मजदुरी गर्दै पढेका सत्यनारायणले निकाले एमबीबीएसमा नाम

विपन्न तथा दलित समुदायका सत्यनारायण साफीले एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाले पनि पढाइका लागि लाग्ने अन्य खर्च जोहो गर्नुपर्ने चिन्तामा छन् ।

पुस १२, २०८२

विनय आजाद

Satyanarayan, who studied while working, got his name into MBBS.

What you should know

सिरहा — सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा पर्छ, श्रीपुर गाउँ । यही गाउँको एउटा फुसको झुप्रोमा दलित समुदायका सत्यनारायण साफीलाई बधाई दिने मान्छेको भीड लागिरहेको छ । यसको कारण हो, अभाव, समस्या र गरिबीबीच पनि सत्यनारायणले पाएको सफलता । चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका साफी निरन्तर मिहिनेत, संघर्ष र सफलताको उदाहरण बनेर उदाएका छन् ।

दलित समुदायका सत्यनारायणको परिवारसित सम्पत्तिका नाममा घर भएको साढे चार धुर घडेरी मात्र छ । उनका बुबा मधुरी साफी तीन वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । त्यसपछि घर फर्केर यतै मजदुरी गर्न थाले । मधुरीका श्रीमती, तीन छोरी र दुई छोरा छन् । जेठा छोरा सत्यनारायणले २०७७ मा गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई गरेका थिए ।

एसईईमा राम्रो अंक आएपछि हौसिएका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे । त्यसपछि उनको मनमा एमबीबीएस पढ्ने भोक जाग्यो । आर्थिक हैसियत त थिएन तर सत्यनारायणमा आत्मविश्वास थियो । उनी २०८० मा तयारीका लागि काठमाडौं गए । तर, आर्थिक समस्याले दुई महिनामै गाउँ फर्किनुपर्‍यो ।

त्यसपछि आमाबुबासँगै गाउँमै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले । उनले २ वर्ष मजदुरी गर्दै आएका थिए । ‘बिहान ८ बजे काममा जान्थेँ, कहिले टिफिन लिएर जान्थेँ, कहिले घरमै आएर खान्थेँ । कामबाट ५ बजे फर्किन्थेँ । घरको काम सकेर साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म ६–७ घन्टा पढ्थेँ,’ सत्यनारायणले भने, ‘काम गरे पनि खासमा पढाइ मेरो प्राथमिकतामा हुन्थ्यो, किनकि पढ्नैकै लागि काम गरिरहेको थिएँ ।’

Satyanarayan, who studied while working, got his name into MBBS.

मजदुरीबाट आएको पैसाले किताब किनेर स्वाध्ययन थाले । र, चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्न सफल भए । यो उनले दोस्रो पल्ट दिएको परीक्षा हो । ‘२०८१ मा दिएको पहिलो परीक्षाको मेरो नतिजा नै आएन, केही प्राविधिक त्रुटि भएर । हामीजस्ताका लागि यो अनौठो कुरा त हो तर गरिबी भए पनि लगनशीलता, धैर्य र समर्पणले जुनसुकै कुरा हासिल गर्न सकिन्छ भन्ने लाग्छ,’ सत्यनारायणले भने, ‘मैले प्रयास गरें, सपना यथार्थमा परिणत भयो, यसको सबै श्रेय आमाबुबालाई जान्छ ।’

Satyanarayan, who studied while working, got his name into MBBS.

आमा सुनिताले छिमेकीसँग ८० हजार सापटी लिएर दिएपछि सत्यनारायण यही ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका छन् । कलेजको शुल्कमा साढे ६४ हजार खर्च भएको छ । छात्रवृत्तिमा एमबीबीएस पढ्न पाएपछि सत्यनारायण र उनको परिवारमा खुसियाली छाएको त छ तर चिन्ता पनि छ । छात्रवृत्ति पाए पनि पढाइ शुल्कबाहेक बसोबास, खानपान, यातायात, पढाइ सामग्रीमा ठूलो खर्च लाग्छ । पढाइ पूरा गर्न सबै गरेर कम्तीमा १५ लाख रुपैयाँ खर्च हुन्छ ।

Satyanarayan, who studied while working, got his name into MBBS.

दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई यो खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ । ‘हामी दिनभर कमाएर बेलुकाका लागि अन्न जोहो गर्ने परिवार हौं, हाम्रा लागि यो सपनाजस्तै हो, तैपनि छोराले नाम निकालेपछि पछि हट्दैनौं,’ सुनिताले भनिन् । बधाई दिन आउनेमध्ये केहीले आर्थिक सहयोग गरेका छन् भने केहीले सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, सरकारले आर्थिक सहयोग गरिदिए पढ्न सहज हुने सत्यनारायणलाई लागेको छ । ‘सहयोग गर्ने व्यक्तिप्रति आभारी छौं,’ उनले भने, ‘तर, यस्तो सहयोगकै भरमा गाह्रो होला, सरकारले पनि हेरिदिए हुन्थ्यो ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully