मंगलबार साँझदेखि काठमाडौंको माइतीघर मण्डलमा उनी आमरण अनशनमा बसेका हुन् ।
What you should know
काठमाडौँ — पाँच दिनदेखि जेन–जी आन्दोलनका माग पूरा नभएको भन्दै डा. निकोलस भुसाल आमरण अनसनमा बसेका छन् । मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलमा उनी आमरण अनशनमा बसेका हुन् । अनशनस्थलमा भुसालसँगै हरिश विष्ट पनि सहभागी छन् ।
चिसो भुइँमा आमरण अनशन बसेका भुसाल र विष्टलाई स्वास्थ्य समस्यासमेत देखिन सुरु भएको छ । उनीहरूलाई शरीर सुनिने, रिँगाटा लाग्नेजस्ता समस्या देखिएको उनीहरुका सहयोगीहरुले बताएका छन् ।
भुसालले जेन–जी आन्दोलन अधुरोमै टुंगिएकाले त्यो क्रान्तिलाई पूरा गर्न र जनतालाई बुझाउन अनसनमा बसेको बताए ।
‘क्रान्ति पूरा भएको छैन, जेन–जी विद्रोह आधा मात्रै भयो,’ भुसालले भने, ‘यो सरकारले आफू बन्ने र आफ्ना मान्छे बनाउने बाहेक केही काम गरेन । म जनतालाई बुझाउन अनशनमा छु ।’
उनले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ । भुसालले यी माग पूरा भएपछि मात्रै निर्वाचन हुनुपर्ने कुरा पनि मागमा राखेका छन् । ‘अहिले देशलाई चुनाव आवश्यक छैन,’ उनले भने, ‘माग सम्बोधन नगरी चुनाव भए यो देश फेरि अर्को आन्दोलनतर्फ जान सक्छ ।’
उनले सरकारसँग भन्दा पनि जनतासँग समर्थनको अपेक्षा गरेको बताए । ‘ सरकार मेरो माग सम्बोधन गर्न आउँछ भनेर अनसनमा बसेको छैन,’ उनले भने, ‘जनताले, घाइतेले र जेन–जी आन्दोलनका सहभागीले साथ दिनुपर्छ । भगवान्ले साथ दिएको समयसम्म म अनसनमै बस्छु ।’
भुसालले अनशनपछि आफूले जनताको समर्थन पाएको दबी गरे । उनले जेन–जी आन्दोलन, घाइते र सहिदका लागि यो सरकार ‘नैतिक रूपमा मरिसकेको’ समेत टिप्पणी गरे ।
