गृहसचिव श्रेष्ठले गरे पदभार ग्रहण, सचिव दंगालको बिदाइ

मन्त्रिपरिषद्‌को पुस ११ गते बसेको बैठकले सचिव रामेश्वर दंगालको लोकसेवा आयोगमा र सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयमा सरुवा भएर आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाइ गरेका थिए ।  

यस्तै, गृह सचिवको नयाँ जिम्मेवारी सम्हालेका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिए ।     

यसअघि, गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरुको साथ सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

आगजनी र खरानीबाट उठेको मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर गएका गृह सचिव रामेश्वर दंगालसमक्ष आभार प्रकट गरे । मन्त्रिपरिषद्‌को पुस ११ गते बसेको बैठकले सचिव दंगालको लोकसेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो ।    

कार्यक्रममा सचिव श्रेष्ठले अहिलेको बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिए । बिदाइ कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कान्तिपुर

Link copied successfully