पूर्व-पश्चिम राजमार्ग १० घन्टादेखि अवरुद्ध, बीच सडकमा पल्टिएको ग्यास ट्यांकर लिक भएको आशंका

'सडकमा पल्टिएको ट्यांकर क्रेनले उठाउने प्रयास गरे पनि सम्भव भएको छैन,' ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले भने, 'टयांकरबाट ग्यास लिक भएको आशंका छ, यसले झनै समस्या थपिएको छ ।'

पुस १५, २०८२

शिव पुरी

East-West Highway blocked for 10 hours, gas tanker overturned in middle of road suspected of leaking

रौतहट — चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै ग्यास बोकेको बुलेट ट्यांकर सडकमै पल्टिएपछि १० घन्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

ट्यांकरमा ग्यास भरिएकाले उठाउन कठिन भएको हो । अहिले ६ वटा क्रेन प्रयोग गरे पनि ट्यांकर उठाउन सकिएको छैन । ट्यांकर बाट ग्यास लिक भएको आशंका प्रहरीले गरेको छ । 

भारतबाट  वीरगन्ज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको यूपी १७ एपी २११४ नम्बरको एलपी  ग्यास  लोड बुलेट ट्रक मंगलबार बिहान साढे ७ बजे अनियन्त्रित भई सडकको बीच भागमै पल्टिएको थियो । ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले सडकमा पल्टिएको  ट्यांकर उठाउन समस्या भएको बताए  । 

'क्रेनले उठाउने प्रयास गरे पनि सम्भव भएको छैन,' उनले भने, 'टयांकरबाट ग्यास लिक भएको आशंका छ, यसले झनै समस्या थपिएको छ । सडक सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ ।'

अहिले यस क्षेत्रमा सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी भारतको कदोरमा थाना जयनगरका  ३७ वर्षीय चालक पवन यादव घाइते भएका छन् । उनको बायाँ काँध र हातमा चोट लागेको प्रहरीले जनाएको छ । चालक यादवको चन्द्रपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

बिहानदेखि राजमार्ग दुईतर्फी अवरोध भएको छ । अहिले केही सानाठूला सवारीसाधन धन्सार पुल नजिक हुँदै नहर मार्गबाट  फाट्टफुट्ट आवतजावत गरिरहेका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully