युवा विदेश, सीप हराउँदै : कोठेगाउँमा कसले बनाउने बाँसका सामग्री ?

एक समय २८ परिवारले बाँसका कोठो, डोका लगायत सामग्री बुन्थे, अहिले पाँच परिवारमा मात्र यो परम्परागत पेसा टिकेको छ ।

पुस ११, २०८२

रासस

Youth going abroad, losing skills: Who will make bamboo products in Kothegaun?

What you should know

लेखनाथ (कास्की) — पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ ।

पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पुर्‍याउँथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।

'बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्,' स्थानीय ६३ वर्षीय गोपाल सुनारले भने । 

उनका अनुसार कोठेगाउँका बेरोजगार युवा पनि यो पेसामा आउन मान्दैनन् । 'बरु विदेशको खाडीमा पुगेर काम गर्न तयार छन् तर यो पेसा गर्दैनन् । अहिलेका केटाकेटीलाई बाँसको काम गर्न लाज लाग्छ अरे,' उनले भने ।

चोयाबाट कोठो, कोक्रो, भकारी, डोका, नाङ्लो बुनेर मासिक ३० हजार आम्दानी हुने सुनार बताउँछन् ।'पहिलेको जस्तो चोयाका सामग्री बिक्रीका लागि बजार खोज्दै जानु पनि पर्दैन, अहिले घरमै आएर व्यापारीले लैजान्छन् । सीप जानेपछि त्यसले जीवनभर आम्दानीको स्रोत सुनिश्चित गरिरहन्छ,' उनले भने ।

२०२७ सालमा गुल्मीबाट आएर पोखरा–३२ को मालेपाटनमा बसेका २८ सुनार परिवारको मुख्य पेसा चोयाका सामग्री बुन्ने र गाउँगाउँमा लगेर बिक्री गर्ने थियो । विशेषगरी कोदो राख्नका लागि प्रयोग हुने कोठो बढी बुन्ने गरिने भएकाले गाउँको नामाकरण नै कोठेगाउँ रहेको उनको भनाइ छ ।

आगामी १० वर्षपछि कोठेगाउँमा यो पेसा लोप हुने अवस्थामा पुगेको भन्दै उनले दुखेसो पोखे । 'युवा बुन्दैनन्, बुढाहरू मरेर जान्छन्, अनि गाउँको पहिचान नै मेटिन्छ । एक–दुई जना युवाले यो पेसालाई निरन्तरता हो भने पनि गाउँको पहिचान रहने थियो कि ?' उनी भन्छन् । 

घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशुआहाराका रूपमा पनि बाँसका सामग्री प्रयोग गरिँदै आइएको छ । साथै भू–क्षय तथा बाढी,पहिरो नियन्त्रणमा पनि यसले सहयोग पुर्‍याउने कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताए । उनका अनुसार बाँस ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्वपूर्ण स्रोत बनिरहेको छ । 

नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइने कृषिविज्ञ बस्नेतले बताए । उनका अनुसार यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । 'नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेत पाइन्छ । बेत पनि बाँस प्रजातिमा पर्छ,' उनले भने । 

नेपालका तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबैभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि चार हजार मिटर उचाइसम्म बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिनुभयो ।  

नेपालमा बाँसको टुसा खानेदेखि बाँसका ह्यान्डीग्राफका रूपमा समेत प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ ।

'यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर, बेत सामग्री भारत र बंगलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ,' विज्ञ बस्नेतले भने ।

रासस

Link copied successfully