कतारमा तीन नेपाली भोगिरहेछन् आजीवन कैद सजाय

नेपालीको हत्या मुद्दामा कार्की र श्रेष्ठ १५ वर्षदेखि, उरुवा ७ वर्षदेखि जेलमा ।

पुस १२, २०८२

होम कार्की

Three Nepalis are serving life sentences in Qatar

What you should know

काठमाडौँ — कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो।

एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ नोभेम्बर २०१० देखि जेलमा छन्। उनीहरू कतारको जेलमा रहेका करिब ७० जना नेपाली कैदीहरूमध्ये सबैभन्दा लामो समयदेखि कैदमा रहेका हुन्।

कार्की र श्रेष्ठ दुवैले नेपाली नागरिकको हत्या गरेको मुद्दामा सजाय पाएका हुन्। अदालतले उनीहरू दुवैलाई पीडित पक्षलाई प्रति व्यक्ति दुई लाख ६० हजार रियाल (करिब एक करोड रुपैयाँ) ब्लडमनी तिर्नुपर्ने फैसला पनि सुनाएको छ। तर हालसम्म उनीहरूले पीडित पक्षलाई उक्त रकम दिन सकेका छैनन्।

त्यस्तै, उरुवा भने ३० अक्टोबर २०१८ देखि जेलमा छन्। उनको हकमा पीडित पक्षलाई तिर्नुपर्ने ब्लडमनीको रकम भने अझै तय गरिएको छैन। उनले कुन देशका नागरिकको हत्या गरेका हुन् भन्ने विषय खुलाइएको छैन।

दोहास्थित नेपाली दूतावासले आजीवन कैद सजाय पाएका नेपाली नागरिकबारे आफूहरू जानकार रहेको जनाएको छ। 'हामी जेलमा रहेका सबै कैदीसँग नियमित सम्पर्कमा छौँ,' दूतावासका एक अधिकारीले इकान्तिपुरसँग भने, 'समय–समयमा दूतावासका प्रतिनिधि जेल भ्रमणमा जान्छन् र कैदीसँग भेटघाट हुन्छ।'

कतारको मुख्य दण्ड संहिता (कानुन नम्बर १०, २००४) अनुसार आजीवन कैद सजायले दोषीलाई बाँकी जीवनभर जेलमा राख्ने व्यवस्था गरेको छ। यसलाई मृत्युदण्डको विकल्पका रूपमा व्याख्या गरिएको छ। उक्त कानुनमा आजीवन कैदलाई निश्चित वर्षपछि छुट्ने सजायमा रूपान्तरण गर्ने स्पष्ट प्रावधान उल्लेख छैन।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully