शीर्ष तीन नेताले प्रधानमन्त्रीसँग भने- 'चुनावमा जान्छौं तर सुरक्षामा शंका छ’

ओलीले प्रधानमन्त्रीलाई सोधे– ‘तत्कालीन गृहमन्त्रीले बयान दिन जान्छु भन्नुभएकै छ । न प्रधानमन्त्रीले गोली चलाउन आदेश दिन्छ न केही । अहिले तपाईं प्रधानमन्त्री हुनुहुन्छ, भोलि तपाईंका मन्त्रीहरूले के–के गर्लान्, त्यसमा तपाईंलाई छानबिनमा तान्दा के हुन्छ ?’

पुस १३, २०८२

जयसिंह महरा

Top three leaders told the Prime Minister - 'We will go to the elections but there are doubts about security'

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनतर्फ होमिएर सहयोग गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । देउवा, ओली र दाहालले भने चुनावमा जान तयार रहेको तर सुरक्षा व्यवस्थापनमा शंका कायमै रहेको बताएका छन् । 

प्रधानमन्त्री कार्कीले मुख्य तीन दलका शीर्ष नेतासँग शनिबार बालुवाटारमा छलफल गरेकी हुन् । त्यस क्रममा उनले भनिन्, ‘यो निर्वाचनमा सबै सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार रहेको देखेकी छु । अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं । यो हामी सबैको जिम्मेवारी हो ।’

कार्कीले प्रधानमन्त्री पद राजनीतिक भएको उल्लेख गर्दै त्यसमा राजनीतिक दलका नेताकै हक रहनेसमेत बताइन् । ‘यो घर (प्रधानमन्त्री निवास) तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ पूर्वप्रधानमन्त्रीत्रयसँग उनले भनिन्, ‘प्रशासनिक कामकारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिन रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेकी छु ।’

बैठकमा ओलीले एमाले चुनावमा जानका लागि जहिल्यै तयार रहेको बताएका थिए । उनले सरकारका तर्फबाट वातावरण बन्नुपर्ने धारणा राखेका थिए । २३ भदौपछि सरकार गठन, प्रतिनिधिसभा विघटन, प्रतिनिधिसभा चुनाव घोषणा, जेन–जी र सरकारबीच सम्झौतालगायतमाथि ओलीले प्रश्न उठाएका थिए । 

यी विषय उठाएपछि उनले भनेका थिए, ‘चुनावमा जान तयार छौं, एमाले चुनावबाट डराउने पार्टी होइन ।’ यसअघि मंगलबार राष्ट्रपति कार्यालयमा भएको भेटमा बोलेकै कुरा ओलीले दोहोर्‍याएपछि कांग्रेस सभापति देउवा र नेकपा संयोजक दाहालले रोकेका थिए । राष्ट्रपति कार्यालयमा भनिसकेको कुरा नदोहोर्‍याई छोटो बोल्न उनीहरूले ओलीलाई सुझाएका थिए । 

सरकार चुनाव गराउनेभन्दा पनि बंगलादेशको बाटोमा गएको आरोप ओलीले लगाए । ‘चुनाव गराउने भन्ने अनि विदेशबाट मत हाल्ने कुरा गर्ने ? बंगलादेशमा यस्तै नयाँ–नयाँ कुरा गरेर चुनाव सारिएको छ,’ ओलीको भनाइ थियो । त्यसमा पनि रोक्दै कांग्रेस सभापति देउवाले भने, ‘बंगलादेशको कुरा गरेर हुन्छ ? त्यहाँ त के लोकतन्त्र बाँकी रह्यो र ? यहाँको कुरा गर्नुपर्छ नि ।’

ओलीले २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगको काममाथि पनि प्रश्न उठाए । उनले भने, ‘आयोगले जुन काम गरिरहेको छ, त्यसका लागि म असम्बन्धित मान्छेलाई किन तान्नुपर्‍यो ? पूर्वगृहमन्त्रीले बयान दिन जान्छु भन्नुभएकै छ । न प्रधानमन्त्रीले गोली चलाउन आदेश दिन्छ न केही । अहिले तपाईं प्रधानमन्त्री हुनुहुन्छ, भोलि तपाईंका मन्त्रीहरूले के–के गर्लान्, त्यसमा तपाईंलाई छानबिनमा तान्दा के हुन्छ ?’ 

तर, एमाले अध्यक्ष ओलीले पनि चुनावमा जाने प्रतिबद्धता जनाएको सञ्चारमन्त्री खरेलले बताए । ‘उहाँले चुनावका लागि एमाले तयार छ, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भन्नुभयो,’ उनले भने । 

बैठकमा कांग्रेस सभापति देउवाले जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने बताए । चुनाव हुने अवस्थामा कांग्रेसको प्राथमिकतामा संसद् पुनःस्थापना नरहने उनको भनाइ थियो । ‘सकिन्छ भने समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने म्याद ५ दिन थप्दा हुन्छ,’ देउवाले बैठकमा भने, ‘हुम्ला, डोल्पाका केही ठाउँमा मौसमले समस्या पर्न सक्छ । जहाँ अप्ठ्यारो हुन्छ, त्यहाँ मात्रै सारे हुन्छ तर चुनाव २१ फागुनमै गर्नुपर्छ ।’ जवाफमा प्रधानमन्त्री कार्कीले चुनावको कार्यतालिका सार्न नमिल्ने बताइन् ।

नेकपा संयोजक दाहालले २१ फागुनको चुनाव सार्ने कल्पना पनि नगर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए । ‘उहाँले २१ फागुनको चुनावको यताउता नगरौं, जसरी हुन्छ चुनाव गराऔं भन्नुभयो । विशेष परिस्थितिमा काम गरिरहनुपरेको भन्दै उहाँले सरकारको प्रशंसा गर्नुभयो,’ मन्त्री खरेलले भने, ‘उहाँले आफ्नो चुनावका लागि तयार रहेको बताउँदै एमाले र कांग्रेसलाई पनि तयार हुन भन्नुभयो ।’

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्धारित समय आइतबार र सोमबार निर्वाचन आयोगमा बुझाउने जानकारी पनि दिएका छन् । 

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागिरहेको जानकारी दिएकी थिइन् । ‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराएका छौं । भनेजति नै स्रोत–साधन व्यवस्था गरेका छौं । सुरक्षाकर्मीको मनोबल बढेको त महसुस गर्नुभएकै होला,’ उनले भनेकी थिइन् । फागुनमा हिमाली क्षेत्रमा हिउँ परेर मतदानमा असर पर्न सक्छ कि भन्ने नेताहरूको जिज्ञासामा प्रधानमन्त्री कार्कीले सरकारलाई २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ रहेको स्मरण गराइन् ।

जेन–जी आन्दोलनपछि बनेको सरकार र मुख्य दलका शीर्ष नेताहरूबीच संवादहीनता रहँदै आएकामा राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा शीतल निवासमा प्रधानमन्त्री कार्की र नेताहरू देउवा, ओली र दाहालबीच मंगलबार भेटवार्ता भएको थियो । त्यसपछि तीन वटै दलका शीर्ष नेतालाई प्रधानमन्त्रीले शनिबार बालुवाटारमा बोलाएकी थिइन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully