‘हनीट्रयाप’मा पारेर हत्या गर्ने ३ जनालाई जन्मकैदको सजाय

२०८१ असोज ५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीलाई राती अपहरण, फिरौती रकम असुल गरी हत्यामा संलग्न तीन जनालाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।

पुस १५, २०८२

ज्योती श्रेष्ठ

3 sentenced to life imprisonment for 'honeytrap' murder

What you should know

काभ्रे — ‘हनीट्रयाप’मा पारेर हत्या गर्ने ३ जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

२०८१ असोज ५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीलाई राती अपहरण, फिरौती रकम असुल गरी हत्यामा संलग्न तीन जनालाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।

खड्गीलाई हनी ट्रयापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैदको फैसला गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले महत, पासवान र गौतमलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । उनीहरुले जनही २ लाख रुपैयाँका दरले पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने र  जनही २८०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।

यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौं स्थित शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार रहेका छन् भने अन्य प्रतिवादीहरु रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाइ पाएका छन् ।

प्रहरी अनुसन्धानअनुसार २०८१ साल असोज ५ गते राति मनिषाले नागरिकताको प्रतिलिपि बनाउन सहयोग चाहिएको बहानामा खड्गीलाई कोठामा बोलाएकी थिइन् । खाना खाएपछि खड्गीलाई कुटपिट गरी घाइते बनाउँदै सुरुमा ३० लाख रुपैयाँ फिरौती मागिएको थियो । पछि पाँच लाख रुपैयाँमा सहमति भई राधेराधेस्थित भाटभटेनी अगाडि खड्गीका कर्मचारीमार्फत उक्त रकम बुझिएको थियो ।

फिरौती रकम लिएपछि मनिषा, अन्सु, शिवम, आशिष र प्रतीकले खड्गीलाई मार्ने योजना बनाएर हातखुट्टा बाँधी कुटपिट गरेका थिए । उनीहरूले भक्तपुरको गुण्डु लगेर छातीमा इँटा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि शव पाँचखाल–८ स्थित ४९ किलोमा फालिएको थियो । प्रहरीका अनुसार हत्यापछि फिरौती रकमबाट मनिषालाई १ लाख, प्रतिकलाई १० हजार, आशिषलाई २० हजार र अन्सुको दिदी रोश्नी महतलाई ५० हजार रुपैयाँ बाँडिएको बयानमा उनीहरुले बताएका थिए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully