प्रधानमन्त्रीले दिइन् बुद्धको चित्र, प्रसाईंले भने- 'सत्ताको कक्षसम्म भुइँमान्छेको आवाज'

भेटवार्तामा प्रधानमन्त्री कार्कीले यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी थिइन् ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister gave a picture of Buddha, Prasai said - 'The voice of the common man reaches the chamber of power'

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारेकी थिइन् । 'धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ,’ उनले भनिन्, 'सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

प्रधानमन्त्री कार्कीले भेटमा प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित-पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

भेटपछि सामाजिक सञ्जाल फेसबुकमा प्रसाईंले लेखेका छन्, 'वार्ता औपचारिकतामा सीमित रहेन, यसले सत्ताको कक्षसम्म भुइँमान्छेको आवाज जबर्जस्त रूपमा प्रवेश गराएको छ । अब निर्णयकक्षमा जनताको पीडा, आक्रोश र अपेक्षा बोल्न थालेको छ ।'

सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई नरहेको पनि उनले उल्लेख गरेका छन् । ' अब अन्तिम वार्ता आउँदो बिहीबार हुने पनि उनले उल्लेख गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully