त्रिवि दीक्षान्तको कमेडी भिडियो भाइरल, युवा विदेश पलायनमाथि व्यङ्ग्य

त्रिविकाे दीक्षान्त समारोहको मञ्चबाट हतारिँदै बाहिर दाैडिरहेका एक युवकले 'मेरो त अहिले नै मलेसियाको फ्लाइट छ, मलाई त हतार छ साथी, म हिँडेको ल' भनेकाे ११ सेकेन्डकाे भिडियाे सामान्य कमेडी जस्तो देखिए यसले उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारी र सुरक्षित भविष्यको खोजीमा बिदेसिनुपर्ने नेपाली युवाको कठोर यथार्थ व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

पुस १३, २०८२

एलिना राई

Comedy video of Tribhuvan University convocation goes viral, satirizing youth migration abroad

What you should know

धरान — कालो टोपी र गाउन लगाएका एक युवक बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहको मञ्चबाट हतारिँदै बाहिर दाैडिरहेका छन्।

दौडिरहेका ती युवकलाई साथीले सोध्छन्, 'कता कुदेको साथी मास्टर गाउन लगाएर?' जवाफ आउँछ, 'मेरो त अहिले नै मलेसियाको फ्लाइट छ, मलाई त हतार छ साथी, म हिँडेको ल।'

११ सेकेन्डकाे यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सामान्य कमेडी जस्तो देखिए पनि, यो भिडियोले नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारी र सुरक्षित भविष्यको खोजीमा बिदेसिनुपर्ने नेपाली युवाको कठोर यथार्थ व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

भिडियोमा देखिएका व्यक्ति हुन् धरान उपमहानगरपालिका–११ मंगलबारे निवासी इन्द्रबहादुर राई। २७ वर्षीय राई पेसाले नाटककार तथा कन्टेन्ट क्रिएटर हुन्। पाँच वर्षदेखि उनले सामाजिक सञ्जालमा बेरोजगारी, राजनीति, शासन प्रणाली र युवाको मनोविज्ञानसम्बन्धी विषयमा व्यङ्ग्यात्मक तथा कमेडी शैलीमा कन्टेन्ट तयार गर्दै आएका छन्।

दीक्षान्त समारोहको पृष्ठभूमिमा बनाइएको उक्त भिडियोले छोटो समयमै ५.७ मिलियनभन्दा बढी भ्युज बटुलेको छ। यो भिडियो केवल मनोरञ्जनका लागि सीमित नभई शिक्षा प्रणाली, श्रम बजार र राज्य नीतिप्रति गरिएको सशक्त व्यङ्ग्यको रूपमा पनि हेरिएको छ।

धरानमा बसोबास गर्दै आएका राई ‘धराने कालो बंगुर भाईब्स’ नामक फेसबुक आइडीमार्फत सक्रिय छन्। उक्त आइडीमा उनका ३१ हजारभन्दा बढी फलोअर्स छन्। फेसबुक, टिकटक तथा अन्य सामाजिक सञ्जालमा उनी नियमित रूपमा कन्टेन्ट पोस्ट गर्दै आएका छन्। उनका अधिकांश भिडियो समाजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने खालका छन्, जहाँ दर्शक हाँस्छन् तर अन्त्यमा सोच्न बाध्य हुन्छन्।

महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातक अध्ययन गरेका राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। उनको रुचि सानैदेखि अभिनय र नाटकमा थियो। यहीँ रुचि र नाटककार बन्ने सपनाले उनलाई काठमाडौँको मण्डला थिएटरसम्म पुर्‍याएको छ। हाल उनी काठमाडौँमा बस्दै चार महिनादेखि मण्डला थिएटरमा काम गरिरहेका छन्।

त्रिविको दीक्षान्त समारोहमा बनाइएको भिडियोप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फरक–फरक प्रतिक्रिया आएका छन् । कतिपयले यसलाई 'आजको नेपाली युवाको वास्तविक कथा' भनेका छन् भने कतिपयले सरकार र नीति निर्मातालाई लक्षित गरिएको सशक्त व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्।

राईका अनुसार आफूले भिडियोहरू कसैलाई होच्याउन वा अपमान गर्नका लागि नभई समाजको वास्तविकता देखाउन तयार पारिएका हुन्। शनिबार दीक्षान्त समारोहमा केही कन्टेन्ट बनाउने सोचले यो भिडियो तयार गरिएको उनले बताए। हातमा डिग्रीको सर्टिफिकेट भए पनि रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यतालाई ११ सेकेन्डमा प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए । उनले भने, 'हास्यको माध्यमबाट पनि समाजका यथार्थ देखाउन सकिन्छ। मानिसहरू हाँस्दै हेर्छन्, तर अन्त्यमा सोच्न बाध्य हुन्छन्।'

हाल नेपालमा उच्च शिक्षा हासिल गरेका युवाहरूको विदेश पलायन दर निरन्तर बढ्दो छ। खाडीमुलुक, मलेसिया, कोरिया, जापान तथा युरोपेली देश नेपाली युवाका प्रमुख गन्तव्य बन्दै गएका छन्। राईले यहीँ यथार्थलाई कुनै भाषण वा तथ्याङ्कबिना एक झट्कामै प्रस्तुत गर्दै नीति निर्मातालाई आत्ममन्थन गर्न बाध्य बनाएको बताए ।  

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully