पिथौरागढ जिल्लाका विभिन्न क्षेत्रमा आतंक मच्चाउन थालेपछि भारत सरकारले बाँदर नियन्त्रण गर्न बन्ध्याकरण अभियान संचालन गरिरहेको हो ।
What you should know
बैतडी — बाँदर आतंकले स्थानीय आजित भएपछि भारत सरकारले बाँदरको बन्ध्याकरण गर्न थालेको छ।
बैतडीको सीमापारि पिथौरागढ जिल्लाका बिभिन्न गाउँमा भारत सरकारले बन्ध्याकण गरेर बाँदर नियन्त्रण अभियान संचालन गरेको हो । भारत सरकारले दिर्घकालीन प्रभाव देखिने गरी बाँदरको संख्या नियन्त्रण गर्न बान्ध्याकरण गरिरहेको हो ।
महाकाली नदीवारि बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा पनि बाँदर आतंकले स्थानीय आजित छन् । बाँदर आतंक नियन्त्रणका लागि नेपाल तर्फ भने कुनै सुरसार छैन् । बाँदरका कारण यहाँका धेरैजसाे बस्ती रित्ता भइसकेका छन् । प्रायः किसानले खेतबारी बाँझो छाडेका छन् । बाँदरले बाली सखाप पार्न थालेपछि गाउँमा सबैजसोले खेती गर्न छोडिसकेको सात बर्ष बढी भएको स्थानीय लक्ष्मी नाथले बताइन् । मकै, गहुँसहित तरकारी राम्रो उत्पादन हुने खेतबारी अहिले झाडी बनिसकेको उनले बताइन् ।
पिथौरागढ जिल्लाका विभिन्न क्षेत्रमा आतंक मच्चाउन थाले पछि भारत सरकारले बाँदर नियन्त्रण गर्न बन्ध्याकरण अभियान संचालन गरिरहेको हो । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयले खेत बाँझो छाड्न थाल्दा बाँदर घरभित्र पस्न थालेको झुलाघाट व्यापार संघका अध्यक्ष प्रमोद भट्टले बताए ।
बालीनालीमा नोक्सानीसँगै मानिसलाई समेत आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि सरकारसित आग्रह गरेको उनले बताए । ‘घरमा आएर आतंक मच्चाइरहेको बाँदर धपाउँदा यहाँका राघव भट्टको हात भाँच्चियो,’ उनले भने, ‘आतंक रोक्न र बाँदरको संख्या बढ्न नदिन सरकारले बन्ध्याकरणको अभियान चलाएको हो ।’
भारतीय वनकर्मीले बाँदरलाई उत्तराखण्डको सहर हल्द्वानी लगेर बन्ध्याकरण गर्दै आएका छन् ।
पिथौरागढ जिल्लाको झुलाघाट, गौरीहाट, बिस्खोली, बगडतोली, गेठीगडा, रणवा, मजिरकाँडा, लेक, चौडी, खरक्युडा, दोली, जमिरपानी र लमतडा क्षेत्रबाट साढे पाँच सय बढी बाँदर समातेर बन्ध्याकरणका लागि लगिसकेको वन विभाग जिल्ला कार्यालय पिथौरागढका रेन्जर दिनेश जोशीले बताए । ‘बाँदरको मौजुदा संख्या भन्दा बढी हुन नदिनको लागि बन्ध्याकरण गरिएको हो,’ उनले भने, ‘बन्ध्याकरण गरेपछि बाँदरको संख्या बढ्न नपाउने हुँदा यस्तो गरिएको हो ।’
बन्ध्याकरणका लागि लैजान फलामे पिजडाभित्र फलफूल राखेर भारतीय वन विभागले बाँदर समात्ने जुक्ति निकालेको छ । फलफूल खान पिजडाभित्र पस्दा ढोका आफै बन्द हुने भएकाले बाँदर बाहिर आउन पाउँदैन् । त्यसपछि समातेर बन्ध्याकरणका लागि हल्द्वानीस्थित वन कार्यालयमा पठाउने गरेको छ ।
बन्ध्याकरणपछि समातेकै क्षेत्रमा ल्याएर छाडिने गरेको रेन्जर जोशीले बताए । पिथौरागढ वन कार्यालय अन्तरगत अहिलेसम्म ५ सय ६५ वटा बाँदर समातेर बन्ध्याकरण गरिसकेको उनले बताए । समातेको एक साताभित्र बन्ध्याकरण गरेर फिर्ता ल्याइ छोड्ने गरिएको छ । बाँदर नियन्त्रणको यो विधिले लगत्तै परिणाम नदिने भए पनि भविष्यमा परिणाम देखिने रेन्जर जोशीले बताए ।
दशरथचन्द नगरपालिका क्षेत्रका बासिन्दाले पनि वर्षौंदेखि बाँदर निणन्त्रणको माग गर्दै आएका छन् । स्थानीयले बाँदरकै कारण अन्नबाली, फलफूल सखाप पार्न थालेपछि स्थानीयले खेती गर्न छोडिसकेका छन् ।
बारीको मात्र नभएर भित्र राखेको अन्नपात समेत बाँदरले खान थालेपछि वाक्क दिक्क भएर धेरै परिवार गाउँबाट बसाइँ सरिसकेको दशरथचन्द–५ का घनश्याम भट्टले बताए । ‘बारीमा केही खानेकुरा नपाएपछि बन्द गरेका ढोका तोडेरै भित्र जान्छन्,’ उनले भने, ‘बाँदरकै आतंकले धेरै परिवार गाउँबाटै विस्थापित भइसके ।’
नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले बाँदर नियन्त्रण गर्न ‘धपाउ अभियान’ संचालन गरेका थिए । त्यतिबेला स्थानीय र जनप्रतिनिधिहरुले बाँदर धपाउन सिट्टी फुक्ने, गुलेली ताक्ने, पटका पड्काएर होहल्ला गर्दै धपाउन सुरु गरेका थिए । सफल नभएपछि अर्को वर्ष नगरपालिकाले बन्दुकको जस्तै अवाज निकाल्ने यन्त्र खरिद गरी टोलटोलमा वितरण पनि गर्दा पनि बाँदर आतंक नियन्त्रण हुन सकेन् ।
२०७९ मा आफु निर्वाचित भएर आएपछि प्रभावित केही वडामा बाँदर नियन्क्रणका लागि व्यत्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कैशिला चन्दले बताइन् । ‘व्यक्तिगत लगानीमा बाँदर धपाउन हेरालु पनि राख्यौं । यसले दिर्घकालीन फाइदा भएन,’ उनले भने, ‘अब बाँदर आतंक घटाउन अल्पकालीन भन्दा दिर्घकालीन उपाय खोज्नु पर्ने जरुरी भएको छ ।’
नगरपालिकाले चालु आर्थिक वर्षमा बाँदर नियन्त्रण शीर्षकमा बजेट विनियोजन गरे पनि अहिलेसम्म कसरी कार्यान्वयन गर्ने भन्ने छलफल नै नभएको उनले बताइन् ।
बाँदरले बाली नोक्सानी गरेका कृषकले दाबी गरेमा निर्देशिका अनुसार बढीमा १० हजार रुपैयाँसम्म क्षतिपुर्ती दिन सकिने डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए । बाँदर नियन्त्रणको लागि कार्यालयसित कुनै याेजना नभएको उनले बताए ।
