नागरिक उड्डयन विलासिता होइन, राष्ट्रिय आवश्यकता हो : मन्त्री सिन्हा

‘नागरिक उड्डयनलाई विलासिता होइन, राष्ट्रिय आवश्यकताका रूपमा हेर्नुपर्छ’

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Civil aviation is not a luxury, it is a national necessity: Minister Sinha

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपालमा नागरिक उड्डयन अब केवल यातायातको साधन मात्र नभई आर्थिक विकास, पर्यटन, राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्पर्कसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक पूर्वाधार बनेको बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले नेपालको भौगोलिक अवस्थाका कारण हवाई सेवा सुविधा होइन, जीवनरेखाका रूपमा स्थापित भइसकेको स्पष्ट पारे।

‘नेपालको भौगोलिक बनावटका कारण नागरिक उड्डयन जीवन पद्धति बनेको छ । धेरै स्थानमा स्वास्थ्य सेवा, आपूर्ति, उद्धार तथा राहतको एक मात्र माध्यम हवाई सेवा नै हो,’ मन्त्री सिन्हाले भने, ‘यसैले नागरिक उड्डयनलाई विलासिता होइन, राष्ट्रिय आवश्यकताका रूपमा हेर्नुपर्छ ।’

मन्त्री सिन्हाले २१औँ शताब्दीमा नागरिक उड्डयन क्षेत्र विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, व्यापार, आपूर्ति शृङ्खला, सूचना प्रविधि र सुरक्षासँग जोडिएको महत्त्वपूर्ण आधार स्तम्भ बनेको उल्लेख गरे।

उनका अनुसार कोभिड–१९ पछिको पुनरुत्थान, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, कार्बन उत्सर्जन न्यूनीकरण तथा क्षेत्रीय प्रतिस्पर्धाले विश्वव्यापी उड्डयन क्षेत्रलाई नयाँ प्रविधि र नवप्रवर्तनतर्फ अग्रसर गराइरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्ड, सिफारिस र अभ्यासहरूलाई नेपालले आत्मसात् गर्दै आएको बताउँदै उनले आईकाओकोको मूल मन्त्र 'सेफ स्काईज एन्ड अ सस्टेनेबल फ्युचर फर अल' रहेको स्मरण गराए ।

मन्त्री सिन्हाले पर्यटन र नागरिक उड्डयन एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै विमानस्थल र हवाई सेवा नै पर्यटकका लागि नेपालको पहिलो र अन्तिम अनुभूति हुने बताए ।

पर्यटन नीति २०८२ ले अघि सारेको ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’को अवधारणालाई साकार पार्न सुरक्षित, गुणस्तरीय र समयनिष्ठ हवाई सेवा अपरिहार्य रहेको उनको भनाइ थियो ।

‘विमानस्थल नै देशको प्रवेशद्वार हो । सेवा गुणस्तर, सुरक्षा र व्यावसायिक व्यवहार हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ,’ मन्त्री सिन्हाले भने ।

डिजिटल एयर ट्राफिक म्यानेजमेन्ट, आधुनिक नेभिगेसन प्रणाली तथा सुरक्षा निगरानी प्रविधिको प्रयोगलाई तीव्रता दिनुपर्नेमा मन्त्री सिन्हाले जोड दिए । दक्ष मानव संसाधन, नैतिकता, पारदर्शिता, नवप्रवर्तन र सुशासनबिना दिगो तथा सुरक्षित उड्डयन सम्भव नहुने उनको धारणा थियो ।

उनले नागरिक उड्डयन क्षेत्रमा देखिँदै आएको नियामक र सेवाप्रदायकबीचको स्वार्थको द्वन्द्व समाधान गर्न रणनीतिक सुधार आवश्यक रहेको उल्लेख गरे । सोही सन्दर्भमा विमान दुर्घटनाको निष्पक्ष र प्राविधिक छानबिनका लागि स्थायी, स्वतन्त्र र अधिकार सम्पन्न विमान दुर्घटना जाँच आयोग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री सिन्हाले नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक सुदृढीकरण, संस्थागत विकास तथा दीर्घकालीन स्थायित्वका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । यसका लागि सम्बन्धित निकाय, निजी क्षेत्र, कर्मचारी तथा सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully