटिए । पर्यटक भिसामै भित्रिएका चिनियाँ नागरिकले काठमाडौंमै घर भाडामा लिएर ‘म्यारिज ब्युरो’ सञ्चालन गरी नेपाली महिलालाई गैरकानुनी रुपमा चीन पठाउने गरेका तथ्यहरु फेला परे । म्यारिज ब्युरोको आवरणमा अखडा जमाएर नेपाली महिलाबाट रकम असुलेर चीन पठाउने धन्दामा संलग्न रहेको भेटिएपछि अध्यागमन विभागको टोलीले गत २९ कात्तिकमा सोह्रखुट्टेबाट ४ र गत साता महाराजगञ्ज क्षेत्रबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेकामा चारजनालाई डिपोर्ट गरिएको थियो । एक चिनियाँ अध्यागमनकै हिरासतमा छन् । यात्रा गर्न निषेध गरिएका क्षेत्रमा समेत ‘अरु नै आवरण’मा विदेशी नागरिक जाने गरेका घटनामा पनि विदेशी नागरिकको संलग्नता देखिने गरेको छ ।
०००
यसरी एउटा प्रयोजन देखाएर भित्रिने र त्यसपछि संगठित रुपमै ‘अपराध र अरु संदिग्ध गतिविधिमा विदेशी नागरिकको संलग्नता’ पुष्टि भए पनि नेपाल प्रवेश भएबाटै नियमन, निगरानी र व्यवस्थापनमा प्रभावकारी कदम नचालेकोमा सरकारको आलोचना भइरहेको थियो । यसलाई समेत मध्यनजर गरेर सरकारले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि नियमन, निगरानी, व्यवस्थापन र सहजीकरण गर्न पहिलो पटक ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) कार्यान्वयनमा ल्याएको हो । अंग्रेजी नयाँ सन् २०२६ जनवरी १ सुरु भएसँगै बिहीबार नै गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनको उक्त प्रणाली उद्घाटन गरेका हुन् । प्रणालीमा संकलित विवरणलाई राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको सुरक्षा र अपराध अनुसन्धानका प्रयोग गरिने विभागले जनाएको छ ।
अध्यागमनले विकास गरेको प्रणाली उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यसबाट राष्ट्रिय सुरक्षा सुदृढिकरणमा टेवा पुग्ने बताए । ‘राष्ट्रिय सुरक्षा सुदृढीकरण बनाउनु अहिलेको आवश्यकता हो, सरकार यसमा प्रतिबद्ध छ,’ उनले भने, ‘सरोकारवालाबाट यथोचित सहयोग आवश्यकता छ, अध्यागमन प्रशासनका लागि यो प्रणाली कोशेढुंगाका रुपमा रहने छ ।’
यो प्रणालीको विकाससँगै विदेशी नागरिकले जुनजुन क्षेत्रको सेवा लिन्छन्, त्यसमार्फत उनीहरुको राष्ट्रियता, नाम, राहदानी र भिसासहितको विवरण अध्यागमनले विकास गरेको प्रणालीमा जोडिने छ । यसबाट भिसा कानुनअनुसार विदेशी नागरिक बसे/नबसेको विवरण सहजै पहिचान हुन्छ । अध्यागमनले होटल/लज, आन्तरिक वायु सेवा कम्पनी, हेलिकोप्टर कम्पनी, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात सेवा, पर्वतारोहण एजेन्सी, टुर्स एण्ड ट्राभल एजेन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, विदेशी मुद्रा सटही केन्द्र, टुरिस्ट गाइड, पर्यटक प्रहरी, पर्यटकसँग सम्बन्धित अन्य संस्थालगायतलाई अध्यागमनको प्रणालीमा आबद्ध गरिने र अब विदेशी नागरिकले जुन संस्थाबाट सेवा लिन्छन्, त्यस संस्थाले तोकिएको ढाँचाको प्रणालीमै विवरण भर्नुपर्ने छ । यसरी भरेको विवरण अध्यागमनको केन्द्रीय अभिलेखमा जाने छ । नेपाल भित्रिएका विदेशी नागरिकसँग सम्बन्धित सेवा प्रदायक सरकारी तथा निजी संघसंस्थाहरुलाई यो प्रणालीमा जोडेर विभागले विदेशी नागरिक नेपाल भित्रिएदेखि प्रस्थान हुँदाको अवधिसम्मका गतिविधिको ‘निगरानी, नियमन, सहजीकरण र व्यवस्थापन’ गर्न यो प्रणालीको विकास गरेको हो । विभागको यो प्रणालीमा पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटल, ट्रेकिङ एजेन्सीलगायत संस्थाहरु आबद्ध भएका छन् ।
२ महिनापछि १ मार्चदेखि आन्तरिक वायु सेवा कम्पनी, ट्राभल एजेन्सी, पर्यटक ओसारपसार गर्ने सार्वजनिक सवारी, विदेशी मुद्रा सटही केन्द्रलगायतलाई यसमा अनिवार्य आबद्धता गराइने विभागले जनाएको छ । त्यसपछि तेस्रो चरणमा अन्य होटल/लजलगायतलाई यसमा आबद्ध गरेर विदेशी नागरिकका गतिविधि नियमन/निगरानी, व्यवस्थापन र सहजीकरणमा सक्रिय पार्ने विभागको तयारी छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले अब विदेशी नागरिक होटलमा बसेको र बाहिरिएको, ट्राभल/ट्रेकिङलगायत सेवा लिनेको विवरण पनि आबद्ध भएको प्रणालीबाटै अध्यागमनलाई दिनुपर्ने छ । विदेशी नागरिक नेपाल भित्रिएपछि कहाँ–के गर्छन् भन्ने विषय राज्यका संयन्त्रबाट पहिचान हुनुपर्नेमा अहिले व्यक्तिले गर्ने निगरानीमा मात्रै केन्द्रित हुने गरेको उनको भनाइ छ । अब व्यक्तिले होइन, प्रणालीले पहिचान गरेर गलत गर्नेमाथि कारबाही चलाउने उनले बताए ।
‘हाम्रो सीमाभित्र जुनसुकै प्रयोजनका लागि विदेशी नागरिक आउँछन्, उनीहरूको गतिविधि राज्यको सूचनामा हुनु आवश्यक, त्यसैका लागि यो प्रणाली लागू गरिएको हो,’ महानिर्देशक तिवारीले भने । उनले राष्ट्रिय सुरक्षाका दृष्टिले अन्तर्राष्ट्रिय सीमाबाट हुने आगमन र यसबाट पर्ने जोखिमलाई दृष्टिगत गरी नीति/कानुन र कार्ययोजना बन्नु पर्नेमा नेपालबाट जानेका गतिविधिमा कडाई हुने गरेको र यसमा विभागले सुधारको प्रयास जारी राखेको बताए ।
विदेशी नागरिक तथा पर्यटकहरूको सुरक्षा र आवश्यक परेको बेलामा राज्यले दिने सुविधा तथा उद्धारको सहजता, नेपालमा भिसाविपरीत वा प्रचलित कानुन, सामाजिक मूल्य, मान्यताविपरीत गतिविधि भए तुरुन्तै पहिचान गर्न सहजतालगायतमा यो प्रणाली प्रभावकारी बन्ने विभागको भनाइ छ ।
यस प्रणालीमा आबद्ध हुनेहरुले आफ्नो संयन्त्रबाट बाहिँरिदासम्मको अवस्थाको विवरण उल्लेख गर्नुपर्ने छ ।
विभागका निर्देशक टिकाराम ढकालले ‘अध्यागमन कानुनबमोजिम विदेशी नागरिकको स्थानीय दर्ता प्रभावकारी बनाउन, विदेशी पर्यटकको सुरक्षा थप सुदृढ पार्ने, विपदका समयका खोज तथा उद्धारकार्यमा सहजीकरण, सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र नेपालमा विदेशी नागरिकका अवाञ्छित गतिविधि नियन्त्रण र दोषी देखिए कारबाही गर्न यो प्रणाली प्रभावकारी हुने बताए ।
प्रणाली शुभारम्भ कार्यक्रममा उपस्थित स्टेकहोल्डरहरुले राष्ट्रिय सुरक्षाका अलवा व्यवस्थित पर्यटन प्रवर्द्धनलाई यसबाट थप टेवा पुग्ने बताएका थिए । विभागका अनुसार सन् २०२४ को १ वर्षमा नेपालमा ११ लाख ४५ हजार ३ सय ११ विदेशी नागरिकले यात्रा गरेकामा उनीहरुको व्यवस्थापन तथा नेपालमा बसेर के गरे भन्ने विवरण अध्यागमनसँग व्यवस्थित थिएन ।
