पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै एमबीबीएसमा नाम निकालेका ओमप्रकाश

खुसीको माहोलमा पनि ओमप्रकाशका आमाबुवा भने छोरालाई होस्टेल खर्चका लागि ऋण नपाउँदा चिन्तित छन् ।

पुस १६, २०८२

विद्यानन्द राम

Om Prakash, who earned his MBBS degree while working as an electrician to finance his studies

What you should know

राजविराज — सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा उनी आसपासकै गाउँका लागि उदाहरण बनिरहेका छन् ।

दलित विपन्न परिवारमा जन्मेका ओमप्रकाशले पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै एमबीबीएसमा नाम निकालेको खुसी गाउँलेको अनुहारमा पनि स्पष्ट देखिन्छ । सबैले उनको लगनशीलता, संघर्ष र मिहिनेतको तारिफ गरिरहेका छन् भने ओमप्रकाशकै जस्तो लगनशील भएर पढाइ गर्न अन्य बालबालिकालाई पनि उदाहरण दिइरहेका छन् । तर, खुसीको माहोलमा पनि ओमप्रकाशका आमाबुवा भने छोरालाई होस्टेल खर्चका लागि ऋण नपाउँदा चिन्तित छन् ।

गाउँलेसँग ब्याजमा लिएको एक लाख रुपैयाँ ओमप्रकाशलाई एमबीबीएसमा भर्ना गराउँदा र दाङसम्म आउजाउ गर्नमा खर्च भइसकेको ओमप्रकाशका बुवा रामकिसुन दासले बताए । ओमप्रकाशलाई पुस ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना गरिएको छ । कलेजमा ६४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । त्यसमा ५० हजार रुपैयाँ धरौटीबापत हो ।

अझ ड्रेसबापत लाग्ने १३ हजार ५ सय रुपैयाँ तिर्न बाँकी नै छ । होस्टेलमा बस्न मासिक १५ हजार रुपैयाँका दरले हुने खर्चका लागि उनीहरू ऋणको खोजीमा छन् । ‘ऐलानीमै घर छ । आफ्नो एक धुर पनि जग्गा छैन । घर बनाउने काममा ज्याला मजदुरी गर्छु,’ रामकिसुनले भने, ‘ज्यालावापत आउने रकम परिवार चलाउनै अपुग भइरहन्छ ।’

छोराले एमबीबीएसमा नाम निकाल्दा खुसी लागे पनि अबको खर्च कसरी जुटाउने चिन्ताले सताएको रामकिसुनले सुनाए । ‘ज्यालाले मात्रै छोराको खर्च धान्न सक्ने अवस्था छैन, ऋणको खोजीमा छु तर अहिलेसम्म जोहो हुन सकेको छैन,’ उनले भने, ‘छोराले डाक्टरमा नाम निकाल्न गरेको मिहिनेतअनुसार मैले उनको आवश्यकता पनि पूरा गर्न नसक्दा मन पिरोलेको छ ।’ 

ओमप्रकाशबाहेक पनि १० वर्षका कान्छो छोरा श्रवणलाई हुर्काउने र पढाउने जिम्मेवारी आफूमाथि रहेको भन्दै रामकिसुनले सरकारले आर्थिक सहयोग गरिदिए छोरालाई पढ्न सहज हुने बताए । उनको परिवारमा ७० वर्षकी आमा कप्लेश्वरी र रामकिसुनकी श्रीमती आशादेवी गरी पाँच जना छन् ।

डाक्टर बन्ने सपना बुनेका ओमप्रकाशलाई पनि ऋण नपाउँदाकै तनाव

ओमप्रकाश जन्मिँदादेखि नै आंशिक रूपमा शारीरिक अपाङ्ग छन् । उनको दायाँ हातका तीन र बायाँ हातका दुई औँला जोडिएका छन् । दायाँ खुट्टाका पनि दुई वटा औँला जोडिएका छन् भने एउटा औँला छैन ।

धेरै समयसम्म काम गर्दा दुखाइ सहनुपर्ने बाध्यता खेप्दै आएका उनले घरदेखि करिब ६ सय मिटरकै दूरीमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय, खडकपुरमा कक्षा ८ सम्म पढे । श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय, मानराजामा कक्षा ९ र १० को पढाइ पूरा गरेका ओमप्रकाशले साथीहरूको सल्लाहअनुसार लिटिल स्टार सेकेन्डरी बोर्डिङ स्कुल, लहान सिरहामा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भए ।

Om Prakash, who earned his MBBS degree while working as an electrician to finance his studies

२०७९ मा ११ र १२ कक्षामा २ दशमलव ५६ जीपीए ल्याएर उत्तीर्ण भएका उनलाई एमबीबीएस भर्नाका लागि प्रवेश परीक्षा दिन साथीहरूले नै सल्लाह दिए । तर, धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले उनले एमबीबीएसभन्दा पनि एचए पढ्ने सोचमा थिए ।

साथीहरूले जोड गर्न थालेपछि उनले एमबीबीएसको प्रवेश परीक्षा पनि दिए । त्यो वर्ष उनी सफल हुन सकेनन् । त्यही बेला उनले एमबीबीएसमा पूर्ण छात्रवृत्तिको विषय थाहा पाएपछि थप लगनशीलताका साथ पढ्न थाले । चिकित्सा शिक्षा आयोगले गत कार्तिक १५ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा उनले मधेसी दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाले ।

चौथो प्रयासमा नाम निकालेका उनी डाक्टर बन्ने सपना बुनिरहँदा पनि घरको आर्थिक अवस्थाले तनावमा छन् । ‘गाउँमा पढ्दा बाँकी समयमा बिजुली मिस्त्रीको काम गरेर खर्च जुटाइहाल्थेँ, साँझ–बिहान ट्युसन पनि पढाउँदा खर्च नपुग हुँदैनथ्यो,’ उनले भने, ‘लहानमा पढ्दा पनि खर्च जुटाउन बेलाबखत बिजुली मिस्त्रीको काम गर्न गाउँ आइहाल्थेँ, अहिले बुवा आमालाई ऋण पाउनै गाह्रो भइरहेको देख्दा तनाव भइरहेको छ ।’ ओमप्रकाशले पढाइमा सहयोगका लागि पनि आग्रह गरेका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully