जसपा–लोसपा एकतापछि मधेश प्रदेशसभामा ठूलो दल

एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे निर्णय हुन बाँकी ।

पुस १४, २०८२

अजित तिवारी

After the JSP-LOSP merger, Madhesh becomes the largest party in the Provincial Assembly

What you should know

जनकपुर — मधेशवादी दुई दल जसपा नेपाल र लोसपाबीच आइतबार एकता गर्ने सहमति भएको छ । पछिल्लो राजनीति घटनाक्रमले संघीयता, समावेशिता र समानुपातिक प्रणाली खतरामा परेको भन्दै यी दुई दलले एकता गर्ने निर्णय गरेका हुन् । एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे भने निर्णय हुन बाँकी छ ।

यसअघि गत २४ मंसिरमा लोसपासँग हृदयेश त्रिपाठीको प्रगतिशील पार्टी र बृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टी एकीकृत भएका थिए । त्यसपछि जसपा नेपालसँग एकताको सहमति भएको हो । अशोक राई नेतृत्वको जसपाबाट फुटेर आएका रेणु यादव, प्रदीप यादव, नवलकिशोर साहलगायत नेताको समूह पनि यो एकतामा सहभागी भएको छ । सोमबार एकताको सहमतिपत्रमा उपेन्द्र यादव र रेणु यादवले हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि उक्त पार्टी मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्नेछ । १ सय ७ सदस्यीय प्रदेशसभामा हाल जसपा नेपालका १९ र लोसपाका ९ सांसद छन् । जसपा नेपालका प्रदेश सांसद सरोजकुमार सिंह र लोसपाका अभिराम शर्मा निलम्बित छन् । यी दुवै दल मिल्दा मधेश प्रदेशमा निलम्बितबाहेक २६ प्रदेश सांसद हुन्छ । यसअघि ठूलो दल रहेको एमालेको मधेश प्रदेशमा २५ सांसद छन् । मधेश प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यी दुवै दलको समर्थन छ ।

जसपा नेपालले प्रतिनिधिसभा निर्वाचन २०७९ मा १२ सिट जितेको थियो । लोसपाको भने ४ सिट थियो । यो एकताले लामो समयदेखि अलग रहेका मधेशका दुई मुख्य नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि एक ठाउँमा ल्याएको छ । ‘सबै दल ध्रुवीकृत भइरहेका बेला हामीलाई पनि एक ठाउँमा उभिनुपर्ने दबाब थियो,’ लोसपा नेता जितेन्द्र सोनलले भने, ‘शोषण र उत्पीडनमा परेको वर्ग–समुदायको हकहितमा काम गर्ने दलहरू मिल्नु सुखद र सकारात्मक हो । हाम्रो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षामा बल पुग्छ ।’

विगतमा फुट्दै–जुट्दै गरेका मधेशवादी दलहरू जेन–जी विद्रोहपछि पुनः एकीकृत भएका हुन् । एकतामा सक्रिय रहेका जसपा नेपालका महासचिव लालबाबु राउतले जेन–जी विद्रोहपछि नयाँ, पुराना दलबीच एकीकरण र कार्यगत एकता हुन थालेपछि जसपा नेपाल र लोसपालाई पनि एक ठाउँमा उभिनुपर्ने दबाब बढेपछि एकता गरेको बताए ।

‘पुराना दल कांग्रेस र एमाले संघीयताप्रति त्यति धेरै उदार देखिएनन् । अधिकार प्रत्यायोजनमा पनि पुराना दलले कन्ज्युस्याइँ गरे,’ राउतले भने, ‘नयाँ नेता बालेन–रविहरूलाई संघीयता र समावेशिता चाहिएकै छैन । भ्रष्टाचार र सुशासनको मुद्दा मात्र बोकेका छन् । संघीयता हटायो भने केही पनि हुन्न भन्ने मानसिकता नयाँ दलमा देखिन्छ । तर, मुलुकको विविधता संघीयताले दिएको छ । संघीयतालाई छोयो भने समस्या हुन्छ ।’

जसपा नेपालका महासचिव राउतले मधेशवादी अन्य दलसँग अनौपचारिक कुराकानी भइरहेको बताए । ‘आ–आफ्नो स्तरमा कुराकानी भइरहेको छ । सबैले गल्ती महसुस गरेर छलफल गर्न थालेका छन्,’ उनले भने, ‘मधेशवादी दलहरू एकै ठाउँमा रहँदा सन्देश पनि राम्रो जान्छ भन्ने बुझेर नै धेरै दलसित अनौपचारिक छलफल भइरहेको छ । अलग–अलग बसेर डम्फु बजाएर केही हुन्न । एकै ठाउँमा आउँदा बलियो भइन्छ ।’

मधेशको नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टी भने जसपा नेपाल र लोसपाको एकीकरणपछि अलमलमा छ । जसपा नेपालसँग निरन्तर संवादमा रहे पनि राष्ट्रिय सभाको निर्वाचनका कारण जनमतले ठोस निर्णयमा पुग्न सकेको छैन । जेन–जी आन्दोलनपछि मधेश प्रदेशमा आफ्नै नेतृत्वमा रहेको सरकार ढाल्दा टुक्रिएको जनमत राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग मिलेर मधेशमा एक सिट लिने प्रयासमा छ ।

जनमतका प्रवक्ता चन्दन सिंहले मधेशका मुद्दा बोकेको दलबीच एकीकरण आवश्यक रहेको बताए । उनले एकीकरणका लागि कोसिस भइरहेको बताए । ‘बृहत् मोर्चा बनाएर अगाडि बढ्नुपर्ने हाम्रो प्रस्ताव हो,’ सिंहले भने, ‘मधेशमा नयाँ शक्ति पनि उदय भएको छ । पहिचानवादीबीच एकता हुनु सुखद हो ।’

सम्बन्धित समाचार

बालेन्द्र–रविहरूलाई संघीयता र समावेशिता चाहिएकै छैन, त्यसैले हामी मिल्नुपर्‍यो : लालबाबु राउत

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully